
काठमाडौं, असार २६ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत मुगुका गणेश नेपालीको बिहान ११:२० बजे निधन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
गत बुधबार राहदानी विभागअगाडि पार्किङ गरिएको मोटरसाइकलमा ट्राफिक तथा महानगर प्रहरीले कारबाही गरेपछि उत्पन्न विवादका क्रममा नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उनको अनुहार, टाउको, घाँटी, छातीसहित शरीरको अधिकांश भाग जलेको थियो भने भित्री अंगमा समेत गम्भीर असर पुगेको थियो। थप उपचारका लागि भारत लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था अत्यन्त अस्थिर रहेकाले सम्भव हुन सकेन।
घटनापछि राइडर्स युनियन नेपाल (RUN) ले यसलाई एउटा व्यक्तिको दुःखद मृत्यु मात्र नभई प्लेटफर्म श्रमिकमाथि बढ्दै गएको आर्थिक, मानसिक र नीतिगत दबाबको परिणाम भएको जनाएको छ। युनियनले ट्राफिक व्यवस्थापनको नाममा अत्यधिक जरिवाना, सार्वजनिक पूर्वाधारको अभाव तथा श्रमिकमैत्री नीतिको कमीले हजारौं राइडर तनावपूर्ण अवस्थामा काम गर्न बाध्य भएको दाबी गरेको छ।
युनियनका अनुसार दैनिक कमाइमै निर्भर रहने राइडरहरूका लागि ठूलो रकमको जरिवाना आर्थिक रूपमा असह्य हुने गरेको छ। यस्तो अवस्थाले धेरै श्रमिक ऋण, तनाव, चिन्ता र अवसादको चपेटामा पर्दै गएको युनियनको भनाइ छ। गणेश नेपालीको घटना यसै समस्याको चरम अभिव्यक्ति भएको युनियनले उल्लेख गरेको छ।
राइडर्स युनियनले सरकारले अहिले तीन जना ट्राफिक प्रहरीमाथि मात्रै सोधपुछ वा अनुसन्धान अघि बढाएर घटनाको मूल कारणबाट ध्यान मोड्ने प्रयास भइरहेको आरोप पनि लगाएको छ। युनियनको भनाइमा, प्रश्न व्यक्तिगत प्रहरीको मात्र होइन, अत्यधिक जरिवानालाई प्राथमिकता दिने राज्यको नीति र कार्यप्रणालीको पनि हो। त्यसैले घटनाको निष्पक्ष छानबिनसँगै जरिवाना नीति कसरी निर्माण भयो, त्यसको प्रभाव के रह्यो र त्यसले श्रमिकको मानसिक स्वास्थ्यमा कस्तो असर पारेको छ भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने माग गरिएको छ।
युनियनले प्लेटफर्ममा आधारित श्रमिकका लागि निःशुल्क पार्किङ, पिउने पानी, शौचालय, विश्रामस्थल, सामाजिक सुरक्षा तथा सम्मानजनक कार्य वातावरणको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेको छ। साथै मृतक गणेश नेपालीका परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा न्याय सुनिश्चित गर्न माग गरेको छ।
श्रम अधिकारकर्मीहरूका अनुसार नेपालमा प्लेटफर्म अर्थतन्त्र तीव्र रूपमा विस्तार भइरहेका बेला त्यसअनुसारको श्रमिक संरक्षण नीति विकास हुन सकेको छैन। उनीहरूका अनुसार जरिवानामुखी कार्यान्वयनभन्दा श्रमिकमैत्री व्यवस्थापन, पूर्वाधार विकास र मानसिक स्वास्थ्यलाई समेत समेट्ने नीतिगत सुधार अहिलेको आवश्यकता हो।
यस घटनाले ट्राफिक व्यवस्थापन, प्लेटफर्म श्रमिकको श्रम अधिकार, राज्यको दायित्व र सार्वजनिक नीतिबारे नयाँ बहस सुरु गराएको छ। सरोकारवालाहरूले गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिनसँगै यस्ता घटना दोहोरिन नदिन जरिवाना नीति, श्रमिक सुरक्षा र सामाजिक संरक्षणसम्बन्धी व्यवस्थाको व्यापक पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
काठमाडौँ, असार १९ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि
सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,