
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् मुगुका नेपालीको शुक्रबार बिहान ११:२० बजे निधन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
गत बुधबार राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा ट्राफिक तथा महानगर प्रहरीले कारबाही गरेपछि उत्पन्न विवादका क्रममा नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।
वीर अस्पतालका चिकित्सकका अनुसार नेपालीको अनुहार, टाउको, घाँटी र छातीसहित शरीरको अधिकांश भाग गम्भीर रूपमा जलेको थियो। शरीरका भित्री अंगहरूमा समेत असर पुगेकाले उनको अवस्था अत्यन्त जटिल बनेको थियो। पहिलो शल्यक्रिया गरिए पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। थप उपचारका लागि भारत लैजाने तयारी भए पनि अवस्था अस्थिर भएकाले चिकित्सकले स्थानान्तरण नगर्न सुझाव दिएका थिए।
घटनापछि राइडर्स युनियन नेपाल (RUN) ले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युनियनले प्लेटफर्ममा आधारित राइड सेयरिङ सेवा सञ्चालन भएदेखि नै राइडरहरूले निःशुल्क पार्किङ, पिउने पानी, शौचालय तथा विश्रामस्थलजस्ता आधारभूत सुविधा माग गर्दै आएको उल्लेख गरेको छ।
युनियनका अनुसार ट्राफिक व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुको सट्टा जरिवाना र दण्डात्मक कारबाहीलाई प्राथमिकता दिइँदा न्यून आम्दानी भएका राइडरहरू आर्थिक र मानसिक दबाबमा काम गर्न बाध्य भएका छन्। यस्तो परिस्थितिले श्रमिकको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर परेको दाबी युनियनको छ।
राइडर्स युनियनले मृतक गणेश नेपालीको उपचार तथा क्षतिपूर्तिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने, घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। साथै, प्लेटफर्म श्रमिकका लागि सुरक्षित, सम्मानजनक र श्रम मापदण्डअनुकूल कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
यस घटनाले नेपालमा तीव्र रूपमा विस्तार भइरहेको प्लेटफर्म अर्थतन्त्रमा आबद्ध राइडरहरूको श्रम अधिकार, सामाजिक सुरक्षा, ट्राफिक व्यवस्थापनको शैली तथा सार्वजनिक निकायको व्यवहारबारे पुनः गम्भीर बहस सुरु गराएको छ। श्रम अधिकारकर्मीहरूले यसलाई एउटा व्यक्तिगत दुर्घटनाका रूपमा मात्र नभई प्लेटफर्म श्रमिकले भोगिरहेका संरचनागत समस्या र राज्यको नीतिगत कमजोरीको संकेतका रूपमा हेर्नुपर्ने बताएका छन्।
घटनापछि विभिन्न श्रमिक संगठन, नागरिक समाज तथा राइड सेयरिङ चालकहरूले मृतक गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निष्पक्ष अनुसन्धान, न्याय तथा प्लेटफर्म श्रमिकको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
काठमाडौँ, असार १९ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि
सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,