१५ फागुन, काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सार्वजनिक स्थलमा मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्न तथा मेला–महोत्सव आयोजना गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन को सुरक्षा अवस्था र निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै प्रशासनले उक्त निर्णय गरेको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल द्वारा जारी सूचनामा होली मनाउने बहानामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक प्रचारप्रसारका गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विशेष निगरानी बढाइएको उल्लेख छ।प्रशासनले निर्वाचन आचारसंहिताको हवाला दिँदै होलीका अवसरमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा, टोपी, मास्क वा लकेट लगाउन तथा प्रयोग गर्न पूर्ण रोक लगाएको स्पष्ट गरेको छ।
त्यस्तै, सार्वजनिक स्थानमा भेला भई भीड जम्मा गर्ने, मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा निर्वाचन प्रचारप्रसारको झल्को दिने गतिविधि गर्न नपाइने जनाइएको छ। यस्ता क्रियाकलापले शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने र निर्वाचनको निष्पक्षतामा असर पार्न सक्ने प्रशासनको ठहर छ। यसैगरी, होली मनाउने नाममा कसैको इच्छाविपरीत रङ दल्ने, पानी छ्याप्ने, लोला प्रहार गर्ने वा मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादा भंग गर्ने कार्य नगर्न पनि सचेत गराइएको छ।प्रशासनले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहुने गरी आ–आफ्नो घर वा कम्पाउन्डभित्र परिवार तथा आफन्तजनसँग सभ्य र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ।


