काठमाडौँ, माघ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य दायित्व सरकारकै भएको बताउनुभएको छ।
आयोगको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गर्नुभयो। सुशासन कायम गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड थियो।
प्रमुख आयुक्त राईले अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको स्पष्ट पार्दै सुशासन कायम गर्न सरकार, नागरिक समाज र सञ्चारजगतको साझा भूमिका अपरिहार्य रहेको बताउनुभयो।
उहाँले आयोग ऐन, नियम र कानुनअनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो। भ्रष्टाचार नियन्त्रणका लागि जनशक्ति वृद्धि, कार्यशैलीमा सुधार तथा प्रविधिको प्रयोग बढाइएको जानकारी दिँदै प्रविधिको विकाससँगै भ्रष्टाचारका प्रवृत्ति पनि जटिल बन्दै गएको उहाँको भनाइ थियो।
भ्रष्टाचार नियन्त्रणका लागि अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख गर्दै प्रमुख आयुक्त राईले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको दाबी गर्नुभयो। पाँच वर्षे कार्यकालमा आयोगको क्षमता र स्तर अभिवृद्धि गरिएको भन्दै हालको कार्यशैलीले समाजमा सुशासनप्रति आशा जगाएको उहाँले बताउनुभयो।
कार्यक्रमका अवसरमा आयोगले नेपाल प्रहरी, आयोगका कर्मचारी तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ। न्युज एजेन्सी नेपाललाई पनि सम्मान प्रदान गरिएको आयोगले जनाएको छ। उत्कृष्ट अख्तियार सेवा पुरस्कार र उत्कृष्ट अनुसन्धान अख्तियार पुरस्कार भने माघ २८ गते स्थापना दिवसको मूल समारोहमा वितरण गरिने प्रमुख आयुक्त राईले जानकारी दिनुभयो।


