रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य मनोनयन गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। विशेषगरी वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को कोटाबाट मनोनित २६ जना केन्द्रीय सदस्यको सूचीलाई लिएर पार्टीका नेताहरूले आन्तरिक रूपमा आलोचना गरेका छन्।

हिजो बसेको केन्द्रीय समितिको बैठकले सुरुमा विवेकशील साझा पृष्ठभूमिबाट आएका सात जनालाई र त्यसपछि बालेनको कोटाबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको हो। विवेकशील साझा पक्षबाट आएका नामहरू तुलनात्मक रूपमा स्वीकार्य रहेको टिप्पणी पार्टीभित्र सुनिएको छ। समीक्षा बास्कोटा र रञ्जु दर्शना जस्ता नेतृहरूले राजनीतिक हैसियत बनाइसकेको भन्दै उनीहरूको मनोनयनलाई स्वाभाविक मानिएको छ।

तर बालेनको तर्फबाट मनोनित नामहरूलाई लिएर भने असन्तोष देखिएको छ। पार्टीका केही नेताहरूका अनुसार सूचीमा परेकामध्ये धेरैजसोको स्पष्ट राजनीतिक पृष्ठभूमि, संगठनात्मक अनुभव वा राष्ट्रिय स्तरको परिचय नरहेको गुनासो छ। कतिपय नेताहरूले अधिकांश नाम पार्टीभित्र नै अपरिचित रहेको र व्यक्तिगत निकटताका आधारमा छनोट गरिएको आशंका व्यक्त गरेका छन्।

केन्द्रीय समितिमा रहेकी एक नेतृले नाम नखुलाउने सर्तमा भनिन्, “केन्द्रीय समितिमा ल्याइएकामध्ये धेरैको राजनीतिक क्षमता र आधार कमजोर देखिन्छ। कम्तीमा वडा तहमा चुनाव जित्ने अनुभवसमेत नभएकाहरू पनि परेका छन्।”

पार्टीका अर्का एक नेताले भने, “रास्वपामा नयाँ र सक्षम अनुहार ल्याइने अपेक्षा थियो। तर सूची हेर्दा बालेनसँग व्यापक राजनीतिक सर्कल नरहेको सन्देश गएको छ,” भन्दै पार्टी नेतृत्वले मनोनयनअघि योग्यता र पृष्ठभूमि गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने धारणा राखे।

मनोनित २६ जनामध्ये केही बालेनको सचिवालयमा कार्यरत व्यक्ति पनि छन्। मेयर साहका भौतिक पूर्वाधार सल्लाहकार सुनील लम्साल, प्रमुख स्वकीय सचिव भूपदेव, तथा सचिवालयसँग जोडिएका अन्य व्यक्तिहरू केन्द्रीय सदस्य बनेका छन्। यस्तै, सिरहाकी पूर्वउपमेयर डा. नमिता यादव, इन्जिनियर सागर ढकाल, साहित्यकार गणेश पौडेल, कलाकार लक्ष्मी बर्देवा लगायतका नाम पनि सूचीमा परेका छन्।

सूचीमा केही जेन–जी अभियन्ता, सञ्चारकर्मी, व्यवसायी तथा पूर्वराजनीतिक दलका प्रतिनिधिहरू समावेश छन्। तर केही नामहरू विवादास्पद पृष्ठभूमिसँग जोडिएका भन्दै पार्टीभित्र प्रश्न उठेको छ।

केन्द्रीय समिति विस्तारलाई पार्टी नेतृत्वले संगठन विस्तार र विविध पृष्ठभूमिका व्यक्तिलाई समेट्ने प्रयासका रूपमा व्याख्या गरे पनि, मनोनयन प्रक्रिया र मापदण्डप्रति आन्तरिक बहस चर्किँदै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

निर्वाचन आउन ५८ दिन बाँकी : आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

पुस २२,काठमाडौं । निर्वाचन आउन ५८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि

ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

पुष २१, काठमाडौं । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले

समानुपातिक अधिकार कुण्ठित गरिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

पुस १८, २०८२, काठमाडौं । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी अधिकार कुण्ठित गरिएको आरोप लगाउँदै

अब सफ्टवेयरबाटै कर्मचारी सरुवा

काठमाडौँ, पुस १६ — सरकारले कर्मचारी सरुवामा देखिँदै आएको बेथिति अन्त्य गर्न सफ्टवेयर प्रणालीमार्फत सरुवा

यस्ताे छ रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल