१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र कुलमान घिसिङ एकै मोर्चामा उभिनुलाई सामान्य घटनाका रूपमा लिन मिल्दैन। जेन–जी आन्दोलनपछि परम्परागत दलप्रतिको असन्तोष तीव्र बन्दै गएको बेला रास्वपाभित्र बालेन र कुलमानको समावेशले समर्थकहरूमा उत्साह त जन्माएको छ, तर यसले गम्भीर प्रश्नहरू पनि उठाएको छ—के लोकप्रियता मात्र नेतृत्वका लागि पर्याप्त हुन्छ? र के ‘सेलिब्रेटी क्रेज’ ले राज्य सञ्चालनको जटिलता थेग्न सक्छ?
रवि लामिछाने नेतृत्वको रास्वपामा बालेन र कुलमानको प्रवेशले वैकल्पिक राजनीतिलाई संस्थागत बनाउने प्रयास देखिन्छ। तर यी दुवै पात्र संगठनबाट खारिएर आएका होइनन्। बालेन सामाजिक सञ्जालबाट उदाएका नेता हुन्, जसले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगर जिते। कुलमान लोडसेडिङ अन्त्य गर्ने नायकका रूपमा स्थापित प्रशासक हुन्। दुवैको उदय व्यवस्थाविरोधी जनभावनासँग गाँसिएको छ, तर व्यवस्थापन क्षमताको दीर्घकालीन परीक्षा भने अझै बाँकी छ।
बालेनले आफूलाई ‘भाबी प्रधानमन्त्री’का रूपमा अघि सारेको लिखित सहमति राजनीतिक रूपमा साहसी मात्र होइन, जोखिमपूर्ण पनि छ। महानगरको कार्यसम्पादनमै प्रश्न उठिरहेका बेला राष्ट्रिय नेतृत्वको दाबी गर्नुले मतदातालाई आकर्षित गर्नुभन्दा सशंकित बनाउने खतरा बढी छ। स्थानीय तह र संघीय सरकारबीचको फरक, संसद्, दल, गठबन्धन र संविधानिक सीमाहरूको जटिलता महानगरको एकल कार्यकारी भूमिकाभन्दा कैयौँ गुणा कठिन हुन्छ। यही कारण विश्लेषकहरू बालेनको आकांक्षालाई ‘महत्त्वाकांक्षी छलाङ’ का रूपमा हेर्छन्।
चुनावी यथार्थ झनै कठोर छ। बालेन कुन क्षेत्रबाट चुनाव लड्छन् भन्ने नै निश्चित छैन। केपी शर्मा ओलीजस्ता परम्परागत शक्तिका बलिया नेतासँग टक्कर दिने चर्चा रोमान्चक देखिए पनि मोफसलको राजनीतिक संरचना, संगठन र मताधारबिनाको प्रतिस्पर्धा सजिलो छैन। जितेपछि पनि प्रधानमन्त्री बन्न संविधानिक र राजनीतिक अंकगणित अनुकूल हुनुपर्छ, जुन रास्वपाका लागि अझै चुनौतीपूर्ण देखिन्छ।
कुलमान घिसिङको राजनीतिक यात्रामा पनि द्वन्द्व कम छैन। अँध्यारो हटाएको जसले उनलाई लोकप्रिय बनायो, तर प्रशासकका रूपमा लिएका केही व्यक्तिकेन्द्रित निर्णय र संस्थागत कमजोरीका प्रश्नहरू ओझेलमा परेका छन्। माओवादी पृष्ठभूमिबाट उदाएका कुलमान अहिले वैकल्पिक धारमा उभिँदा उनीमाथि ‘गुन बिर्सिएको’ आरोप लाग्नु अस्वाभाविक होइन। लोकप्रिय प्रशासकबाट राजनीतिक नेतामा रूपान्तरण हुनु आफैंमा कठिन प्रक्रिया हो।
बालेन र कुलमान दुवै ‘नायक’ का रूपमा चिनिन्छन्। तर राजनीति नायकत्व मात्र होइन, निरन्तर सम्झौता, संगठन निर्माण र दीर्घकालीन दृष्टिको माग गर्छ। सामाजिक सञ्जालको समर्थन अस्थायी हुन्छ; चुनावी संगठन, नीतिगत स्पष्टता र संस्थागत अनुशासन बिना त्यो समर्थन टिक्दैन। अझ परम्परागत दल र कर्मचारीतन्त्रको चक्रव्यूह चिर्न ‘सेलिब्रेटी छवि’ पर्याप्त हुँदैन।
यसकारण बालेन–कुलमानको राजनीतिक सहयात्रा सम्भावनाले भरिएको भए पनि जोखिमले पनि उत्तिकै घेरिएको छ। वैकल्पिक शक्तिको सपना तब मात्र सार्थक हुन्छ, जब लोकप्रियता मात्र होइन, ठोस राजनीतिक दर्शन, संगठनात्मक क्षमता र कार्यान्वयनयोग्य योजना प्रस्तुत हुन्छ। नत्र भने आजको उत्साह भोलिको निराशामा रूपान्तरण हुन धेरै समय लाग्दैन।
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
काठमाडौँ, असार १९ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र