रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र कुलमान घिसिङ एकै मोर्चामा उभिनुलाई सामान्य घटनाका रूपमा लिन मिल्दैन। जेन–जी आन्दोलनपछि परम्परागत दलप्रतिको असन्तोष तीव्र बन्दै गएको बेला रास्वपाभित्र बालेन र कुलमानको समावेशले समर्थकहरूमा उत्साह त जन्माएको छ, तर यसले गम्भीर प्रश्नहरू पनि उठाएको छ—के लोकप्रियता मात्र नेतृत्वका लागि पर्याप्त हुन्छ? र के ‘सेलिब्रेटी क्रेज’ ले राज्य सञ्चालनको जटिलता थेग्न सक्छ?

रवि लामिछाने नेतृत्वको रास्वपामा बालेन र कुलमानको प्रवेशले वैकल्पिक राजनीतिलाई संस्थागत बनाउने प्रयास देखिन्छ। तर यी दुवै पात्र संगठनबाट खारिएर आएका होइनन्। बालेन सामाजिक सञ्जालबाट उदाएका नेता हुन्, जसले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगर जिते। कुलमान लोडसेडिङ अन्त्य गर्ने नायकका रूपमा स्थापित प्रशासक हुन्। दुवैको उदय व्यवस्थाविरोधी जनभावनासँग गाँसिएको छ, तर व्यवस्थापन क्षमताको दीर्घकालीन परीक्षा भने अझै बाँकी छ।

बालेनले आफूलाई ‘भाबी प्रधानमन्त्री’का रूपमा अघि सारेको लिखित सहमति राजनीतिक रूपमा साहसी मात्र होइन, जोखिमपूर्ण पनि छ। महानगरको कार्यसम्पादनमै प्रश्न उठिरहेका बेला राष्ट्रिय नेतृत्वको दाबी गर्नुले मतदातालाई आकर्षित गर्नुभन्दा सशंकित बनाउने खतरा बढी छ। स्थानीय तह र संघीय सरकारबीचको फरक, संसद्, दल, गठबन्धन र संविधानिक सीमाहरूको जटिलता महानगरको एकल कार्यकारी भूमिकाभन्दा कैयौँ गुणा कठिन हुन्छ। यही कारण विश्लेषकहरू बालेनको आकांक्षालाई ‘महत्त्वाकांक्षी छलाङ’ का रूपमा हेर्छन्।

चुनावी यथार्थ झनै कठोर छ। बालेन कुन क्षेत्रबाट चुनाव लड्छन् भन्ने नै निश्चित छैन। केपी शर्मा ओलीजस्ता परम्परागत शक्तिका बलिया नेतासँग टक्कर दिने चर्चा रोमान्चक देखिए पनि मोफसलको राजनीतिक संरचना, संगठन र मताधारबिनाको प्रतिस्पर्धा सजिलो छैन। जितेपछि पनि प्रधानमन्त्री बन्न संविधानिक र राजनीतिक अंकगणित अनुकूल हुनुपर्छ, जुन रास्वपाका लागि अझै चुनौतीपूर्ण देखिन्छ।

कुलमान घिसिङको राजनीतिक यात्रामा पनि द्वन्द्व कम छैन। अँध्यारो हटाएको जसले उनलाई लोकप्रिय बनायो, तर प्रशासकका रूपमा लिएका केही व्यक्तिकेन्द्रित निर्णय र संस्थागत कमजोरीका प्रश्नहरू ओझेलमा परेका छन्। माओवादी पृष्ठभूमिबाट उदाएका कुलमान अहिले वैकल्पिक धारमा उभिँदा उनीमाथि ‘गुन बिर्सिएको’ आरोप लाग्नु अस्वाभाविक होइन। लोकप्रिय प्रशासकबाट राजनीतिक नेतामा रूपान्तरण हुनु आफैंमा कठिन प्रक्रिया हो।

बालेन र कुलमान दुवै ‘नायक’ का रूपमा चिनिन्छन्। तर राजनीति नायकत्व मात्र होइन, निरन्तर सम्झौता, संगठन निर्माण र दीर्घकालीन दृष्टिको माग गर्छ। सामाजिक सञ्जालको समर्थन अस्थायी हुन्छ; चुनावी संगठन, नीतिगत स्पष्टता र संस्थागत अनुशासन बिना त्यो समर्थन टिक्दैन। अझ परम्परागत दल र कर्मचारीतन्त्रको चक्रव्यूह चिर्न ‘सेलिब्रेटी छवि’ पर्याप्त हुँदैन।

यसकारण बालेन–कुलमानको राजनीतिक सहयात्रा सम्भावनाले भरिएको भए पनि जोखिमले पनि उत्तिकै घेरिएको छ। वैकल्पिक शक्तिको सपना तब मात्र सार्थक हुन्छ, जब लोकप्रियता मात्र होइन, ठोस राजनीतिक दर्शन, संगठनात्मक क्षमता र कार्यान्वयनयोग्य योजना प्रस्तुत हुन्छ। नत्र भने आजको उत्साह भोलिको निराशामा रूपान्तरण हुन धेरै समय लाग्दैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट