‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवालक्षित विशेष कार्यक्रम ल्याउने बताउनुभएको हो ।

उहाँले युवालाई उत्पादन र उद्यमसँंग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन रोकिने बताउनुभयो । गभर्नर अधिकारीले देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएकोप्रति असहमति जनाउँदै देश सम्भावनाले भरिपूर्ण भए पनि केही साना साना कुराहरूमा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएको बताउनुभयो । राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिमा पनि युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने उहाँले सङ्केत गर्नुभयो । एक फरक प्रसङ्गमा गभर्नर अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको भन्ने विषयमा सत्यता नरहेको बताउनुभएको छ । कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा बाहिर आलोचना भए जस्तो दुरुपयोग नदेखिएको र केही व्यक्तिबाट दुरुपयोग भएकोमा त्यसलाई असुल प्रव्रिmया अगाडि बढाइसकेको बताउनुभएको हो ।

सरकारको योजना अनुसार अर्थ मन्त्रालयले युवालाई व्यावसायिक कृषि कर्जा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधि अनुसार नै अनुदान बाँढिएको गभर्नर अधिकारीले दाबी गर्नुभयो । हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको उहाँको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको बताउनुभयो ।

उहाँले कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि पहुँचका आधारमा दुरुपयोग गरेको धारणा राख्नुभएको थियो । विभिन्न सहुलियत कर्जा लक्षित वर्गमा पुग्न नसकेको उहाँको भनाइ छ । साथै नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरूले लगानी गर्न नचाहेको क्षेत्रीले बताउनुभयो ।

त्यस्तै साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महìवपूर्ण भूमिका खेलेको बताउनुभयो । साना किसान विकास लघुवित्तले साना किसान कृषि सहकारीमार्फत कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आन्तरिक उत्पादन बढाउन ठुलो योगदान गरेको उहाँको भनाइ छ ।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको र देशभरका ५५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको उहाँले जानकारी दिनुभयो । हाल साना किसानले ११ लाखभन्दा बढी घरपरिवारका ४५ लाख जनसङ्ख्याका सेवा पु¥याएको उहाँको भनाइ छ ।

२३ औँ स्थापना दिवसका अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले देशभरबाट दुई वटा संस्थालाई उत्कृष्ट संस्था पुरस्कार प्रदान गरेको छ । यसरी पुरस्कृत हुने संस्थामा सुर्खेतको गुमीमा रहेको परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था र धनुषाको रघुनाथपुरमा रहेको रघुनाथपुर साना किसान कृषि सहकारी संस्था रहेका छन् । यी दुई संस्थाले आफ्नो लगानीमा रहेको सम्पूर्ण कर्जाको असुली दर एक सय प्रतिशत पूरा गरेका छन् । युवा, महिला, दलित, जनजाति, पिछडिएको वर्गलगायतलाई उत्पादन र उद्यमसँग जोडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन