काठमाडौँ, १५ जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार तीनवटा प्रदेशमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।