कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।
चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।
चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ । नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १.३ र सङ्क्रमणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृत्युदर १.४ नै रहे पनि सङ्क्रमणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।
अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४.६ र सक्रिय सङ्क्रमणको दर २७.४, बङ्गलदेशको मृत्युदर १.७ र सक्रिय सङ्क्रमण दर ११.१, भुटान मृत्युदर ०.१ र सक्रिय सङ्क्रमण दर ४.७, माल्दिभ्समा मृत्युदर शून्य र सक्रिय सङ्क्रमणको दर ९०.३, पाकिस्तानमा मृत्युदर २.२ र सक्रिय सङ्क्रमणको दर ७.५ तथा श्रीलङ्कामा मृत्युदर १.५ र सक्रिय सङ्क्रमणको दर ९.६ प्रतिशत रहेको थियो ।
चार दिनपछि अगस्ट ११ को विवरणअनुसार अफगानिस्तानमा मृत्युदर ४.६ नै कायम रहे पनि सक्रिय सङ्क्रमणको दर घटेर २६.६ प्रतिशतमा झरेको छ । त्यस्तै बङ्गलादेशमा पनि मृत्यु दर उही तर सक्रिय सङ्क्रमण दुई प्रतिशतले घटेको छ ।
त्यस्तैगरी भुटानमा मृत्युदर उही र सक्रिय सङ्क्रमणको दर आधा घटेर २.३ प्रतिशतमा झरेको छ । सार्क मुलुकमध्ये सबैभन्दा बढी सङ्क्रमणको दर रहेको माल्दिभ्समा चार दिनको अवधिमा मृत्युदर ०.३ पुगे पनि सङ्क्रमणको दर अत्यधिक कटौती हुँदै ३.४ प्रतिशत कायम हुन पुगेको छ । पाकिस्तानमा भने मृत्युदर उही रहे पनि सङ्क्रमणको दर एक प्रतिशतलेमात्र बढेको छ । श्रीलङ्कामा पनि सोही अनुपातले सङ्क्रमणको दर एक प्रतिशले मात्र बढेको देखिन्छ ।
मानिस अनुशासित नहुँदा बढ्यो
सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा बढी ओहोरदोहोर हुने भारतलगायत अन्य सार्क मुलुकमा डेल्टा भेरियन्टले पनि सङ्क्रमण बढाउन नसक्नुमा त्यहाँको कडा अनुशासन कारक रहेको चिकित्साविज्ञहरू बताउछन् । नेपालमा भने त्यो अनुशासन लौरो लगाएर घरमै थुन्नुपर्ने अवस्थाको रहेको जिकिर उनीहरु गर्छन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार भारतमा जनसङ्ख्या धेरै भए पनि सबै परीक्षणको पहुँचमा पुगेको अवस्थामा छ । तर नेपालमा गाउँगाउँमा एन्टिजेन किट पठाइए पनि परीक्षण नगरी घरमै बस्नेको सङ्ख्या धेरै छ । हालसम्म २१ लाख एन्टिजेन किट पठाएकामा तीन लाख ८० हजार ५५ को मात्र परीक्षण भएको छ ।
उनले भने ‘‘खोपकै अनुपातको विश्लेषण गर्ने हो भने प्रतिजनसङ्ख्याको तुलनामा भारतमा भन्दा नेपालमा खोप बढी लगाइएको छ । ” उनाका अनुसार नेपालमा ९.३४ प्रतिशले पूरै मात्राको खोप लगाइसकेका छन् । भारतमा ८.३७ प्रतिशत जनसङ्ख्याले मात्र पूर्ण खोप लगाएको अवस्था छ ।
नेपालमा विद्यालय र विश्वविद्यालयबाहेक अन्य सबै क्षेत्र खुला छ । योसहितको विश्लेषण गर्ने हो भने अहिलेको सङ्क्रमण निकै न्यून रहेको दाबी डा. अधिकारीले गरे । उनले थपे , “सङ्क्रमणको दर बढेको देखिए पनि अस्पतालमा धेरै भर्ना दर छैन । यसले पनि सङ्क्रमण विस्तारै खुम्चिँदै जाने सम्भावना जीवितै देखाउँछ । ”
अर्का चिकित्साविज्ञ डा. समीरमणि दीक्षितले भने एकैचोटि कडा बन्दाबन्दीबाट खुकुलो वातावरण हुँदा नेपालमा कोभिडको डेल्टा भाइरसले फैलने अवसर पाएको सुनाए । उनले भने , “यो एकदमै सङ्क्रामक छ, मानिसको सामान्य लापरवाहीले पनि बढ्छ । ”