वर्षाले २० वटा पुल क्षतिग्रस्त

काठमाडौँ, असार २५ गते । गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् ।
त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो । सो पुलको एउटा स्पान नदीमा झरेको छ भने अर्को ढल्किएको छ । असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पाँचवटा पुल बगायो । यस वर्षको वर्षायाम सुरु भएयता मनाङमा तीनवटाका साथै गोरखाको बारपाक अजिरकोट जोड्ने पुल भत्काएको छ । यस वर्षको वर्षा सुरु भएयता २० वटा पुल क्षतविक्षत नै भएका छन् ।
वर्षायाममा मात्र होइन सुक्खायामा समेत निर्माणाधीन पुल भत्केको तितो यथार्थ छ । गत वर्ष चैतमा चितवन र तनहुँ जोड्ने नारायणी नदीमाथि निर्माण भइरहेको पुल भत्कियो । यस वर्षको वैशाखमा निर्माणको अन्तिम अवस्थामा रहेको धादिङको गल्छी गाउँपालिका केउरिनीटारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुलमा हावाहुरीले गम्भीर क्षति पुग्यो ।
माथिका घटना त केही उदाहरण मात्र हुन् । कम्तीमा ५० वर्ष सेवा दिन सक्ने उद्देश्यसहित निर्माण गरिएका निर्माणाधीन पुल बगाउनु, स्पान भासिनु सामान्य हुन थालेको छ । अधिकांश पुल ढलान सकिएपछि भत्किने गरेको पाइएको छ । बर्सेनि एक दर्जनभन्दा बढी पुल निर्माण पूरा नहुँदैको अवस्थामै भत्किने गरेको सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो ।
पुल बनाउने ठाउँको माटो परीक्षण, डिजाइनमा त्रुटि, अदक्ष प्राविधिकबाट काम हुनु, न्यूनतम मूल्य (लो बिड)मा बनाउन प्रस्ताव गर्ने ठेकेदारलाई कामको जिम्मेवारी, गुणस्तरहीन सामग्री प्रयोग, काममा लापरबाही, सार्वजनिक खरिद ऐनमा रहेको कमी कमजोरीका कारण पुलमा समस्या आउने गरेको पाइएको छ ।
पूर्वसचिव तथा इन्जिनियर किशोर थापा पुल निर्माण गर्नुपर्ने ठाउँको माटो परीक्षण त्रुटिपूर्ण भएको हुनसक्ने बताउनुहुन्छ । त्यहाँ रहेको माटो र चट्टानको अवस्थाअनुसार पुल स्पानको डिजाइन हुन नसक्दा पुल भासिएको हुन सक्ने उहाँको भनाइ छ । माटो परीक्षण राम्रोसँग नभएसम्म निर्माण कार्य बलियो बनाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो ।
“बाढीले संरचनालाई बगाउने हो, भासिने होइन” उहाँले भन्नुभयो, “गुणस्तर भनेको खाली सिमेन्ट, बालुवा, गिट्टी घोल्ने मात्र होइन, गुणस्तर भनेको ठाउँअनुसारको सर्वेक्षण, डिजाइन र निर्माण हुनुप¥योे ।”

पुल अन्य भौतिक संरचनाभन्दा संवेदनशील हुने भएकाले सानो कमजोरी हुने बित्तिकै भत्किने बताउँदै उहाँले सम्बन्धित मापदण्डअनुसारका निर्माण सामग्री प्रयोग नहुनु अर्को समस्या रहेको तर्क गर्नुभयो ।
पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले गलत माटो परीक्षण, डिजाइन तथा गुणस्तरहीन सामग्रीको प्रयोगलगायतका निर्माण व्यवस्थापनमा भएको त्रुटिका कारण नेपालका पुल भासिने र भत्किने गरेको बताउनुभयो ।
“पुलको जगको माटो परीक्षण गर्नेदेखि कति गतिसम्म पानीको बहाव हुने गरेको छ यी इन्जिनियरिङ डिजाइनका आधारभूत कुरा हुन्,” उहाँले भन्नुभयो, “एउटा इन्जिनियरले बाढीका कारण पुल भत्केको भन्नु गलत व्याख्या हो । एउटा इन्जिनियरले ५० वर्षसम्मको बाढीको मूल्याङ्कन गरेर
पुलको डिजाइन गर्नुपर्छ । ” बाढी आउँछ भनेर नै पुल निर्माण गरिने भएकोले बाढीले भासियो वा बगायो भनेर एउटा इन्जिनियरले भन्न नमिल्ने उहाँ बताउनुहुन्छ ।
निर्माण कम्पनीले गरेको डिजाइनको जाँच सरकारी निकायले समेत गरेर मात्र निर्माण गर्नुपर्ने डा. आचार्यको धारणा छ । उहाँले भन्नुभयो, “एउटा परामर्शदाताले डिजाइन गरेपछि अर्को परामर्शदाताले त्यसको समीक्षा गर्नुपर्छ । एउटा इन्जिनियरले गरेको डिजाइन अन्तिम होइन । ”
अनुगमनको अभावमा समेत पूर्वाधार निर्माणमा कमी कमजोरी भएको बताउँदै उहाँले सरकारी सेवामा भएका प्राविधिक मात्र प्रशासनिक सेवामा खटिनु गलत परम्परा भएको तर्क गर्नुभयो ।
नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्वरजिष्ट्रार इन्जिनियर विन्देश्वर यादवले ‘स्ट्रक्चरल’ र ‘जियोटेक्निकल इन्जिनियरिङ’ द्वारा गरिएको डिजाइनअनुसार कङ्क्रिट पुलकोे आयु कम्तीमा ५० वर्ष हुनुपर्ने बताउनुहुन्छ ।
समयसमयमा मर्मत सम्भार तथा वातावरणीय प्रभाव न्यून छ भने कङ्क्रिटबाट निर्माण गरिने पुलको आयु ५० वर्षभन्दा बढी हुने उहाँको दाबी छ । कोसी ब्यारेज यसको उदाहरण रहेको छ । कोसी ब्यारेजको निर्माण सन् १९६२ मा सम्पन्न भएको थियो । कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेड’ कम्पनीले कोसी ब्यारेज निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको