नेपालले ईयूलाई पठायो थप प्रमाण

काठमाडौँ, असार १९ गते । नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८० वटा प्रमाण ईयूलाई पठाएर बास्मती धानको भौगोलिक सङ्केत अधिकार आफ्नो रहेको दाबी गरेको थियो ।
तर ईयूले केही दिनअघि ती प्रमाणबारे थप स्पष्ट पार्न नेपाललाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा नेपालले पठाएका आफ्ना प्रमाणबारे थप स्पष्ट पार्दै अन्य थप चारवटा प्रमाण ईयूलाई पठाएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले बास्मती धानको भौगोलिक सङ्केत अधिकार हाम्रो हो भनी ८० वटा प्रमाण पठाएका थियौँ । त्यसपछि भारतले पनि दाबी पेस गरेपछि ईयूले नेपालका प्रमाणबारे थप केही बुझ्न चाहेको भन्दै हामीलाई पत्र पठाएको थियो । हामीले ती प्रमाणलाई स्पष्ट बुझ्ने भाषामा बनाएर अन्य थप प्रमाण पनि पठाएका छौँ । ”
अबको एक महिनापछि त्यसको परिणाम आउने उहाँले बताउनुभयो । बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ नेपालको हो भनी आफूहरूले यथेष्ट प्रमाण दिएका कारण त्यसको अधिकार नेपालले प्राप्त गर्ने कुरामा आफूहरू ढुक्क रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक एवं बास्मती धानबारे अध्ययन गर्न बनेको समितिका संयोजक डा. बालकृष्ण जोशीले आफूहरूले धेरै प्रमाण पठाएका कारण ईयू अलमलमा परेकोजस्तो देखिएको बताउनुभयो । उहाँले अहिले तिनै प्रमाणलाई छोटोछोटो पारी बुझ्ने गरी पठाएको बताउनुभयो । ती प्रमाणहरूलाई थप सहयोग पुग्नेगरी अझै चारवटा प्रमाण पठाएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा पाउने नेपाली ब्रान्डका बास्मती चामलको ब्रान्डको फोटा, राजपत्रमा बास्मती धानबारे प्रकाशित सूचनाको प्रतिलिपि, ब्रिटिस सरकारले नेपाल–भारतका लागि बनाएको नक्सा र बास्मती धानको ट्रेडमार्क पठाएको उहाँले जानकारी दिनुभयो ।
सुरुमा भारत र पाकिस्तानले बास्मती धान आफ्नो देशको आधिकारिक हो भनी दाबी गरेपछि नेपालले पनि आफ्नो हो भनी दाबी गर्दै पत्र पठाएको थियो । त्यसपछि बास्मती धानको आधिकारिताका लागि तीन देशको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । यसरी बास्मती धानका लागि तीन देशबाट दाबी आएपछि ईयूले तीनवटै देशलाई आआफ्नो प्रमाण पेस गर्न निर्देशन दिएको थियो । सो निर्देशनअनुसार तीनवटै देशले आआफ्ना देशबाट प्रमाणहरू जुटाइरहेका छन् । राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीको नेतृत्वमा बास्मती धानबारे अध्ययन गर्न समिति बनेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाणहरू जुटाएर गत मङ्सिरमा ईयूलाई पठाएको थियो ।
सन् १९६० देखि नेपालमा रहेका प्रमाणबारे अध्ययन गरी ईयूलाई प्रतिवेदन बुझाएको कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । रुपन्देही, कपिलवस्तुको लुुम्बिनीमा गएर त्यहाँका किसानसँग पनि कुराकानी गर्नुका साथै विभिन्न पुराना व्यक्तिसँग कुराकानी गरिएको प्रमाण भिडियोसहित पेस गरिएको छ । सांस्कृतिक, आर्थिक, समाजिक तथा साङ्गीतिक रूपमा पनि बास्मती धानबारे अध्ययन गरेर ईयूलाई पठाएको उहाँले बताउनुभयो ।
यसको उत्पादन भौगोलिक रूपमा तराई क्षेत्रमा भएको छ । विभिन्न प्रमाणले पनि त्यस्तो देखाएको छ । यहाँसम्म कि भारतले पनि आफ्नो प्रतिवेदनमा बास्मती धानको उत्पादन नेपालको तराईबाट भएको उल्लेख गरेको नार्कले दाबी गरेको छ । त्यसले गर्दा नेपालको दाबी नै पुष्टि हुने नार्कका वैज्ञानिकले जनाएका छन् ।
बास्मती धानका चारवटा जात राजपत्रमा नै प्रकाशित भएको छ भने अन्तर्राष्ट्रिय जिन बैङ्कमा नेपालमा ६४ वटा बास्मती धानका जात रहेका छन् जसलाई १०–१५ वटा देशले प्रयोगमा ल्याइरहेका छन् । नेपालको जिन बैङ्कमा बास्माती धानका विभिन्न २६ वटा जात रहेका छन् । त्यसले जातका हिसाबले पनि अरू देशको तुलनामा धनी रहेको राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले बताउनुुभयो ।
नेपालको लोकल बास्मती धानका विभिन्न जातलाई नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको सहयोगमा चरित्र चित्रणसमेत गरिसकेको छ । यो धानको उत्पत्ति केन्द्र तराई मधेस क्षेत्र नै मुख्य हो । यो कुरा नेपालको दस्तावेजमा मात्र होइन, भारतलगायत विभिन्न देशको दस्तावेजमा पनि पाइन्छ । बास्मती धान र यसको जातका बारेमा विभिन्न पुस्तक, पत्रपत्रिका, जर्नल, बुकलेटमा उल्लेख गरिएको छ, जुन अन्तर्राष्ट्रिय रूपमा पाइन्छ । सामुदायिक बीउ बैङ्कले बास्मती धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवद्र्धन गरेका छन् । नेपालका विभिन्न कम्पनीले बास्मती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र