नेपालले ईयूलाई पठायो थप प्रमाण

काठमाडौँ, असार १९ गते । नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८० वटा प्रमाण ईयूलाई पठाएर बास्मती धानको भौगोलिक सङ्केत अधिकार आफ्नो रहेको दाबी गरेको थियो ।
तर ईयूले केही दिनअघि ती प्रमाणबारे थप स्पष्ट पार्न नेपाललाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा नेपालले पठाएका आफ्ना प्रमाणबारे थप स्पष्ट पार्दै अन्य थप चारवटा प्रमाण ईयूलाई पठाएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले बास्मती धानको भौगोलिक सङ्केत अधिकार हाम्रो हो भनी ८० वटा प्रमाण पठाएका थियौँ । त्यसपछि भारतले पनि दाबी पेस गरेपछि ईयूले नेपालका प्रमाणबारे थप केही बुझ्न चाहेको भन्दै हामीलाई पत्र पठाएको थियो । हामीले ती प्रमाणलाई स्पष्ट बुझ्ने भाषामा बनाएर अन्य थप प्रमाण पनि पठाएका छौँ । ”
अबको एक महिनापछि त्यसको परिणाम आउने उहाँले बताउनुभयो । बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ नेपालको हो भनी आफूहरूले यथेष्ट प्रमाण दिएका कारण त्यसको अधिकार नेपालले प्राप्त गर्ने कुरामा आफूहरू ढुक्क रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक एवं बास्मती धानबारे अध्ययन गर्न बनेको समितिका संयोजक डा. बालकृष्ण जोशीले आफूहरूले धेरै प्रमाण पठाएका कारण ईयू अलमलमा परेकोजस्तो देखिएको बताउनुभयो । उहाँले अहिले तिनै प्रमाणलाई छोटोछोटो पारी बुझ्ने गरी पठाएको बताउनुभयो । ती प्रमाणहरूलाई थप सहयोग पुग्नेगरी अझै चारवटा प्रमाण पठाएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा पाउने नेपाली ब्रान्डका बास्मती चामलको ब्रान्डको फोटा, राजपत्रमा बास्मती धानबारे प्रकाशित सूचनाको प्रतिलिपि, ब्रिटिस सरकारले नेपाल–भारतका लागि बनाएको नक्सा र बास्मती धानको ट्रेडमार्क पठाएको उहाँले जानकारी दिनुभयो ।
सुरुमा भारत र पाकिस्तानले बास्मती धान आफ्नो देशको आधिकारिक हो भनी दाबी गरेपछि नेपालले पनि आफ्नो हो भनी दाबी गर्दै पत्र पठाएको थियो । त्यसपछि बास्मती धानको आधिकारिताका लागि तीन देशको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । यसरी बास्मती धानका लागि तीन देशबाट दाबी आएपछि ईयूले तीनवटै देशलाई आआफ्नो प्रमाण पेस गर्न निर्देशन दिएको थियो । सो निर्देशनअनुसार तीनवटै देशले आआफ्ना देशबाट प्रमाणहरू जुटाइरहेका छन् । राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीको नेतृत्वमा बास्मती धानबारे अध्ययन गर्न समिति बनेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाणहरू जुटाएर गत मङ्सिरमा ईयूलाई पठाएको थियो ।
सन् १९६० देखि नेपालमा रहेका प्रमाणबारे अध्ययन गरी ईयूलाई प्रतिवेदन बुझाएको कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । रुपन्देही, कपिलवस्तुको लुुम्बिनीमा गएर त्यहाँका किसानसँग पनि कुराकानी गर्नुका साथै विभिन्न पुराना व्यक्तिसँग कुराकानी गरिएको प्रमाण भिडियोसहित पेस गरिएको छ । सांस्कृतिक, आर्थिक, समाजिक तथा साङ्गीतिक रूपमा पनि बास्मती धानबारे अध्ययन गरेर ईयूलाई पठाएको उहाँले बताउनुभयो ।
यसको उत्पादन भौगोलिक रूपमा तराई क्षेत्रमा भएको छ । विभिन्न प्रमाणले पनि त्यस्तो देखाएको छ । यहाँसम्म कि भारतले पनि आफ्नो प्रतिवेदनमा बास्मती धानको उत्पादन नेपालको तराईबाट भएको उल्लेख गरेको नार्कले दाबी गरेको छ । त्यसले गर्दा नेपालको दाबी नै पुष्टि हुने नार्कका वैज्ञानिकले जनाएका छन् ।
बास्मती धानका चारवटा जात राजपत्रमा नै प्रकाशित भएको छ भने अन्तर्राष्ट्रिय जिन बैङ्कमा नेपालमा ६४ वटा बास्मती धानका जात रहेका छन् जसलाई १०–१५ वटा देशले प्रयोगमा ल्याइरहेका छन् । नेपालको जिन बैङ्कमा बास्माती धानका विभिन्न २६ वटा जात रहेका छन् । त्यसले जातका हिसाबले पनि अरू देशको तुलनामा धनी रहेको राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले बताउनुुभयो ।
नेपालको लोकल बास्मती धानका विभिन्न जातलाई नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको सहयोगमा चरित्र चित्रणसमेत गरिसकेको छ । यो धानको उत्पत्ति केन्द्र तराई मधेस क्षेत्र नै मुख्य हो । यो कुरा नेपालको दस्तावेजमा मात्र होइन, भारतलगायत विभिन्न देशको दस्तावेजमा पनि पाइन्छ । बास्मती धान र यसको जातका बारेमा विभिन्न पुस्तक, पत्रपत्रिका, जर्नल, बुकलेटमा उल्लेख गरिएको छ, जुन अन्तर्राष्ट्रिय रूपमा पाइन्छ । सामुदायिक बीउ बैङ्कले बास्मती धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवद्र्धन गरेका छन् । नेपालका विभिन्न कम्पनीले बास्मती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको