यसरी बगर बन्यो मेलम्ची बजार

मेलम्ची (सिन्धुपाल्चोक), असार ३ गते । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ र उनकी श्रीमती (नाम पहिचान नभएको), हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति र चौतारा साँगाचोकगढी नगरपालिका १४ का सुरेन्द्र नेपाल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
एउटा शव फेला परेको र पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेड वक्र्समाथि पहिरो गई नदी थुनिएर सुरु भएको बाढीले हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका ३ को भोताङको लार्केबाट पनि सोही समयमा बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिएर ठूलो क्षति हुनपुगेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । पछिल्लो समय सुरक्षित मानिएको पर्यटकीय नगरी मेलम्ची भूकम्पपछिको पुनःनिर्माणले आकर्षक स्थानमा परिचित थियो । सिन्धुपाल्चोकको साबिक ३ नम्बर निर्वाचन क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मेलम्ची एकै रातको बाढीले बगरमा परिणत गरेको छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ र तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन् ।
तिम्बु बजारमा रहेको प्रहरी चौकीसहित बजारका सबै घर बगाएको इलामा प्रहरी कार्यालय तिम्बुले जनाएको छ । निर्माणाधीन रेडियो मेलम्चीको भवनसहित मेलम्ची बसपार्क क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । मेलम्ची–तिम्बु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन बाढीले बगाएको छ, बगर बनाएको छ । मङ्गलबार राति अपूरणीय क्षति पु-याएको इन्द्रावती नदीमा केही बहाव घटे पनि क्षति हुने क्रम घटेको छैन । “हिजोदेखि खोलाले कटान गरिरहेकै छ, आज बिहान बहाव केही घटे जस्तो भएको थियो तर दिउँसोबाट फेरि पानी पर्न सुरु भएको छ”, हेलम्बु ३ की सरस्वती पौडेलले भन्नुभयो ।

हेलम्बुबाट बग्ने मेलम्ची खोलामा पछिल्लो चौबीस घण्टा निरन्तर लेदो बगिरहेको स्थानीयले बताएका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो।
बाढीबाट नागरिककोे उद्धार कार्य जारी छ । उद्धार गरिएका नागरिकलाई स्थानीय विद्यालयमा राखिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलगायत २५० तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको पोखरेलले बताउनुभयो ।
हेलम्बु गाउँपालिका–१ आम्बाथानमा रहेको मेलम्ची आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरू बाढीमा फसेका र ४७ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।
अम्बाथान क्याम्पमा रहेका २३ जना अझै सम्पर्कमा नआएकोे मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले बुधबार नै बाढी पहिरो क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँहरू सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।
निरीक्षणका क्रममा सभामुख सापकोटाले बाढी प्रभावित क्षेत्र मेलम्चीमा अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत् र सडकहरू तत्काल सुचारु गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो ।
मङ्गलबार साँझ बाढीको बहाव बढेपछि घर छोडेर भागेका स्थानीयले ज्यान त जोगाए तर बासस्थानमा भने कष्ट भोगिरहेका छन् । मेलम्चीदेखि तिम्बुसम्मका खोलाको तटीय क्षेत्रका बासिन्दा विद्यालय र माथिल्लो बस्तीमा आश्रय लिइरहेका र उनीहरूको व्यवस्थापनमा लागिरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । बाढीले क्षति पु-याएको र जोखिममा रहेका घरहरूबाट सामग्री निकाली सुरक्षित स्थलतर्फ लाग्ने नागरिकको लस्कर नै देखिन्थ्यो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तामाङले घर छोडेर आश्रय लिइरहेका नागरिकलाई टेन्ट, स्लिपिङ ब्याग र त्रिपाल, खाद्यान्न सामग्री उपलब्ध गराइएको बताउनुभयो।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङको संयोजकत्वमा इन्द्रावती–मेलम्ची क्षेत्र प्राकृतिक विपत् व्यवस्थापन मूल समिति निर्माण गरी पीडितहरूको तत्काल व्यवस्थापनको काम सुरु गरिएको प्रमुख तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले