सूर्यविनायक–धुलिखेल सडक विस्तार हुने

काठमाडौँ, जेठ ३० गते । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकभित्रमा नै बोलपत्र आह्वान गरिने सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र डिजाइनसमेत तयार भई स्वीकृत भइसकेको बताउँदै नयाँ आर्थिक वर्षको सुरुदेखि नै निर्माण प्रक्रिया सुरु गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमा नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । उहाँले सो सडक विस्तारका लागि नयाँ बजेट वक्तव्यमा रकम विनियोजन गरिएकाले अब निर्माण प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको स्पष्ट पार्नुभयो ।
सो सडकका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भक्तपुरले गत वर्षदेखि नै सो सडकखण्ड क्षेत्रमा परेका संरचनाहरू हटाउन तथा रुख कटान सुरु गरिसकेको छ । सो सडक विस्तारका लागि करिब आठ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
महानिर्देशक थापाले कुल १५ किलोमिटर लम्बाइ रहेको सो सडकखण्डमा चार लेनमा विस्तार गरिने गरी डिजाइन गरिएको बताउनुभयो । सो सडकखण्डमा छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिने छ । उहाँले भन्नुभयो, “यो सडकखण्ड विस्तारका लागि सडक विभागका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले समेत डीपीआर तयार पारेको छ । सडक विभागको डीपीआरको तुलनामा जाइकाले तयार पारेको डीपीआरअनुसार विस्तार गर्दा तीन गुणाभन्दा बढी लागत बढ्ने भएकाले विभागको डीपीआरअनुसार विस्तार गरिने छ । ”
उहाँका अनुसार जाइकाले तयार पारेको डीपीआरमा आठ लेनको सडक विस्तार तथा भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्रको साँगामा एक दशमलव २९ किलोमिटर सुरुङमार्गसमेत प्रस्ताव गरिएको छ । त्यसैगरी जाइकाले अहिलेको सडकको ‘एलाइनमेन्ट’ परिवर्तन हुने गरी डीपीआर तयार गरेको छ । जाइकाको डीपीआरअनुसार विस्तार गर्दा १० अर्ब रुपियाँभन्दा बढीको जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । विभागका महानिर्देशक थापाले जाइकाको डीपीआरअनुसार सो सडकखण्ड विस्तारको लागत करिब ३० अर्ब रुपियाँ हुने देखिएको बताउनुभयो ।
उहाँले दूरगामी दृष्टिकोणले जाइकाको डीपीआर राम्रो भए पनि समय, लागत र नेपालको सन्दर्भमा जग्गा अधिग्रहणको वर्तमान झन्झटिलो प्रक्रिया तथा अवस्थाका कारण जाइकाले तयार पारेको डीपीआरअनुसार तत्काल सो सडकखण्डको विस्तार सम्भव नरहेकाले सडक विभागले नै तयार पारेको डिजाइनमा विस्तार गरिने बताउनुभयो । जाइकाले सन् २०११ मा तीनकुने–सूर्यविनायक सडक विस्तारसँगै सो सडकखण्ड विस्तारको प्रारम्भिक अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३