आज विश्वासको मतदान गराइने

काठमाडौँ, वैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको मतदानमा कोरोना सङ्क्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सङ्क्रमित सांसदहरूलाई स्वास्थ्य मापदण्डसहित मतदानको व्यवस्था गर्ने निर्णय गरेको हो । सङ्घीय संसद् भवनको ल्होत्से हलमा उनीहरूका लागि मतदानको व्यवस्था गरिने छ । हालसम्म २८ सांसद सङ्क्रमित भएको विवरण संसद् सचिवालयले प्राप्त गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिले विशिष्ट परिस्थिति रहेको भन्दै विश्वास मतको प्रक्रियालाई पनि सोमबार नै टुङ्गो लगाउने निर्णय पनि गरेको छ । दलीय प्रतिनिधित्वमा शीर्ष नेताहरूले मात्र मन्तव्य दिएर सोमबार नै मतदान प्रक्रिया अगाडि बढाउने समझदारी कार्यव्यवस्थामा बनेको हो ।
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले स्वास्थ्य मापदण्ड अपनाएर सङ्क्रमित सांसदलाई मतदानमा सहभागी गराउने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वास मतको प्रयोजनका लागि मात्र यो अधिवेशन बोलाइएकाले लामो चल्ने अवस्था छैन । कोरोनाका कारण मुलुक आक्रान्त पनि छ । सङ्क्रमित बढिरहेका छन् । सांसद पनि ठूलै सङ्ख्यामा सङ्क्रमित हुनुभएको छ । सङ्क्रमितलाई भोलि विश्वास मतको मतदानमा सहभागी गराउने विषयमा नै छलफल भयो । स्वास्थ्य मापदण्ड अपनाएर मतदानमा सहभागी गराउने निर्णय भएको छ ।”
यस्तै अधिवेशनलाई सकेसम्म सोमबारै सक्ने गरी समझदारीसमेत बैठकले गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले बैठक सकेसम्म छोटो बनाउने र कोरोनाको अवस्थामा कसरी व्यवस्थित बनाउने भन्नेमा पनि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडको अवस्थामा बैठक कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल भयो । धेरै सांसदमा पोजेटिभ देखिएको छ । कतिपयको परीक्षण गर्न नभ्याएको अवस्था छ । पोजेटिभ देखिएकालाई मतदानको अधिकारबाट नछुटाउने ढङ्गबाट तयारी गराउने कुरा भएको छ । सकेसम्म छिटो सक्ने गरी पनि छलफल भयो । ”
यसरी हुनेछ व्यवस्था कार्यव्यवस्थाको निर्णयअनुसार उपत्यका बाहिर रहेका सदस्यलाई पनि यथाशक्य उपत्यका ल्याइने छ । सङ्क्रमित सदस्यलाई सङ्घीय संसद् भवनअगाडि टेन्टमा बस्ने व्यवस्था मिलाइने छ । मतदान प्रक्रिया प्रारम्भ भएपछि भने भवनको ल्होत्से हलमा मतदानको व्यवस्था मिलाइने छ ।
सङ्घीय संसद्का सचिव ध्रुवप्रसाद घिमिरेले कार्यव्यवस्थाको निर्णयअनुसार सचिवालयले तयार पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित सांसदहरूलाई बाहिर टेन्टमा बस्ने व्यवस्था मिलाउने छौँ । मतदानमा भने ल्होत्से हलमा उहाँहरूलाई व्यवस्था गरिने छ । तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर मतदानमा सहभागी गराइने छ । ”
यसरी अघि बढ्ने छ प्रक्रिया
अधिवेशन विश्वास मतको प्रयोजनका लागि बोलाइएकाले अधिवेशनमा अन्य कुनै पनि बिजनेस अगाडि बढ्ने छैन । सोमबारको बैठकमा यसअघिको घोषणाअनुसार प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यसहित विश्वासको मत माग्नुहुनेछ ।
प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावमा छलफलका लागि समय निर्धारण हुनेछ । तोकिएको अवधिको छलफलका क्रममा उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ । प्रधानमन्त्रीको जवाफपछि प्रस्तावउपर निर्णय प्रक्रिया प्रारम्भ हुनेछ ।
विश्वास मतको प्रस्तावलाई निर्णयार्थ पेस गर्दा मत विभाजन हुनेछ । सदस्यहरूले हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुन पाउने छन् । संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको सङ्ख्या गणना हुनेछ । प्रतिनिधि सभामा हाल २७१ जना कायम सङ्ख्या छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सदस्य आवश्यक पर्छ ।
प्रतिनिधि सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट १२१ सदस्य छन् तर पार्टीको आन्तरिक विवादका कारण मतदानअघि नै केही सदस्यको राजीनामा वा फ्लोर क्रस हुनेसम्मको आकलन गरिएको छ । एमाले एकै ठाउँमा उभिए पनि प्रधानमन्त्रीलाई विश्वासको मतका लागि थप १५ सदस्य आवश्यक पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार