आज विश्वासको मतदान गराइने

काठमाडौँ, वैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको मतदानमा कोरोना सङ्क्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सङ्क्रमित सांसदहरूलाई स्वास्थ्य मापदण्डसहित मतदानको व्यवस्था गर्ने निर्णय गरेको हो । सङ्घीय संसद् भवनको ल्होत्से हलमा उनीहरूका लागि मतदानको व्यवस्था गरिने छ । हालसम्म २८ सांसद सङ्क्रमित भएको विवरण संसद् सचिवालयले प्राप्त गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिले विशिष्ट परिस्थिति रहेको भन्दै विश्वास मतको प्रक्रियालाई पनि सोमबार नै टुङ्गो लगाउने निर्णय पनि गरेको छ । दलीय प्रतिनिधित्वमा शीर्ष नेताहरूले मात्र मन्तव्य दिएर सोमबार नै मतदान प्रक्रिया अगाडि बढाउने समझदारी कार्यव्यवस्थामा बनेको हो ।
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले स्वास्थ्य मापदण्ड अपनाएर सङ्क्रमित सांसदलाई मतदानमा सहभागी गराउने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वास मतको प्रयोजनका लागि मात्र यो अधिवेशन बोलाइएकाले लामो चल्ने अवस्था छैन । कोरोनाका कारण मुलुक आक्रान्त पनि छ । सङ्क्रमित बढिरहेका छन् । सांसद पनि ठूलै सङ्ख्यामा सङ्क्रमित हुनुभएको छ । सङ्क्रमितलाई भोलि विश्वास मतको मतदानमा सहभागी गराउने विषयमा नै छलफल भयो । स्वास्थ्य मापदण्ड अपनाएर मतदानमा सहभागी गराउने निर्णय भएको छ ।”
यस्तै अधिवेशनलाई सकेसम्म सोमबारै सक्ने गरी समझदारीसमेत बैठकले गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले बैठक सकेसम्म छोटो बनाउने र कोरोनाको अवस्थामा कसरी व्यवस्थित बनाउने भन्नेमा पनि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडको अवस्थामा बैठक कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल भयो । धेरै सांसदमा पोजेटिभ देखिएको छ । कतिपयको परीक्षण गर्न नभ्याएको अवस्था छ । पोजेटिभ देखिएकालाई मतदानको अधिकारबाट नछुटाउने ढङ्गबाट तयारी गराउने कुरा भएको छ । सकेसम्म छिटो सक्ने गरी पनि छलफल भयो । ”
यसरी हुनेछ व्यवस्था कार्यव्यवस्थाको निर्णयअनुसार उपत्यका बाहिर रहेका सदस्यलाई पनि यथाशक्य उपत्यका ल्याइने छ । सङ्क्रमित सदस्यलाई सङ्घीय संसद् भवनअगाडि टेन्टमा बस्ने व्यवस्था मिलाइने छ । मतदान प्रक्रिया प्रारम्भ भएपछि भने भवनको ल्होत्से हलमा मतदानको व्यवस्था मिलाइने छ ।
सङ्घीय संसद्का सचिव ध्रुवप्रसाद घिमिरेले कार्यव्यवस्थाको निर्णयअनुसार सचिवालयले तयार पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित सांसदहरूलाई बाहिर टेन्टमा बस्ने व्यवस्था मिलाउने छौँ । मतदानमा भने ल्होत्से हलमा उहाँहरूलाई व्यवस्था गरिने छ । तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर मतदानमा सहभागी गराइने छ । ”
यसरी अघि बढ्ने छ प्रक्रिया
अधिवेशन विश्वास मतको प्रयोजनका लागि बोलाइएकाले अधिवेशनमा अन्य कुनै पनि बिजनेस अगाडि बढ्ने छैन । सोमबारको बैठकमा यसअघिको घोषणाअनुसार प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यसहित विश्वासको मत माग्नुहुनेछ ।
प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावमा छलफलका लागि समय निर्धारण हुनेछ । तोकिएको अवधिको छलफलका क्रममा उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ । प्रधानमन्त्रीको जवाफपछि प्रस्तावउपर निर्णय प्रक्रिया प्रारम्भ हुनेछ ।
विश्वास मतको प्रस्तावलाई निर्णयार्थ पेस गर्दा मत विभाजन हुनेछ । सदस्यहरूले हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुन पाउने छन् । संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको सङ्ख्या गणना हुनेछ । प्रतिनिधि सभामा हाल २७१ जना कायम सङ्ख्या छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सदस्य आवश्यक पर्छ ।
प्रतिनिधि सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट १२१ सदस्य छन् तर पार्टीको आन्तरिक विवादका कारण मतदानअघि नै केही सदस्यको राजीनामा वा फ्लोर क्रस हुनेसम्मको आकलन गरिएको छ । एमाले एकै ठाउँमा उभिए पनि प्रधानमन्त्रीलाई विश्वासको मतका लागि थप १५ सदस्य आवश्यक पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत