महाशिवरात्रि मनाइँदै

काठमाडौँ, फागुन २७ गते । फाल्गुण कृष्ण चतुर्दशीका दिन बिहीबार पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व मनाइँदैछ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि नै रहेकाले यो समयपछि शिवको आराधना गर्दा उत्तम हुनेछ ।
सामान्य आराधना र स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुन्छ भनिन्छ । आकार निराकार दुवै तवरबाट शिवको आराधना गर्नसकिने पूज्य देवताका रूपमा शिवलाई लिइन्छ । बडादशैँ अघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र यो महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महìव दर्शाइएको छ । रुद्र स्वभाव हुँदा जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रिमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धूमधामका साथ मनाउन थालिएको
हो भनिन्छ ।
शिवलाई मनपर्ने पञ्चामृत, बेलपत्र, गाँजा, भाङ, धतुरो अर्पण गरेर खुसी पार्ने प्रयास भक्तजनबाट हुन्छ । धार्मिक आस्थामा यसो भए पनि आयुर्वेद क्षेत्रमा यी पदार्थलाई पाचन प्रणाली सन्तुलन, ज्वरो नासक, पेटमा कृत्रिम रोग निवारण लगायतका औषधीय महìव रहेको बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. अञ्जु कार्की बताउनुहुन्छ ।नौलोगाउँ बझाङ, कैलाशमाडौँ बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, काठमाडौँ डिल्लीबजारको वसन्तेश्वर, जयवागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ ।
पशुपति परिसरको पिण्डेश्वरमा अखण्ड दीपसहित सवा लाख बेलपत्र र पञ्चामृत पूजा आयोजना भएको नाथका कोटवाल पूर्णनारायण जोशी बताउनुहुन्छ ।
पशुपतिनाथमा चारै प्रहर अतिरुद्री, महादीप प्रज्वलन, अखण्ड दीपसहितको दीपोत्सव, लाख बेलपत्र र प्रशस्त पञ्चामृतद्वारा पशुपतिनाथको पूजा गर्ने तयारी भएको छ ।
यसैगरी महाशिवरात्रि पर्वमा नेवार समुदायमा सिलाचःह्रे मनाउने गरिन्छ । सो दिन बाटो छेक्ने र घरघरमा गएर गीत गाउँदै दाउरा माग्ने चलन पनि रहेको छ । जुन अहिले लोप भइसकेको छ ।
संस्कृतिविद् सत्यमोहन जोशीले महाशिवरात्रि र सिलाचःह्रे भनेको एउटै भएको जानकारी दिँदै यो दिन नेवार समुदायमा शिवको नै पूजा आराधना गर्ने गरिन्छ । उहाँका अनुसार सिलाचःह्रे ‘सि’को अर्थ ‘शिव’ र ‘ला’ को अर्थ महिना हो भने ‘चःह्रे’ को अर्थ चतुर्दशी हुन्छ ।
शिवरात्रिको दिन बिहान गुठीका मान्छेहरू विशेषतः केटाकेटीहरू मिलेर बाटाबाटामा पैसा उठाएर त्यो रकमले साँझमा आगो बाल्ने, मकैलगायतका गेडागुडी भुटेर खाने चलन रहेको भन्दै जोशीले थप्नुभयो, ‘‘यसरी बाटो छेकेर पैसा लिने चलनलाई जगा छेक्ने भनिन्छ । यसरी सबैजना टोल छिमेक तथा गुठीका सदस्यहरू भेला भएर आगो बाल्ने अनि पूजा गर्ने भएकाले सिलाचःह्रे पूजा ‘बालबालिका’ माझ लोकप्रिय छ । ’’
संस्कृतिविद् जोशीले नेवार समुदायको कपाली, दर्शनधारी वा जोगीहरूले पनि जामा पहिरिएर, हारमाला, रुद्राक्ष माला लगाएर, शरीरमा विभूति घसेर, देब्रे हातमा त्रिशूल लिएर, दाहिने हातले डमरु बजाउँदै महादेवको भेष लिएर घरघरमै भिक्षा माग्ने चलन भएको बताउँदै अहिले सो लोप भइसकेको पनि जानकारी दिनुभयो ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला हुन्छ । कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणबाट बच्न बचाउन मन्दिर प्रवेशका सबै बिन्दुमा सेनिटाइजरको व्यवस्था गरिएको छ ।
पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीका अनुसार आएका साधु सन्तलाई घण्ट, चमर, राडीपाखी, डमरु, पिताम्बर, शङ्ख तथा उत्कृष्ट साधुलाई एकतारे, हारमोनियम र दानदक्षिणा दिएर बिदाइ गर्ने व्यवस्था भएको छ । सरकारका तर्फबाट प्रदान हुने यी सामग्रीको मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्कल्प भएको थियो । सङ्कल्पलगत्तै त्रिदिवसीय रूपमा सुरु भएको यो पर्व औँसीमा विसर्जन भई साधुलाई यसै दिन बिदाइ गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा