September 2, 2020

यो वर्षको सोह्र श्राद्ध कसरी गर्ने ?

facebook sharing buttonwhatsapp sharing button
■ बबिता बस्नेत

२०७७ सालका सबै चाडबाड, पूजा, तिथी, श्राद्ध, रीति–रिवाजहरू कोभिड–१९ बाट प्रभावित भए, भइरहेका छन् । यसबीचमा चैतेदशैँ, नयाँ वर्ष, आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन, तीज, उपत्यकामा हुने ऐतिहासिक जात्राहरू, आ–आफ्नो जात र धर्मअनुरुपका विभिन्न चाडपर्वहरू सबै कोरोनाका कारण खल्लो भए । जात्राहरू मनाउनै पाइएन, आफन्तका बीच रमाइलो गरेर मनाइने कतिपय चाडपर्व परिवारमा मात्रै सीमित भए । पितृभक्तिका लागि महत्वपूर्ण सोह्रश्राद्ध आएको छ, कसरी गर्ने ? सम्बन्धित सबैमा अन्योल छाएको छ ।

पितापुर्खाको सम्झनामा गरिने सोह्र श्राद्ध धेरै पुस्तालाई तर्पण दिइने हुँदा अन्य नियमित श्राद्धभन्दा विशेष मानिन्छ । श्राद्धमा ब्राह्मण आवश्यक हुन्छ, एकै जना ब्राम्हणले धेरैतिर भ्याउने चलन छ । तर अहिलेको समय न त बाहिरको मान्छे भेट्न मिल्ने खालको छ न त घरमा कसैलाई बोलाउन नै सकिने ! मठ–मन्दिरनजिकका खोला किनारमा श्राद्ध गर्नेहरूका लागि त्यहाँसम्म पुग्न सक्ने अवस्था छैन । पितृलाई श्रद्धा गर्ने कुरा कसरी नगर्नु ? गरौँ त कसरी गर्ने ? के श्राद्ध पनि भर्चुअल अर्थात् टाढा रहेर पनि नजिकै रहेझैँ गरी प्रविधिको माध्यमबाट गर्ने ? यो सुविधा पनि त सबैसँग छैन । एउटा अप्ठ्यारो परिस्थितिबाट धेरै मानिसहरू गुज्रिएको अवस्था छ ।

श्राद्ध किन गर्ने ?

जीवन र मृत्युको बीचमा एउटा मात्रै कुरा छ, त्यो हो सास । हामीले सास फेर्न छोड्यौँ या सकेनौँ भने मृतशरीरमा परिणत हुन्छौँ । मान्छे मरेपछि के हुन्छ ? कहाँ जान्छ ? यस्तै हुन्छ, यही पुग्छ भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन । तर पनि स्वर्ग र नर्कको परिकल्पना भने गरिएको छ । मरेपछि पनि सुखद अनुभूति गर्ने अवस्थामा पुग्यो या रह्यो भने स्वर्ग र कष्ट भोग्नुपर्ने या दुःखद अनुभूति गर्ने अवस्था आए, नर्क । स्वर्ग र नर्क भौगोलिक स्थान नभएर अनुभूति गर्ने अवस्था हुन् भन्न सकिन्छ । मानिस मरे पनि आत्मा जीवित रहन्छ भन्ने छ । जसका कारण शरीर मरेपछि पनि आत्माले शरीरमा पुनः प्रवेश गर्ने कोशिस गरिरहन्छ भनेर गुरु, सद्गुरुहरूले भनेको पाइन्छ । मृत्युमा पनि सामान्य मृत्यु र अकस्मातै या भनौँ दुर्घटनालगायतबाट हुने मृत्युमा फरक हुने र अकस्मात मृत्यु हुनेहरूको आत्मा बढि भड्किन्छ भन्ने छ । सामान्यतया मानिस मरेपछि चार–पाँच घण्टाभित्र जलाइसक्नु भन्ने भए पनि हिजोआज कतिका सन्तान घरबाट बाहिरै तथा विदेशमा बस्ने हुँदा केही दिन अस्पतालमा राख्नुपर्ने अवस्था पनि छ ।

आफ्नो मान्छेको मृत्युको पीडाबाट बाहिरिनका लागि १३दिने संस्कारले हिलिङको काम गरिरहेको हुन्छ । आफन्तहरू आउँछन्, जान्छन्, के भएको थियो, कसो भएको थियो भन्छन्, बाँच्दा जे–जस्तो ब्यवहार गरे पनि मरेर गएपछि कस्तो राम्रो मानिस हुनुहुन्थ्यो भन्छन् ।

हिन्दु धर्म–परम्परामा १३ दिने संस्कारका पछाडि यही आत्माको भड्काव महत्वपूर्ण पक्ष हो भन्न सकिन्छ । यद्यपि काजक्रियाका रूपमा १३ दिनसम्म या आफ्नो परम्पराअनुरुप आफन्तको शोक बार्नु मनोवैज्ञानिक रूपमा पनि धेरै महत्वपूर्ण छ । आफ्नो मान्छेको मृत्युको पीडाबाट बाहिरिनका लागि १३दिने संस्कारले हिलिङको काम गरिरहेको हुन्छ । आफन्तहरू आउँछन्, जान्छन्, के भएको थियो, कसो भएको थियो भन्छन्, बाँच्दा जे–जस्तो ब्यवहार गरे पनि मरेर गएपछि कस्तो राम्रो मानिस हुनुहुन्थ्यो भन्छन् । यस्ता कुराले बिस्तारो–बिस्तारो मानिसलाई आफन्तको मृत्युलाई सहज रुपमा लिन मद्दत पुग्छ । अर्को कुरा शरीर मरेर गए पनि आलो आत्मालाई प्रत्येक दिनको संस्कारमा चढाइने खानेकुरा, पानीलगायतले तृप्त गर्छ भन्ने पनि छ ।

हामीकहाँ काजक्रिया विभिन्न जातजातिमा फरक छ । कतिपय जनजातिमा तीन दिन मात्र काजक्रिया गर्ने चलन छ । सम्पत्तिलगायतका कुरामा मोह बढि भएका मानिसलाई मोक्षप्राप्तिका लागि समय लाग्ने र मोह कम हुनेहरू चाँडै मुक्त हुने मान्यता पनि छ । यसरी हेर्दा बाहुन क्षेत्रीलाई भन्दा जनजातिलाई मोह कम भएर काजक्रिया पनि कम भएको हो कि जस्तो पनि लाग्छ । सन्यास लिएका साधुहरूलाई पनि जिन्दगी र सम्पत्तिप्रतिको मोह हुँदैन । उनीहरूको काजक्रियाको प्रक्रिया पनि छोटो हुन्छ ।

मानिस मरेपछि सुरुमा १३ दिन, त्यसपछि ४५ दिन र एक वर्षसम्म प्रत्येक महिना मासिक श्राद्ध र पछि वर्षमा एक पल्ट तिथी मिलाएर श्राद्ध गरिन्छ । यसैगरी पितृका नाममा प्रत्येक वर्ष सोह्र श्राद्धमा श्राद्ध गरिन्छ । श्राद्धको अर्थ श्रद्धा हो, आफ्ना पिता पुर्खाप्रतिको श्रद्धा । हिन्दु धर्मको सबैभन्दा राम्रो पक्ष मृत्युवरण गरेका र जीवित सबै आफन्तका लागि सम्मान ब्यक्त गर्न कुनै न कुनै पर्व र तिथीहरू छन् । दाजुभाइ, दिदीबैनी, बाबुआमाका लागि मात्र नभएर पितृहरूलाई सम्झनका लागि पनि विशेष समय छुट्याइएको छ, त्यो हो सोह्र श्राद्ध । श्राद्ध पितृ (पुर्खा) को सम्झना र संस्कृतिको माध्यमबाट उहाँहरूसँगको सम्पर्कसँग जोडिएको छ ।

हाम्रा पुर्खाको कुनै न कुनै अंश हामीसँग शारीरिक रुपमा जोडिएर आएको हुन्छ । पुर्खालाई संवेदनशील भएर तर्पण दिनुको अर्थ उहाँहरूप्रति संवेदनशील भएर आत्मालाई तृप्त पार्ने कोशिस हो । हावाले बास्ना लिएर फुलचाहिँ बोटमैं छोडिदिए जस्तो शरीरलाई छोडेर आत्माचाहिँ डुलिरहेको हुन्छ या जीवितै हुन्छ भन्ने मान्यतामा रहेर श्राद्धले निरन्तरता पाएको हो । श्राद्ध गरेपछि मैले तिमीहरूले दिएको पाएँ भन्नेहरू भेटिएका छैनन् होला तर श्राद्ध नगर्ने, काजक्रिया नभएका कतिपय आत्माहरूले अरुको शरीरमा आएर मैले खान पाइनँ, म मोक्ष भएको छैन भनेका अनेक उदाहरणहरू हाम्रो समाजमा देखिन्छन् । त्यस प्रकारका कुरा सुनेपछि कतिले पुस्तौँअघिका आफ्ना पुर्खाको मृत्युसंस्कार गरेका घटनाहरू पनि छन् ।

श्राद्ध गरेपछि मैले तिमीहरूले दिएको पाएँ भन्नेहरू भेटिएका छैनन् होला तर श्राद्ध नगर्ने, काजक्रिया नभएका कतिपय आत्माहरूले अरुको शरीरमा आएर मैले खान पाइनँ, म मोक्ष भएको छैन भनेका अनेक उदाहरणहरू हाम्रो समाजमा देखिन्छन् ।

मृत्युसंस्कार गर्नुअघि र गर्दैगर्दा आत्माले आफन्तको शरीरमा पस्न कोशिस गर्ने भएकाले आत्माको मुक्तिको कुरा गर्नेहरू पनि छन् । मान्छे जिउँदो हुँदा स्वतन्त्रता चाहन्छ र मरेपछि पनि मुक्ति नै चाहन्छ । मोक्ष, मुक्ति, पुनर्जन्म जस्ता कुरा हिन्दुशास्त्रहरूमा उल्लेख गरिएको छ । कतिपयले हिजोआज अब समयअनुसार चलन, परम्परा पनि परिवर्तन गर्नुपर्छ, कहाँ श्राद्ध गर्नु ? यसो जल चढायो भइहाल्छ नि, मनले पो मान्ने हो भनेको पनि सुनिन्छ । तर कतिपय हाम्रा परम्पराहरू नसोचिकन चलाइएका छैनन् । निश्चय नै जतिसुकै निकटवर्ती भए पनि मरिसकेको मानिसले मैंले पाएँ या पाइनँ भन्दैन, त्यसैले विश्वास, अन्धविश्वास जे मानें पनि हुन्छ तर पुर्खाप्रतिको श्रद्धा आदर र सम्मान हो । जुन श्रद्धा मानिसहरूले श्राद्धमार्फत गर्छन् । यदि तिथी, श्राद्ध जस्ता कुराहरू हुँदैनथे त मानिसले आफ्नो पृष्ठभूमिलाई संवेदनशील भएर सम्मान ब्यक्त गर्ने अवसर पनि पाउँदैन थिए होला । हिन्दु धर्मका धेरै राम्रा कुरामध्ये श्राद्ध पनि एक हो । सोह्र श्राद्ध भनेर सोह्र दिनसम्म सबै पितृलाई सम्झनका लागि विशेष समय छुट्याइएको छ । यसलाई पितृप्रतिको सामूहिक सम्मान पनि भन्न मिल्छ ।

कसरी सुरु भयो सोह्र श्राद्ध ?

महाभारतको युद्धमा जब कर्णको मृत्यु भयो उनी सिधै स्वर्ग गए । स्वर्गमा कर्णलाई सुनको थालमा राखेर सुन नै खानका लागि दिइन्छ । सुन खान सक्ने कुरा भएन, अति भोक लागेपछि कर्णले स्वर्गका राजा इन्द्रसँग आफूलाई खानाको साटो किन सुन दिइयो भनेर सोध्दा कर्णले सधैं सुन मात्रै दान गरेकाले खानाको रूपमा सुन पाएको जवाफ पाउँछन् । दानी भनेर कहलिएका कर्णले कहिल्यै कसैलाई खाना, बस्त्र जस्ता कुरा दान गरेका रहेनछन् । अब के गर्ने ? इन्द्रसँगको सल्लाहमा कर्ण स्वर्गबाट १६ दिनका लागि पृथ्वीमा आएर भोजन र पानी दान गर्छन् । जीवित मानिसहरूका लागि मात्र नभएर उनले पितृले समेत पाउने गरी दान गरेकाले त्यही समयदेखि श्राद्धको चलन बस्यो भन्ने मान्यता छ । यसले मानिसका लागि सुन, हिरा, मोतीभन्दा खाना र पानीको महत्व दर्शाउँछ । साथै खानेकुरा बाँडेर खान र खान नपुग्नेहरूलाई खुवाउन प्रेरित गर्छ । सामान्यतया हामीकहाँ ‘अन्नपानीको शरीर’ भन्ने चलन छ । मानिस बाँचुन्जेल खानाको सन्तुलन मिलाउन आवश्यक छ, श्राद्धमा पनि जल र भोजन नै पितृलाई चढाइन्छ । विश्वास या अन्धविश्वास आफ्ना ठाउँमा होलान्, पितृको सम्मान र पुर्खासँगको ‘कनेक्सन’का लागि श्राद्ध महत्वपूर्ण छ । विगतमा छोराले गर्ने चलन भए पनि सन्तान छोरा या छोरी जसले गरे पनि हुन्छ ।

यो वर्ष हामी अप्ठ्यारो परिस्थितिमा छौँ । ब्राह्मणलाई कसरी घरमा बोलाउने या नदी किनारसम्म कसरी पुग्नेदेखि हजामकहाँ गएर कपाल काट्नेसम्मका प्रक्रिया निषेधाज्ञा खुले पनि जोखिमले भरिएका छन् । संस्कारसँगै मानिसको मन सबैभन्दा ठुलो कुरा हो । श्राद्धको प्रक्रिया पूरा हुने गरी मनले पितृलाई सम्झिएर तर्पण दिँदा पितृले बुझ्छन् भनेर लिनुपर्ने हुन्छ । हाम्रा परम्परालाई निरन्तरता दिँदै कठिन परिस्थितिको सामना गर्नका लागि हामीसँग अहिले धेरै विकल्पहरू छैनन् । घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध