September 16, 2019

चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताउनुभएको छ ।नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको बरु सामूहिक ढङ्गले विकास र सामाजिक सद्भावको लक्ष्य रहेकाले सबै दल, बुद्धिजीवी र जनसहभागितामा राष्ट्रिय विकास र हितलाई केन्द्रमा राखेर यस्ता पहलमा सामेल हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “बिआरआई मानव जातिको समृद्धि र तादाम्यसहितको समाज विकासको परिकल्पनाका लागि हो । यसमा सबैको सामूहिक प्रयास आवश्यक छ । यो कुनै देश महाशक्ति बन्नका लागि होइन । यो नेपालको रेल कनेक्टिभिटी, सडक पूर्वाधार र सञ्चार विकासमा अझ लाभदायक छ । हामीले लामो छलफल र गृहकार्य गरेरै यसमा हस्ताक्षर गरेका हौँ ।”

चीनले सन् २०१३ मा शुरु गरेको उक्त बिआरआई विश्वव्यापी रणनीतिमा एशिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकासहित विश्वका १५२ मुलुकको पूर्वाधार विकास, बजार र लगानीको सहभागिता हुनेछ । उहाँले संविधान निर्माणपछिको स्थिरता र आर्थिक समृद्धिको चरणमा नेपाल प्रवेश गरेको सन्दर्भमा चीन र भारत दुई विशाल छिमेकीको बीचमा हुनुका नाताले नेपालले आफ्नो इतिहास, भूगोल र परम्पराअनुकूल लिँदै आएको असंलग्न र स्वतन्त्र विदेश नीतिका आधारमा दुवै देशको विकासबाट सहकार्यका आधारमा लाभ लिने सही वातावरण बनेको पनि उल्लेख गर्नुभयो । बिआरआईबारे नेपालका सबै दलको समान मत रहनु समृद्धिका लागि सकारात्मक सङ्केत भएको भन्दै उहाँले नेपालको गुणात्मक र चौतर्फी राष्ट्रिय विकास र बिआरआईका सन्दर्भमा आफू प्रधानमन्त्री हुँदा र अन्य अवस्थामा पनि चीन र भारतको भ्रमणका क्रममा दुवै देशबाट नेपालले सहकार्यको लाभ लिनुपर्ने र त्रिदेशीय साझेदारीको रणनीति तयार गर्नुपर्नेमा जोड दिएको स्मरण गराउनुभयो ।

अध्यक्ष दाहालको भनाइ थियो, “एक्काइसौँ शताब्दीमा चेतना, सूचना प्रविधि र भौतिक क्षेत्रमा भएको विकासको चापले नयाँ ढङ्गले प्रभावित गरेको छ । यसमा तालमेल मिलाउनुपर्छ । सरकार, पार्टी, बुद्धिजीवी र आम जनता मिलेर सामना गर्न सक्दा गुणात्मक ढङ्गले राष्ट्रको चौतर्फी विकास हुन्छ । संवेग र आवेगले होइन विवेकले नेतृत्व गरोस्, जनताका हितमा विकास निर्माण हुन सकोस् । यसमा सबै दल एक ठाउँमा उभिनुपर्छ ।” कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले बिआरआईमा हस्ताक्षर गरिसकेको स्थितिमा नेपालले सोचेजस्तो प्रगति गर्न नसके पनि नयाँ संविधान, सङ्घीयता र देशमा देखिएको स्थिरतासँगै दीर्घकालीन महत्वका काममा सबै दलको सहमतिका आधारमा सरकारले कामको अगुवाइ गर्ने बताउनुभयो । उहाँले तिनै तहका सरकारमा सबै कानून तयार नहुनु र पर्याप्त जनशक्ति नहुनुले बिआरआई परियोजनाले गति लिन नसकेको स्वीकार्दै पछिल्लो समयमा छिमेकी भारत र चीनसँगको सम्बन्धमा अझ सुधार आएको अवगत गराउनुभयो ।

यसका केही मूलभूत मान्यताले यो साझेदारीमा विश्वको ध्यान आकर्षित गरेको र यो मानवहितका लागि भएको बताउनुभयो । यसमा कुनै पनि देशको सार्वभौमिकताका आधारमा हुने छनोटको योजनालाई सहयोग हुने र लगानीका लागि कुनै बाध्यकारी ढाँचा नभएकाले नेपालले आफ्ना योजनाको छनोट गरेर कार्यान्वयनको ढाँचाका लागि तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले सीमापार हिमालयन परियोजनाअन्तर्गत अरनिको राजमार्ग, किमाथाङ्का नाका, स्याँब्रुबँेसी करिडोर, ट्रान्समिशन लाइन विस्तार, हवाई सेवाको सम्झौता आदि कामको तयारी भइरहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेत्री सुजाता कोइरालाले विगतमा आफ्नो पार्टी सरकारमा हुँदा पनि बिआरआईमा सकारात्मक पहल भएको उल्लेख गर्दै राष्ट्रिय हित र विकासलाई ध्यान दिएर गरिने काममा प्रतिपक्षको साथ रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिआरआईबाट नेपालको आर्थिक विकासका क्षेत्रमा लाभ हुनसक्ने भएकाले यसका लागि सरकारले ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभयो । सङ्गठनका अध्यक्ष डा दिनेश देवकोटाले सरकारले अघि सारेको समृद्धिको लक्ष्यमा बुद्धिजीवीले आफ्नो स्थानबाट साथ दिने जनाउँदै गोष्ठीबाट प्राप्त सुझाव सरकार र पार्टी नेतृत्वलाई बुझाइने जानकारी दिनुभयो । संवादमा विभिन्न कार्यपत्र प्रस्तुत भई छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद