March 7, 2019

प्रहरीले तस्करसँग साँठगाठ गर्दै यसरी अपराधी भगाउछन

 

फागुन २३, चितवन । प्रहरीले बरामद गरेका अधिकांश चोरीका मोटरसाइकल सहित पक्राउ पर्ने व्यक्तिलाई सोधपुछ गरे सबैको रेडिमेड उत्तर हुन्छ, यो मोटरसाइकल चितवनबाट किनेको हो । यसरी चितवनलाई चोरीको मोटरसाईकल बिक्री गर्ने अखडा बनाएका हुन् मनकामना अटो एण्ड रिकन्डिसन वर्कसप जगतपुरका सञ्चालक ‘दीपु’ भन्ने दीपेन्द्र श्रेष्ठ ।

प्रहरीकै संरक्षणमा दीपुले चोरीका मोटरसाइकल र गाडी कारोबार गरिरहेको स्रोतले बताएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका जयमंगलाका दीपुले उक्त वर्कसपमा काठमाडौंबाट चोरी गरी लगेका सबै मोटरसाईकलहरू एकै रातमा फोरफार गरी अप्रेसन (चोरीका मोटरसाईलको पार्टपूर्जा झिक्ने काम) समेत गर्ने गरेको स्रोत बताउँछ ।

उक्त वर्कसपमा एकैरातमा अप्रेसन गरी अर्कै रङ लगाएर बेचबिखन गरिन्छ । एउटा मोटरसाइकलको पार्टपूर्जा, च्यासिस अर्कोमा लगाउने काम दीपु श्रेष्ठको समूहले गर्दै आएका छन् । उनको वर्कसपमा एकैरात ‘अप्रेसन’ गरिएका मोटरसाइकलको साइलेन्सरको थुप्रो नै देखिन्छ ।

स्कोरपियो, टाटा सुमो, बलेरोदेखि लिलामीमा गाडी उठाउने र त्यसको च्यासिस भारतबाट ल्याएका चोरीका गाडीमा प्रयोग गर्दै आएको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । यस्तो धन्दा गर्ने दीपुलाई सहयोग गर्ने काम अपराध महाशाखामा कार्यरत प्रहरी जवान सुरेन्द्र कार्की भन्ने विपिन कार्कीले पनि गर्दै आएका छन् । कार्कीको मोटरसाइकल चोरी गर्ने गिरोहसँग राम्रो कनेक्सन भएकाले उनले दीपु श्रेष्ठलाई सहयोग गर्दै आएको प्रहरी स्रोत बताउँछ ।

गैरकानुनी रूपमा चारैतिर सीसी क्यामेरा

दीपुले मनकामना रिकन्डिसन हाउस वरिपरी निकै टाढासम्म देखिने गरी गैरकानुनी रूपमा सीसीटीभी क्यामेरा समेत राखेका छन् । उनको वर्कसप नजिकका रुखमा समेत सीसीटीभी छ । सीसीटीभी राखेर उनले चोरीका मोटरसाइकल किनबेच गर्दै आएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीलाई समेत मासिक रुपमा नजराना दिएर सूचना बाहक बनाएका छन् । यसरी निर्वाध रुपमा चोरीका गाडी र मोटरसाइकल बिक्री गर्ने काममा आफूलाई चितवनका पूर्वमाओवादी नेताको समर्थन रहेको भन्दै आएका छन् ।

उदयपुरका मिलनलाई प्रयोग गरी तस्करी

दीपुले पछिल्लो समयमा उदयपुर घर भएका श्याम थापा भन्ने मिलन लामालाई परिचालन गरी काठमाडौं बाट मोटरसाइकल चोरी गर्न लगाई चितवनमा ल्याई पाटपूर्जा परिवर्तन गरी नयाँ बनाएर पुनः काठमाडौंमै लगेर बिक्री गर्दै आइरहेका छन् । मिलन अहिले पनि चितवन आउने जाने गरिरहेका छन् । स्रोतका अनुसार चोरीका मोटरसाईकल २० देखि २५ हजारमा किनेर दीपुले एउटा ईञ्जिन र च्यासिस अर्कोमा फिट गरी डेन्टपेन्ट गरी नयाँ बनाउँदै नक्कली ब्लुबुक बनाएर १ लाखदेखि ब्रान्ड हेरी डेढ लाख रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । स्रोतका अनुसार दीपुको चोरीको गाडी चढ्नेमा एक जना केन्द्रियस्तरको टेलिभिजन चलाउने पत्रकार समेत रहेको बुझिएको छ ।

प्रहरी जवानदेखी एसएसपी सम्मलाई हातमा लिँदै तस्करी गराउँदै

चोरीका गाडी र मोटरसाइकल खरिद बिक्री गर्ने मुख्य नाइके भनिएका पश्चिम चितवनको जगतपुरस्थित मनकामना अटो एण्ड रिकन्डिसन वर्कसप जगतपुरका सञ्चालक दीपेन्द्र श्रेष्ठलाई पक्राउ गरी कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै चितवन प्रहरीले पटकपटक उन्मुक्ति दिँदै आएका छन् ।

चितवनमा जो प्रहरी प्रमुख परिवर्तन भएर आए पनि मासिक रूपमा घुस रकम दिई चोरीका मोटरसाइकल किन्ने र नक्कली ब्लूबुक बनाएर बिक्री गर्ने काम गर्दै आएका छन् । चितवनका तत्कालीन एसपी र हालका एसएसपी दीपक थापाका बदनाम घुमुवा असई कमल क्षेत्री भन्ने कमल परियार र प्रहरी जवान सुरेन्द्र कार्की भन्ने बिपिन कार्कीको प्रत्यक्ष संलग्नतामा उनको तस्करीको जालो झनै फैलिएको थियो । नामुद र बारम्बार विवादतमा आइरहने दीपुसँग असइ परियार र जवान कार्कीको राम्रो कनेक्सन रहेको स्रोतले बताएको छ ।

तत्कालीन समयमा चितवनको घुमुवा भएर मोटरसाइकल चोरदेखि तस्करहरुसँग राम्रो कनेक्सन र छवि बनाएका असइ परियारको बारेमा प्रहरी मुख्यालयको उजुरी छानबिन सम्म व्यापक विरोध हुन थालेपछि चितवनका तत्कालीन एसपी दीपक थापाले उनलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको रवाना दिन बाध्य भए । तर, हालै एसएसपीमा बढुवा भएका दीपक थापाले उनलाई अपराध अनुसन्धान महाशाखामा राख्न अनावश्यक दबाब दिए । उनको काम अहिले पनि दीपु श्रेष्ठदेखि विभिन्न धन्दा गर्ने ब्यक्तिहरुबाट रकम उठाएर एसएसपी दीपक थापालाई दिने काम हुँदै आएको छ ।

स्रोतका अनुसार चोरीका गाडी र मोटरसाइकलको कारोबार गर्ने दीपुको प्रहरीसँग कनेक्सन यस्तो कसिलो छ की दीपक थापा चितवनको एसपी हुँदा दिपु उनकै क्वाटरमा गएर खाना समेत खाने गर्दथे । त्यसक्रममा उनको राज नै चलेको कुरा अझै पनि चितवन प्रहरीभित्र चल्ने गरेको छ ।

चितवनमा जो प्रहरी प्रमुख आएपनि प्रभावमा पारी चोरीका गाडी र मोटरसाइकल खरिद बिक्री गर्दै आएका श्रेष्ठलाई पछिल्लो पटक स्वयं ललितपुर प्रहरी परिसरले ५ वटा चोरीका मोटरसाइकलसहित पक्राउ परेका तेजबहादुर तामाङको बयानका आधारमा दीपुलाई पक्राउ गर्न टोली नै खटाएको थियो ।

तर, उक्त टोली जान लागेको सूचना पहिले नै दीपुले थाहा पाए । स्रोतका अनुसार दीपुसँग पहिलेदेखि कनेक्सन भएका प्रहरीले एसएसपी रबीन्द्र धानुकलाई समेत आकर्षक घुस दिएर प्रभावमा पारियो । र, ललितपुर प्रहरीको टोली चोरीका मोटरसाइकल बिक्री गर्ने दीपु श्रेष्ठ नभेटिएको भन्दै फर्काइयो ।

पछिल्लो पटक ललितपुरका एसएसपी रवीन्द्र सिंह धानुक पनि मोटरसाइकल चोर दीपुको प्रभावमा परेका छन् । तेजबहादुर तामाङको बयानका आधारमा उनले चितवन पठाएको टोलीलाई बीचबाटै फर्काउनुले उनी दीपुको प्रभावमा परेको कुरालाई पुष्टी गर्दछ ।

तेजबहादुर तामाङले बयानका क्रममा मोटरसाइकल चोरीमा दीपु र सुमितको नाम लिएका थिए । मिलन र आफूले मोटरसाइकल चोरी गर्ने र दिपुको रत्ननगर नगरपालिकास्थित मनकामना अटो एण्ड रिकन्डिसन मा लगेर बिक्री गर्ने बयान दिएका थिए । त्यहीं बयानका आधारमा ललितपुर प्रहरीले दिपुलाई पक्राउ गर्न टोली खटाएको थियो । तर, त्यो टोली गएको सूचना पाएपछि दीपुले एक प्रहरी अधिकृत मार्फत ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र सिंह धानुकसँग सेटिङ मिलाएर पक्राउ नगरी फर्काउन सफल भएको स्रोत बताउँछ । तर, ललितपुर प्रहरीका प्रमुख भने दीपुलाइ कुनै हालतमा पक्राउ गरेरै छाड्ने उद्घोष गर्छन् । उनी भन्छन् , ‘सुमित लामालाई पक्राउ गरिसकेपछि दीपु श्रेष्ठलाई तत्कालै पक्राउ गर्छौं । मिलन बौद्धमा बस्ने गरेको सूचना पाएका छौं, केही दिनमै पक्राउ गर्नेछौं’, मिलन लामा विगत ५ बर्ष देखि फरार छन् ।

स्रोतका अनुसार दीपुको बिषयमा चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौर समेतलाई दुई दिन अगाडि प्रहरी मुख्यालयबाट फोन आएको र अब के गर्ने ? भन्ने बिषयमा बैठक डाकेको समेत खुल्न आएको छ ।

एसपी राठौरले दीपुको बिषयमा गहिरिएर अनुसन्धान गर्न र प्रमाण भेटेको आधारमा कुनै पनि हालतमा तुरुन्तै पक्राउ गर्न निर्देशन दिएकोले आफूहरु हाइ अलर्ट अवस्थामा रहेको र केही सूचना भए आफूलाई उपलब्ध गराउन र उपलब्ध गराएको खण्डमा तुरुन्तै नियन्त्रणमा लिइहाल्ने समेत स्रोतले बताएको छ ।

हामी दुई चार रुपैयाँमा लोभिने होईन, संगठनको नीतिनियम इमान्दारपुर्वक गर्नुपर्छ । ‘पहिले जे जे भयो भयो, अहिलेको एसपी साब कडा हुनुहुन्छ’, उनले भने, ‘गलत गरे कुनै हालतमा छाड्नु हुँदैन । त्यसैले, हामी सतर्क छौँ ।’

डिआइजी अधिकारीले बरामद गरेका थिए ५ वटा मोटरसाईकल

तराईका विभिन्न जिल्लादेखि काठमाडौंसम्म नेटवर्क बनाउँदै आएका दीपुलाई ललितपुर प्रहरी परिसरका तत्कालीन एसएसपी र हालका ५ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी पिताम्बर अधिकारीले तेज बहादुर तामाङ र मिलन लामालाई २ बर्षअघि ५ वटा चोरीका मोटरसाइकलसहित चितवनबाट पक्राउ गरेको थियो । उनीहरुले चोरीका मोटरसाइकल मनकामना अटो जगतपुरका दीपुुुलाइ बिक्री गर्ने गरेको बयान दिए । त्यससँगै मिलन लामा र तेजबहादुर तामाङले सुनका सिक्री लुटपाट गरेको तथ्य पनि खुल्यो । चोरीका गाडी, मोटरसाइकल मात्र होइन, लुटेको सिक्री पनि दीपुलाई नै बिक्री गर्ने गरेको बयान दिएका थिए ।

त्यहीं बयानका आधारमा दीपुलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले २०७३ पुस २ गते भरतपुर–४ बाट बरामद गरेको रातो रङको सुजुकी मारुती कार, बा४०प ६९५६, ना५प ४५९५, ग१प ९३०, ना१७प २८४९, बा३प ७९५०, लु४प ९८७३ लगायतका २४ वटा चोरीका मोटरसाईकल समेत दीपुकै भएको त्यतिबेला खुलेको थियो ।

आइजीपी खनाललाई नै टेर्दैनन् मातहतका प्रहरी

हालका आइजीपी सर्वेन्द्र खनाल अपराध अनुसन्धान महाशाखाको तत्कालीन प्रहरी प्रमुख हुँदा गाडी र मोटरसाइकल चोरको सञ्जालविरुद्ध धावा बोलेका थिए । उनले गाडी र मोटरसाइकल चोरी गर्ने, चोरीका गाडी र मोटरसाइकल खरिद बिक्री गर्ने गिरोह तहसनहस बनाएका थिए । त्यतिबेलादेखि नै मिलन लामा फरार छन् ।

प्रहरीले तहसनहस पारेको गाडी र मोटरसाइकल चोरी गिरोह पछिल्लो समयमा पुनः सल्बलाएको गुनासो आइजीपी खनालसमक्ष पनि पुगेपछि उनले पटकपटक त्यस्तो गिरोहलाई पक्राउ गर्न निर्देशन दिएका छन् । तर, मातहतका प्रहरी भने, पर्याप्त प्रमाणका आधारमा पक्राउ गर्न पठाएको टोलीलाई पनि बीचबाटो बाटै फर्काएको छ ।

फरार व्यक्ति मिलन लामा पक्राउ नपरेको भन्दै मुख्य नाइके दीपुलाई पक्राउ नगरी उन्मुक्ति दिएर प्रहरी टोली फर्किएपछि ललितपुर प्रहरी परिसर प्रमुख धानुक माथि औंला ठडिएको छ । पछिल्लोपटक आइजीपी सचिवालयमा चितवनको मनकामना रिकन्डिसन हाउसबाट चोरीका मोटरसाइकलदेखि स्कोरपियो बिक्री हुने गरेको थुप्रै उजुरी परेका छन् । तर, पनि चितवनका राजनीतिक दलका केही नेता र प्रहरीको संरक्षणमा दीपुले चोरीका मोटरसाइकल र गाडी बिक्रीको धन्दा निर्वाध चलाउँदै आएका छन् ।

अदालतबाट छुटेपछि तस्करीको झालो फस्टायो

मोटरसाइकल सहित पक्राउ परेका उनीहरु केही महिनापछि अदालतबाट अति न्यून धरौटीमा उनी छुटे । छुटेपछि पुनः चोरीकै गाडी र मोटरसाइकल खरिद बिक्रीको धन्दा गर्दै आएका छन् । तेजबहादुर तामाङले पक्राउ परिसकेपछि चोरीका मोटरसाइकल दीपु श्रेष्ठलाई प्रतिगोटा २० देखि २५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको बयान दिएका छन् । उनलाई प्रहरीले मुद्दा दायर गरी अदालतले २ लाख धरौटी मागेको छ । तर, दीपुले उक्त धरौटीको रकम समेत नदिएकाले उनी कैद सजाय भोगिरहेका छन् ।

दीपुको नाम पोलेपछि उनले आफूसँग कनेक्सन भएका प्रहरी हाकिम प्रयोग गरी तेजबहादुर तामाङलाई इन्काउन्टर नै गराउने सम्मको तयारी गरेको स्रोतले बताएको छ । सुमितलाई संरक्षण गर्ने काम दीपुले नै गर्दै आएका छन् । दीपुका विरुद्ध गाडी र मोटरसाइकल चोरीका मुद्दा काठमाडौं, ललितपुर, पोखरालगायतका अरु केही जिल्लामा पनि छन् ।

यसरी चोरीका गाडी र मोटरसाइकल खरिद बिक्री गर्ने गिरोहका नाइके दीपु श्रेष्ठको चितवनका हरेक प्रहरी प्रमुखसँग कनेक्सन बलियो भएकै कारण उनी जोगिँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र