February 28, 2019

हेलिकप्टर दुर्घटनामा पर्नु अघि मन्दिरका पुजारीले खुवाएका थिए चिया

 

फाल्गुन १६,ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव चिन्न सक्ने अवस्थामा छैन । भीरमा भएको दुर्घटनामा हेलिकप्टरमा लागेको आगोसँगै डढेर अँगार बनेको शव चिन्न सक्ने अवस्थामा नरहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार दुर्घटना भएका बखत हेलिकप्टर बजारिएको ठूलो आवाज आएको थियो । त्यस लगत्तै डीएसपी थापा नेत्रृत्वको टोली घटनास्थलतर्फ हिंडेको थियो । ‘दुर्घटनामा परे लगत्तै हेलिकोप्टरमा दनदनी आगो बल्न थालेछ । त्यही आगोले हेलिकप्टरसहित शव जलेर अँगार बनेका छन्,’ उनले भने, ‘कसैको पनि शव चिन्न सकिंदैन । कसरी पहिचान गर्ने भन्ने अर्को तनाव थपिएको छ ।’ हेलिकोप्टरसँगै टुक्राटुक्रा भएको अवस्थामा शवहरु बटुलेर ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका सबै शव नेपाली सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको छ । शवलाई काठमाडौं पठाउने तयारी भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । प्रजिअ भण्डारी पनि घटनास्थलमा पुगेका थिए । दुर्घटना भए लगत्तै स्थानीय बासिन्दा, सेना र प्रहरीले घटनास्थलमा पुगेर टुक्राटुक्रा भएका शव संकलन गरेका थिए । ‘उद्धारमा स्थानीय, सेना र प्रहरी खटिदाँसम्म दुर्घटनामा परेर टुक्राटुक्रा भएको हेलिकप्टरमा दनदनी आगो बलिरहेको थियो,’ प्रजिअ भण्डारीले भने, ‘उद्धारकर्मीहरुकै सक्रियतामा आगो निभाउने काम भयो ।’ आगोले जलेर हेलिकप्टरको पुच्छरको केही भाग बाहेक अरु ध्वस्त बनेको जानकारी उनले दिए । उनका अनुसार झमझम पानी परिरहेका बेला पनि हेलिकप्टरमा दनदनी आगो बलेको थियो । पानी र हिमपात परिरहँदा पनि झन् दन्किएको आगो नियन्त्रण गरेर थोरै भए पनि हेलिकप्टरको पुच्छरको भाग चैं बचाउन सकिएको प्रजिअ भण्डारीको भनाइ छ ।

ताप्लेजुङको पाथीभरा दर्शन गरेर हेलिकप्टर चढेर फर्किने क्रममा मन्त्री अधिकारीसहित सात जनाको दुर्घटनामा परेर दुखद् निधन भएको हो । एयर डाइनेस्टिको एएस ३५० हेलिकप्टर दिउँसो लगभग १ः२५ बजेतिर दुर्घटनामा परेको प्रहरीको अनुमान छ । दुर्घटनामा मन्त्री अधिकारी, उनका पिएसओ अर्जुन घिमिरे, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका सकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्न प्राधिकरणका ईन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टरका चालक प्रभाकर केसीको मृत्यु भएको प्रजिअ भण्डारीले बताए । उनका अनुसार मौसम एकदमनै खराव भएर कम भिजिविलिटीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

दिउँसो लगभग एक बजेतिरै मन्त्री अधिकारीसहितको टोली पूर्वकै प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुगेको थियो । मन्दिर नजिकै अवतरण भएको हेलिकप्टरबाट उत्रिएर टोलीले मन्दिरमा पूजा पाठ गरेको थियो । त्यस बेला ठूलै हावा चल्नुका साथै लगातार हिमापात भइरहेको मन्दिरका क्रममा डिल्ली आचार्यले बताए । हिमपात नरोकिएपछि मन्त्री अधिकारीसहितको टोली मन्दिरमै पुजारीसँगै आगो तापेर बसेका थिए ।

मन्त्री अधिकारीले चिया खाने इच्छा व्यक्त गरेपछि पुजारी आचार्यले चिया बनाउँदै गर्दा मौसम केही सफा भएको थियो । मौसम सफा भएको र फेरी मौसम विग्रन सक्ने भन्दै टोली त्यहाँबाट चिया नखाइकन उठेर हेलिकप्टरतिर अघि बढेको थियो । ‘म सँगै आगो ताप्दै मन्त्रीले चिया खाने इच्छा देखाउनु भएको थियो । मैले बसालेको चिया उम्लन लाग्दै गर्दा मौसम खुल्यो चाँडो जानु पर्छ भन्दै उहाँहरु हेलिकप्टर भएतिर अघि बढ्नु भयो,’ पुजारी आचार्यले भने, ‘चिया उम्लिएपछि मैले कुदाउँदै उहाँहरुलाई हेलिकप्टर छेउमै लगेर चिया दिएँ । धमाधम चिया खाएर सबै जना चढेपछि हेलिकप्टर यहाँबाट उडेको थियो ।’

उनले हेलिकप्टर उडेको एक मिनेट पनि वित्न नपाउँदै भीरमा केही पड्किएर जस्तो ठूलो आवाज आएको बताए । ‘हामीले तत्काल हेलिकप्टर दुर्घटनामा परेको हो भनेर अनुमान लगाउन सकेनौं । मौसम क्लियर नभएका कारण अलि परसम्म देख्न सक्ने अवस्था पनि थिएन,’ उनले भने, ‘केही समयमै मन्त्री चढेको हेलिकप्टर दुर्घटनामा परेको थाहा भयो । त्यसपछि उद्धारमा भन्दै सबै त्यतैतिर दौडिए ।’ उनले आन्तिम पटक आफ्नै हातबाट बनाएको चिया खुवाएर पठाएका मन्त्रीसहितका सात जनाको निधनको खवरर आफूलाई धेरै दुःख लागेको बताए । ‘मन्त्रीकै इच्छामा चिया खुवाउन भ्याएको थिएँ । उहाँहरुले हतारहतार गर्दै गर्दा कुदाउँदै लगेर चिया दिनसम्म चैं भ्याएँ,’ आचार्यले भने, ‘यो घटनाले सबैलाई स्तब्ध बनाएको छ । सबैका मन मरेका छन् ।’

तीर्थस्थलमा तीर्थयात्राका लागि आएका मन्त्रीसहितका उच्च पदस्थहरुको पाथीभराकै काखमा प्राण उडेको घटनाले सबैलाई संधै पोलिरहने र झस्काइरहने आचार्यको भनाइ छ । ‘भगवानले रक्षा गर्नु पर्ने ठाउँमा यस्तो अवस्था देख्न प¥यो,’ उनले भने, ‘देशका लागि केही गरौं र केही गर्नु पर्छ भन्ने स्पष्ट भिजन लिएर हिंडेका होहहार नेता गुमाउनु पर्दा सबैको मन रोएको छ ।’ आचार्यले मन्त्री अधिकारीलै आफूलाई चिया बनाउन आग्रह गरेको स्मरण गरे । ‘धेरै चिसो पनि भयो । हिउँ पनि बाक्लै पर्न थाल्यो । यस्तो अवस्थामा हेलिकप्टर उड्न पनि सक्दैन,’ मन्त्री अधिकारीले आगो ताप्दै आफूलाई भनेको कुरा उद्रित गर्दै पुजारी आचार्यले भने, ‘तपाईले साह्रै मिठो चिया बनाउनु हुन्छ भन्ने सुनेको थिएँ । हिमपातले तपाईको हातबाट बनेको चिया खाने अवर पनि जुराए जस्तो छ । ल राम्रोसँग चिया बनाएर सेवा गर्नुस् त ।’

यसअघि मन्त्री अधिकारीको टोलीले तेह्रथुमको आठराई चुहानडाँडास्थित थुम्कीमा बन्न लागेको विमानस्थलको अवलोकन गर्नका लागि पुगेको । तेह्रथुममा उनले तीन वर्ष भित्रमा विमानस्थल बनिसक्ने भन्दै सबैलाई आस्वास्त पारेका थिए । अधिकारीले तीन वर्ष भित्रमा विमानस्थल बन्ने कुरामा सबैलाई ढुक्क हुन आग्रह गरेका थिए । विमानस्थलको विस्कृति सर्भेका लागि एक साता भित्रमै प्राविधिकसहितको टोली पठाइहाल्ने प्रतिवद्धता पनि उनले जनाएका थिए । तीन वर्ष भित्रमा स्थानीय स्तरबाटै जहाज चढ्न पाइने भइयो भनेर खुसी भएका तेह्रथुमबासीले त्यसको केही बेरमै प्रतिवद्धता व्यक्त गर्ने मन्त्रीको हेलिकप्टर दुर्घटनामा परेर दुखद् निधन भएको खवर सुन्न परेको तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । ‘यहाँका जनतासहित हामीलाई ठूलो आस लागेको थियो । तीन वर्ष भित्रमा विमानस्थल बन्ने कुराले जिल्लाबासी खुसी भएका थिए,’ उनले भने, ‘त्यो खुसी एकछिन पनि टिक्न पाएन । दुखद् खवरपछि अहिले सबै स्तब्ध भएका छौं ।’ लिम्बूले विमानस्थलको विषयलाई लिएर जिल्लामा आउनु भएका मन्त्रीसहितको टोलीमा सहभागी सात जनाको दुखद् निधनको खवर तेह्रथुमे जनताका लागि संधै गढिरहने र यसले तेह्रथुमेलीलाई पोलिरहने भन्दै दुःख व्यक्त गरे । उनका अुनसार मन्त्री अधिकारीले आठराईमा आयोजित कार्यक्रममा छोटो समय बोेलेपछि टोलीमा सहभागीहरु खाना खाएका थिए ।

खाना खाएपछि पाथीभरा दर्शनका लागि भनेर मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङतिर उडेको लिम्बूले बताए । ‘यति दुखद् खवर सुन्नु पर्दा मन वेचइन भएको छ,’ उनले भने, ‘तेह्रथुमेलीलाई तीन वर्ष भित्रमा विमानस्थल दिन्छु भनेर जनतालाई खुसी पार्नु भए लगत्तै मन्त्रीको अवसानको खवर सही नसक्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए