January 21, 2018

कर तिर्दैनन् नेपालका डन ‘जुवाघर’ : अदालतले नै डुबायो राज्यको १ अर्ब ३२ करोड

 

काठमाडौं । होटल याक एण्ड यतिले सञ्चालन गरेको क्यासिनो रोयलले कर नतिरेपछि सरकारले यो क्यासिनो बन्द गरिदियो । तर, यसका सञ्चालक बन्द गर्ने सरकारको निर्णयसँगै क्यासिनो खुलाई पाऊँ भन्ने व्यहोराको निवेदन बोकेर अदालतको दैलोमा पुगे । ०७२ कात्तिक २३ गते क्यासिनोको पक्षमा फैसला गर्दै सर्वोच्चले क्यासिनो सञ्चालनमा कुनै अवरोध नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी ग¥यो ।  
त्यसयता यो क्यासिनो विनाअवरोध सञ्चालन भइरहेको छ । रमाइलो त के छ भने सर्वोच्चको फैसला पछि उसलाई कर नतिरे पनि छुट हुने भएको छ । यही कारण क्यासिनो रोयलले झण्डै ११ करोड ८७ लाख कर बुझाएको छैन । 

क्यासिनो रोयल जस्तै गरी कर नतिरेपछि होटल ¥याडिसनमा रहेको क्यासिनो ¥याडको गेटमा सरकारले भोटे ताल्चा झुण्ड्याइदियो । राज्यले व्यवसाय बन्द गरिदिएपछि यसका सञ्चालक पनि आफूमाथि अन्याय भएको निवेदन बोकेर अदालतको ढोका ढक्ढक्याउन पुगे । र, उसैगरी ‘स्टे’ अर्डर ल्याउन सफल भए । अहिले यो क्यासिनो यही अन्तरिम आदेशका भरमा सञ्चालनमा छ । आदेशसँगै कर बक्यौता र राजस्व भनेर हैरानी दिने राज्यबाट उसलाई हाइसञ्चो भएको छ ।

माथिका दुई उदाहरण नेपालमा सञ्चालित क्यासिनोहरूको नियत बुझ्न पर्याप्त छन् । यी दुई उदाहरणले आफ्नो दायित्व र कर्तव्य पूरा नगरी खल्ती मात्रै भरिरहेका क्यासिनोहरूको लुटधन्दा मात्रै छर्लंग पारेको छैन, राज्यको निरीहता र नीति नियमको समेत बेस्सरी धज्जी उडाएको छ । उदेक लाग्दो कुरा त के छ भने राज्यको करोडौं रुपैयाँ क्यासिनोहरूको बदनियतका कारण गुम्ने अवस्थामा पुगे पनि सरोकारवालाहरू चुप लागेर बसिरहेका छन् । पर्यटन विभागका अनुसार, एक दर्जनभन्दा बढी क्यासिनो राज्यलाई कर नतिरी यसैगरी सञ्चालन भइरहेका छन् । यी क्यासिनोहरूले राज्यलाई तिर्नुपर्ने कर र राजस्वको दायित्व करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबर भएको विभागको तथ्यांकले देखाउंछ । क्यासिनो सञ्चालकले अदालतको फेरो समात्ने र अदालतले पनि चोरलाई चौतारो, साधुलाई सुली भनेजस्तो गरी फैसला गरिदिँदा करोडौं राजस्व जोखिममा पर्दै गएको छ ।

सके अन्तरिम आदेश, नभए नयाँ 

राज्यलाई गुमराहमा राखेर लुट मच्चाइरहेका जुवाघरका सञ्चालकहरूले तिर्नुपर्ने रकम नतिर्न गर्ने गरेको चलाखी पनि उत्तिकै उत्तिकै रोचक छ । उनीहरूले सकेसम्म अदालतबाट अन्तरिम आदेश ल्याउन प्रयास गर्ने र त्यसो नभएमा पुरानो बन्द गरेर नयाँ खोल्ने जुक्ति निकालिरहेका छन् । यसको पछिल्लो उदाहरण होटल मल्लमा खुल्न लागेको क्यासिनो बिल्लिज हो । क्यासिनोहरूको सञ्चालन अनुमति र नियमन गर्ने निकाय पर्यटन विभागले यसअघि कर नतिरेपछि त्यहाँ सञ्चालनमा रहेको क्यासिनो भेनस बन्द गरिदिएको थियो । अहिले पनि उक्त क्यासिनो बन्द अवस्थामा छ । तर, यसका सञ्चालक राज्यलाई कर छल्न चोर बाटो अपनाउँदै नयाँ नाम राखेर क्यासिनो खोल्न ठिक्क परेर बसेका छन् । होटल मल्लभित्र बिल्लिज क्यासिनो सञ्चालन हुन लागेको हो । पर्यटन विभागले समेत यसलाई सञ्चालनको अनुमति दिइसकेको बताइएको छ । यसबाट क्यासिनो भेनसको नाममा रहेको सात करोड ६५ लाख बक्यौता के हुने भन्ने गम्भीर प्रश्न उत्पन्न भएको छ ।

कसले कति रकम तिर्न बाँकी ?

राज्यलाई गुमराहमा राखेर लुट मच्चाइरहेका जुवाघरको कुरा गर्दा क्यासिनो रोयल अग्र पंक्तिमा आउँछ । यो क्यासिनोले सरकारलाई तिर्नुपर्ने रकम ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ । तैपनि, उसले अदालतको वैशाखी टेक्दै दायित्त वहन गर्न आनाकानी गर्दै आएको छ । विभागले ताकेता गर्दासमेत यसले अदालती आदेश देखाउंदै कर तिर्न आनानकानी गर्ने गरेको विभाग स्रोत बताउँछ । 
 विभागका अनुसार होटेल अन्नपूर्ण इन्टरनेसनमा रहेको क्यासिनोले ११ करोड ६९ लाख, एभरेस्ट होटेल प्रालिमा रहेको क्यासिनोले १० करोड ३५ लाख र नेपाल रिक्रिएसन सेन्टरका सञ्चालक राकेश बाध्वाले ५३ करोड ५० लाख रुपैयाँ तिरेका छैनन् । 

ह्याप्पी आवर प्रालिले ६ करोड ९३ लाख र फूलबारी रिसोर्टले २४ करोड ६६ लाख रुपैयाँ बुझाउन पनि आनाकानी गरिरहेका छन् ।

विनियमावली रद्दीको टोकरीमा 

राज्यलाई कर नतिरेर केही क्यासिनोले हराभरा खेलाइरहेका बेला केहीले भने अनुमति एउटाको लिने र त्यसविपरीत कार्य गर्दै आएका छन् । त्यसको गतिलो उदाहरण क्यासिनो रक इन्टरनेसनल हो । यसले भैरहवाको होटेल बोधी रेडसन, वीरगञ्जको होटेल सुरज, काँकडभिट्टाको होटेल रियाज र धनगढीको होटेल साथीमा क्यासिनो चलाइरहेको छ । क्यासिनो विनियमावलीमा अनुमतिका लागि इजाजत पत्र लिँदा ठूलाले दुई करोड र मिनी क्यासिनोले १ करोड रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ । तर, केही क्यासिनोले अनुमति एउटाको लिएर काम अर्कैको गर्दै आइरहेका छन् । आर्थिक विधेयक ०७४÷७५ मा क्यासिनोले वार्षिक तीन करोड र मिनीले ७५ लाख तिर्नुपर्ने उल्लेख छ । यद्यपि, वर्षौंदेखि सञ्चालनमा रहेका क्यासिनोहरूले कर तिर्न नसक्ने भन्दै अटेरी गरिरहेका छन् । रोचक त के छ भने अदालतको मानहानी हुने डरले विभागले समेत यस्ता राजस्वमारा क्यासिनोहरूलाई कारबाही गर्न खुट्टा कमाउने गरेको छ । यति मात्रै होइन, यस्ता जुवाघरको प्रभावमा परेर साथ दिनेहरू पनि उत्तिकै छन् ।

वैध पनि छन् 

अधिकांश क्यासिनोले कर र राजस्व नबुझाए पनि केही यस्ता क्यासिनोहरू छन्, जुन सरकारले तोकेको नीति र नियमकै परिधिमा छन् । यसरी वैध तरिकाले सञ्चालनमा रहेका क्यासिनोहरूमा अन्नपूर्णको क्यासिनो प्यालेस, होटल हायातको प्राइड र सांग्रिलाको मिलिनियर्स क्लब छन् । भैरहवाको क्यासिनो टाइगर पनि वैध क्यासिनोमै पर्छ । 

कुमारी चोक अड्डासँग 

विभागको गुहार 
बाँकी कर र राजस्व उठाउन कस्सिएको विभाग भने जुवाघरहरूले टेरपुच्छर नलाएपछि हत्तु भएको छ । क्यासिनो सञ्चालकसँग उठाउनुपर्ने रकम असुल्न असफल भएको विभागले बाँकी बक्यौता उठाउने कुमारी चोक अड्डालाई गुहारेको छ । 

विभागका उपसचिव सविनराज ढकाल विभागले गरेको प्रयत्नले कर र राजस्व नउठेपछि कुमारी चोक अड्डालाई गुहारेको बताउँछन् । ‘हामीले क्यासिनोसँग लिनुपर्ने रकम असुल्न निकै प्रयत्न ग¥र्यौं,’ उपसचिव ढकालले भने, ‘तर, हामीले नसकेपछि सरकारी वक्यौता उठाउने कुमारी चोक अड्डालाई लेखेर दिएका छौं । अहिले त्यही कार्यालयले ताकेता गरिरहेको छ ।’ ढकालले अदालतको अन्तरिम आदेशलगायत विविध कारणले क्यासिनोहरूलाई नियमको परिधिमा ल्याउन नसकिएको समेत स्वीकारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए