(जीवनको ज्ञान त्यसैलाई हुन्छ जसले धेरैभन्दा धेरै ठक्कर खाएको हुन्छ । ठक्कर नखाइ जीवनको रहस्य थाहा हुन्न भन्छन् । धेरै ठक्करले मान्छे बनिन्छ भन्ने पनि छन् । धेरै ठक्कर खाएपछिमात्र मान्छे बनेका हुन् सिन्धुली जरायोटारका २८ वर्षे युवा यदुशंकर विक । गाडीलाइनमा छिर्नुभन्दा अगाडि नै दुःखको सागरमा पौडी खेलेका यदुले त्यसपछिमात्र आफूलाई सफल भएको ठान्छन् । त्यसैले त ८ कक्षासम्मको अध्ययन गरे पनि उनलाई कुनै पछुतो छैन । बा २ ज ३१२० नम्बरको ट्याक्सीका स्वरोजगार विकसंग सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिले लिएको अन्तर्वार्ताको मुख्य अंश–सम्पादक)
साँघु साप्ताहिक, कसरी आउनु भयो गाडी लाइनमा ?
यदुशंकर विक–जीवनमा धेरै हण्डर खाइयो अनि बल्ल यो लाइनमा आएँ ।
साँघु–यो लाइनमा कसरी भयो त प्रवेश ?
यदुशंकर विक–मैले सानै उमेरमा ज्यामी काम पनि गरें । होटलमा भाँडा पनि माझें । फर्निचरमा पनि काम गरें । जहाँजहाँ गरें दुःखमात्र पाएँ । त्यसपछि फुपूको छोराले गाडीमा लगाइ दिनुभयो । त्यसपछि १२÷१३ वर्षदेखि यही लाइनमै छु ।
साँघु–के गर्नुभयो गाडीमा पहिला ?
यदुशंकर विक–पहिला त खलासी नै हो । डेढ वर्षजति मैले खलासी गरें । स्वयम्भू यातायातमा । त्यसपछि मैले लाइसेन्स लिएर त्यही स्वयम्भू यातायात नै चलाएँ एक वर्षजति ।
साँघु–त्यसपछि नि ?
यदुशंकर विक–त्यसपछि त म कतार गएँ । साढे ५ वर्ष कतारमै बसेर काम गरें ।
साँघु–के काम गर्नुभयो कतारमा ?
यदुशंकर विक–सानो गाडी चलाएँ । माइक्रोबस चलाएँ । मिनिबस चलाएँ । नेपालमै लञ्चसमेत नभएको कारसमेत चलाएँ ।
साँघु–के फरक छ नेपाल र कतारको गाडी लाइनमा ?
यदुशंकर विक–आकाश पातालको फरक छ । कतारमा गाडी लाइनमा १०० प्रतिशत सुरक्षा छ । नेपालमा गाडी लाइन ९९ प्रतिशत असुरक्षित छ ।
साँघु–कसरी असरक्षित नि ?
यदुशंकर विक–त्यहाँ अर्बपतिले पनि गाडीलाई साइड दिन्छ । तर यहाँ त बाइक वालाले पनि हेप्छन् । त्यहाँ ड्राइभरको निकै सम्मान छ । यहाँ ड्राइभरलाई कुकुरको भन्दा घटिया व्यवहार गरिन्छ । त्यहाँ दुर्घटनामा परियो भने १० मिनेटभित्र एम्बुलेन्स आइ पुग्छ । एम्बुलेन्स नपुगे हेलिकप्टर पुग्छ । यहाँ दुर्घटनामा परियो भने जनताले ड्राइभर कुट्न थाल्छन् । गाडी जलाइदिन्छन् ।
साँघु–कतारमा सडक दुर्घटनामा पर्नुभएको छ ?
यदुशंकर विक–एकपटक परें । मैले चलाइरहेको गाडीको अगाडिको गाडी ठोक्कियो । मैले उसलाई ठोकें र पछाडिबाट आउने गाडीले मलाई ठोक्यो । मानवीय क्षति भएन । हामी प्रहरी कहाँ गयौं । घटनाको बर्णन गर्यौं । अनि आफ्नो आफ्नो गाडीको इस्युरेन्स थियो त्यसमार्फत गाडी बनायौं । केही नै भएन । त्यहाँ कानूनी राज्य र विधिको शासन छ ।
साँघु–त्यहाँका मान्छे कस्ता छन् ?
यदुशंकर विक–उनीहरू ९५ प्रतिशत इमानदार छन् । यहाँ त नेपालीहरू आफै कमाइ गरौं । आफै खाऔं भन्ने खालका मात्र छन् । यहाँका यात्रु पनि त्यस्तै चरित्रका छन् । तर मैले त्यस्तो समस्या यहाँ भोगेको छैन । केही जँड्याहालाई भने उठाएर हिंडेको छु ।
साँघु–कतारबाट फर्केपछि के गर्नुभयो त ?
यदुशंकर विक–कतारबाट फर्केपछि दुई वटा ट्राभल एजेन्सीमा काम गरें । पहिले ६ महिना एम्पल ट्राभल्स र त्यसपछि शुभकामना ट्राभल्समा गाडी चलाएँ । त्यसपछि संयुक्त राष्ट्र संघका लागि दोलखामा साइट अफिसमा साँढे दुई महिना काम पनि गरें । युएनमा काम गर्दा मजा आउने । सबै विदेशी शैली । यतिसम्म कि नेपालको जुनसुकै हाइ वे मा ८० किलोमिटर प्रतिघण्टामा नबढाइकन गाडी चलाउनु पर्ने । त्यसपछि मैले ट्याक्सी चलाउन थालें । एक वर्ष भन्दा बढी भइसक्यो ट्याक्सी चलाउन थालेको ।
साँघु–ट्याक्सीको राम्रो पक्ष के हो ?
यदुशंकर विक–ट्याक्सी त एम्बुलेन्स सरह हुन्छ । कुनै ठाउँमा त एम्बुलेन्सभन्दा छिटो उपलब्ध हुन्छ ।
साँघु–ट्याक्सीको नराम्रो पक्ष नि ?
यदुशंकर विक–सबै पक्ष कहाँ राम्रो हुन्छ र ? मान्छे पनि सबै राम्रा हुन्छन् भन्ने छैन । सबै ड्राइभरको व्यवहार राम्रो हुन्छ भन्ने छैन ।
साँघु–यसमा सुधार गर्न के गर्नुपर्छ होला ?
यदुशंकर विक–सुधार गर्नु जरुरी नै छ । नेपालमा सडक यात्रा सबैभन्दा जोखिमपूर्ण छ । विद्वान पनि राम्रोसंग सडकमा हिंड्न जान्दैन । यहाँका ड्राइभर पनि त्यस्तै छन् । यहाँको सडक जोखिम चाडो हटाउनु पर्छ । त्यसका लागि लाइसेन्स वितरण प्रक्रियालाई कडाइ गर्नुपर्छ । लाइसेन्स वितरण र नविकरणमा उमेर हद राख्नुपर्छ । सीटीइभीटीले जस्तै सिकाउनु पर्छ । त्यसो भयो भने दुर्घटना पनि कम हुन्छ ।
साँघु–के रहेछ त ड्राइभरको जिन्दगी ?
यदुशंकर विक–ड्राइभरको जिन्दगी त अरुको नजरमा आरामदायी तर नेपालमा जोखिमपूर्ण । यो जत्तिको जोखिमपूर्ण पेशा नेपालमा अरु छैन होला ।
साँघु–कति पढ्नु भएको छ नि ?
यदुशंकर विक–८ कक्षासम्म पढेको छु ।
साँघु–कम पढेर पछुतो छैन ?
यदुशंकर विक–छैन । आखिर पढेपछि पनि गर्ने यही नै हो । समय र परिस्थितिअनुसार जुन ठाउँमा हुनुपर्ने हो त्यही ठाउँमा छु जस्तो लाग्छ । मेरा धेरैजसो साथीहरूको मेरो भन्दा पनि कमजोर अवस्था छ । केही भने अगाडि नै छन् ।
साँघु–भोलिको सोच ?
यदुशंकर विक–खासै केही छैन । सके नेपालमा केही गर्ने हो नसके विदेश त छँदैछ ।
साँघु–राजनीतिप्रतिको रुची कत्तिको छ नि ?
यदुशंकर विक–राजनीतिप्रति रुची छैन । चासो पनि छैन । मन पर्दैन । राजनीति त फोहरी खेलजस्तो लाग्छ । राजनीतिमा सत्य र सज्जन भेटिंदैन । जहाँ पनि पैसा नभइ काम बन्दैन ।
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज
जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका