४ साउन,दैलेख – घरभन्दा टाढा रहेको सानो कटेरो । न ढोका छ, न राम्रोसँग बारेको । वर्षात्को पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ । वरिपरि पुराना बोरा झुन्ड्याएर भित्ता बनाइएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । ती भित्तारूपी बोराले न हावा छेक्छन्, न पानी नै ! खोलाको किनारमा रहेको यही कटेरो अर्थात् (छाउगोठमा) मृत्युसँग सम्झौता गर्दै १४ वर्षीया कृष्णकला विक रात बिताउन बाध्य छिन् ।
महिनावारी भएकी दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका लैनचौर निवासी कृष्णकलालाई परिवारले घरभित्र सुत्न नदिएपछि ज्यानको बाजी नै थापेर उनी छाउगोठमा सुत्न बाध्य भएकी हुन् । केही दिनपहिले मात्र गाउँकै तुल्सी शाहीको छाउगोठमै सर्पले टोक्दा ज्यान गएको थियो । आफ्नै दौंतरीको छाउगोठमा ज्यान गुमेको देखेकी कृष्णकलालाई छाउगोठमा सुत्न पटक्कै मन छैन । तैपनि, सामाजिक त्रास र परिवारको दबाबका कारण उनलाई छाउगोठमा रात बिताउन बाध्य पारिएको छ ।
मलिन अनुहार, त्रसित मानसिकता र पीडाले थलिएको अवस्थामा छाउगोठमा भेटिएकी कृष्णकलाले भनिन्, ‘मैले के अपराध गरें र ? यो सजाय भोग्दै छु । छाउगोठमा सुत्न डर लाग्छ तर घरभित्र सुत्नै दिँदैनन् ।’चिसो भुइँमा ओछ्याइएको बोरामाथि रात कटाउँदै आएकी उनले भनिन्, ‘मर्न त डर लाग्छ नि, अरू केही हुने पो हो कि ? ‘ संयोगले उनी छाउगोठमै थिइन् । क्यामेराका लेन्स तेस्र्याउनै लाग्दा केही तर्सिएकी उनी पछि भने अलि सहज भइन् ।
उनी ‘पाखा सरेको’ तेस्रो दिनमा हामीले त्यही छाउगोठअगाडि पाइला टेकेका थियौं । अहिलेसम्म चार पटकसम्म उनले त्यही छाउगोठमा बिताइसकेकी छिन् ।महिनावारी भएको दोस्रो रात उनलाई छाउगोठमै किराले टोकेपछि परिवारमा रुवाबासी नै चल्यो । सर्पले टोकेको ठानेर आफन्तले उपचारका लागि हारगुहार नै गरे । पछि थाहा भयो, उनलाई अर्कै किराले टोकेको रहेछ । ‘म त यसपालि भाग्यले बाँचे, सर्पले टोकेको भए जीवन नै सकिने थियो’, कृष्णकलाले भनिन्, ‘घरभित्र सुत्दा देउता बिग्रिन्छन् रे, गाई भैंसीले पनि दूध दिँदैन भन्छन् । आमाबालाई मभन्दा भैंसी प्यारो भयो, पाप गरेजस्तै सजाय दिइएको छ, छाउ भएँ त पाप ग¥या हो र? ‘
छाउगोठमा दुईजना किशोरीको ज्यान गएपछि स्थानीय महिला र किशोरीहरू त्रसित बनेका छन् । तर, सामाजिक बहिष्कारमा पर्ने डर र ‘देउता रिसाउने’ त्रासका कारण महिलालाई छाउगोठमै सुत्न बाध्य बनाइएको छ । अँध्यारो रातमा छाउगोठमा एक्लै सुत्न डर लाग्ने गरेको भन्दै कृष्णकलाले आफूहरूको ज्यानै धरापमा रहेको सुनाइन् । बाहिर सुत्न डर लाग्ने गरेको बताउँदै उनले भनिन्, ‘मलाई पनि बाँच्ने रहर छ, छाउगोठमा कतिबेला के हुने हो ? थाहा नै छैन, अब त घरभित्रै सुत्ने चलन आए पनि हुन्थ्यो ।’ कक्षा १० सम्म अध्ययन गरेकी उनलाई महिनावारी सामान्य प्रक्रिया हो भन्ने थाहा छ । तैपनि, परिवारका अन्य महिला सदस्यजस्तै उनस् पनि छाउगोठमा सुतेको चार पटक भइसकेको छ ।
उनी भन्छिन्, ‘देउताको नाममा महिनावारी बार्न लगाएका छन् तर देउताले पनि न्याय देलान्जस्तो छैन । मृत्युसँग सम्झौता गरेर कहिलेसम्म गोठमा सुत्ने, हामीलाई अब न्याय कसले दिन्छ ? ‘छाउगोठमा सुतेकी छोरीलाई मध्यरातमा किराले टोकेपछि आमा निमा विकले छिमेकीसँग उपचारका लागि हारगुहार नै गरिन् । छोरीले पुनर्जन्म पाएको भन्दै निमाले भनिन्, ‘पहिलेबाटै चलेको संस्कार हो, हामी पनि छाउगोठमै सुत्दै आएका छौं । महिनावारीका बेला घरभित्र पस्दा अनर्थ हुन्छ, छोइछाइ भए घरभित्र पनि सर्प आउँछन् ।’
आफ्नो घर मन्दिर नजिक रहेको र लसपस हुँदा देउता रिसाउने भएकाले छोरीलाई घरभित्र सुत्न नदिएको उनको भनाइ छ । ‘घरभित्र सुत्न मिल्दैन, यो छाउगोठमा छोरी असुरक्षित भई’, उनले भनिन्, ‘पाँच दिनसम्म बार्नुपर्छ, यहाँ त सुताउँदिन । अब छिमेकीको घरमा सुत्न पठाउँछु, उनीहरू क्रिस्चियन धर्म मान्ने भएकाले महिनावारी बार्र्दैनन् ।’
छाउगोठमा सुत्दा असुरक्षित भएको र ज्यानै गुमेका घटनाले पीडित परिवारमा छाउपडी कुप्रथा हो भन्ने लाग्न थालेको छ । तर, आफूहरूले छाउगोठ अवज्ञा गर्दा समाजले बहिष्कार गर्ने त्रासका कारण पनि उनीहरू महिनावारीका बेला महिलालाई घरभित्र सुताउने आँट गर्दैनन् । निमाले भनिन्, ‘छोरीभन्दा भैंसी त ठूलो होइन, देउताले पनि न्याय देलान्जस्तो लागेन । म त घरभित्रै सुताउने थिएँ, छाउ नबार्दा समाजले हामीलाई नै बहिष्कार गर्छ ।’
एक÷दुई जनाले मात्र सम्भव नहुने भन्दै उनले आफूहरूले चाहेर पनि छाउगोठ हटाउन सक्ने अवस्था नरहेको उल्लेख गरिन् । जिल्लाको पश्चिम क्षेत्रमा अहिले पनि छाउपडीको कुप्रथा कायमै छ । अन्धविश्वासका कारण यहाँ महिनावारीको समयमा महिलालाई घरदेखि टाढा रहेको छाउगोठमा सुताउने गरिन्छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको