काठमाडौंको ट्राफिक व्यवस्थापनबारे जनार्दनदेखि कुलमानसम्मले के भने ?

Janardan-Sharma-and-Kulman-Ghising
काठमाडौँ, २ असार । गृहमन्त्री जनार्दन शर्माले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन काठमाडौँ उपत्यकाका करिब २०० स्थानमा यातायात सङ्केत बत्ती राख्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा शुक्रबार आयोजित काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरकारी निकाय सँगको छलफलमा गृहमन्त्री शर्माले छोटो र सरल विधिबाट उपत्यकामा यातायात सङ्केत बत्ती राख्न निर्देशन दिँदै भने, ‘काठमाडौँका २०० चोकमा सङ्केत बत्ती जडान गरौँ, त्यसका लागि कति खर्च लाग्छ ? त्यसको समग्र हिसाब किताब उपलब्ध गराउनुस् ।’

ट्राफिक सङ्केत बत्ती राख्न दातृ निकायको मुख ताक्न नहुने उल्लेख गर्दै उनले सरकार आफैँले सडकमा बत्ती बाल्न नसक्ने हो भने त्योभन्दा लाजमर्दो स्थिति अरू हुनै नसक्ने उल्लेख गरे । सड्क विभाग, यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, लगायतका सरकारी निकायका प्रमुखलाई मन्त्री शर्माले तीन दिनभित्र ट्राफिक व्यवस्थापनको योजना पेस गर्न निर्देशन दिए ।

मन्त्री शर्माले भने, ‘काठमाडौँ उपत्यकामा आकाशे पुलको टेन्डर गरिहाल्नुस्, दुई–चारवटा पुल बनाउने पैसा पनि छैन सडक विभागसँग ?,’ मन्त्री शर्माले प्रश्न गर्दै भने, ‘पैसोको व्यवस्थापन म गरिदिन्छु ।’

यातायात व्यवस्था विभागका महानिर्देशक गोपाल सिग्देललाई मन्त्री शर्माले उपत्यकाका ८०० स्थानका जेब्रा क्रसिङको रेखाङ्कन कम्तीमा १५ दिनभित्र सिध्याउन निर्देशन दिए । उपत्यकाको अस्तव्यस्त ट्राफिक व्यवस्थापन सुधार्न पहिले ठूला बस हालेर सानालाई विस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै उनले भने, ‘सड्कसँगै जोडिएका पेट्रोल पम्प विस्थापनका लागि सूचना दिऔँ र नयाँ आधारमा सुधारको प्रयास थालौँ ।’

छलफलका क्रममा नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले अव्यवस्थित पार्किङ हटाउनुपर्ने तर ठेक्कामा दिन नहुने बताए । उनले भने, ‘सशुल्क पार्किङमा गुन्डाराज भयो, सिन्डिकेट पनि प्रमुख समस्याका रुपमा रहेको छ, त्यसलाई पूर्ण रुपमा हटाउन कडा रुपमा प्रस्तुत हुनु जरुरी छ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यालय समयमा सार्वजनिक सवारी मात्रै चल्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले उपत्यकामा पार्किङको समस्या ठूलो रहेको उल्लेख गर्दै त्यसलाई व्यवस्थापन गर्न सके ट्राफिक समस्या धेरै हदसम्म समाधान हुने बताए ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङ्मार लामाले उपत्यकाका १८ स्थानमा आकाशे पुल बनाइए समस्या समाधान हुन सक्ने धारणा राखे । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यो वा त्यो नभनीकन फुटपाथको व्यापार हटाउने बताए । उनले भने, ‘फुटपाथका व्यापारीसँग हाम्रो मिलेमतो पो छ कि भनेर जनताले प्रश्न उठाएका छन्, बस स्टप हैन स्टेसन बनाऔँ, चढाउन र ओराल्नेबाहेक एक मिनेट पनि सवारी रोक्न नदिने पद्धति विकास गरौँ ।’ रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत