३१ बैशाख काठमाडौं । बैशाख ३१ गते विहानै घामको झुल्कोसँगै देशमा ३४ जिल्लामा मतदाताहरुको लाइन लाग्न थालिसकेको हुनेछ । र, २० वर्षपछि नेपाली जनताले स्थानीय सरकारका प्रतिनिधिहरु आफ्नै हातले छनोट गर्नेछन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाताहरुलाई आग्रह गर्दै भनेका छन्ः आइतबार एकदिन दुःख कष्ट सहेर भए पनि राष्ट्रका लागि मतदान गरिदिनुस् ।
देशमा २० वर्षपछि आउन लागेको राष्ट्रिय उत्सवलाई आफ्नै आँखाले हेर्ने सौभाग्यबाट राष्ट्रकी अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारी वञ्चित भइन् । स्थानीय निर्वाचनकै बेला पारेर विदेश भ्रमणमा रहे पनि उनले शनिबार देशबासीलाई सम्झेकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार विदेशबाटै मतदाताहरुलाई अपील गर्दै निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन सबैमा आग्रह गरेकी छिन् ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पनि शनिबार नै देशबासीका नाममा अपील जारी गर्दै मतदाताहरुलाई निर्भिक भएर चुनावमा सहभागिता जनाउन आग्रह गरेका छन् ।
दुई चरणका हुन लागेको स्थानीय तहको निर्वाचनमा तीनवटा प्रदेश चुनावी सागरमा चुलुम्मै डुबिरहँदा बाँकी ४ वटा प्रदेशका जनताले व्यग्रतापूर्वक हेरिरहेका छन् र उनीहरु दोस्रो चरणको मतदान गर्ने दिन जेठ ३१ गते कहिले आउला भनेर प्रतिक्षारत देखिन्छन् ।
विभिन्न जिल्लामा मतदाता नावाली रहेर राजधानीमा बसोबास गर्ने मतदाताहरु केही दिन यतादेखि शनिबार साँझसम्म आ-आफ्नो जिल्लामा जानका लागि गाडीमा खचाखच भइरहेका दृश्यले निर्वाचनमा बढ्दो जनसहभागिता र उत्साहलाई संकेत गरेको छ ।
कहाँ-कहाँ हुँदैछ चुनाव ?
त्यसैगरी ४ नम्बर प्रदेश अन्तरगत गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, तनहँु, कास्की र नवलपरासीको केही भागमा आइतबार चुनाब हुँदैछ ।
पहिलो चरणको मतदानमा ६ नम्बर प्रदेशका जनताले पनि भाग लिँदैछन् । यस अन्तरगत डोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, हुम्ला, मुगु, कालीकोट, दैलेख, जुम्ला र रुकुमको केही भागमा चुनाव हुँदैछ ।
चर्चाको शिखरमा ४ महानगर
पहिलो चरणको चुनावमा सबैभन्दा चर्चाको शिखरमा देशका चारैवटा महानगरपालिका परेका छन् । देशको राजधानीका साथै सबै महानगरमा पहिलो चरणमै चुनाव हुन गइरहेको छ । यसमा पनि राजधानी शहर काठमाडौंको परिणाम कस्तो होला भन्ने धेरैलाई चासो छ । प्रमुख दलहरुले पनि काठमाडौंलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
काठमाडौंपछि भरतपुर महानगरपालिकाको निर्वाचनमा धेरैको चासो र कौतुहल देखिएको छ । भरतपुरमा मानिसहरुको ध्यान जानुको कारण के हो भने त्यहाँ प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल मेयरमा उठेकी छिन् । र, कांग्रेसले माओवादीलाई मेयरमा सघाउने घोषणा गरेको छ । कांग्रेस-माओवादी गठबन्धनको प्रतिवादमा एमाले एक्लै मैदानमा उत्रिएको छ ।
भरतपुरमा प्रधानमन्त्रीपुत्री एवं सत्तारुढ गठबन्धनलाई प्रतिपक्षीले हराउँछ या माओवादीले कांग्रेसको बलमा चुनाव जित्छ भन्ने प्रश्न रोचकमात्रै छैन, रोमाञ्चक पनि छ ।
पर्यटकीय नगरी एवं देशकै ठूलो महानगरपालिका रहेको पोखरा लेखनाथ महानगरपालिकाको निर्वाचन पनि कांग्रेस र एमालेवीचको प्रतिष्ठाको प्रश्न बनेको छ । पोखराको मेयर पदका लागि माओवादीले कांग्रेसलाई सघाएको छ । र, त्यहाँ पनि भरतपुरमा जस्तै दुई सत्तारुढ दलसँग एमालेले एक्लै प्रतिस्पर्धा गर्न लागेको छ ।
काठमाडौं र भरतपुरमा जस्तै पोखरा महानगरको निर्वाचनले मुख्य दलहरुको भावी राजनीतिमा निणर्ायक अर्थ राख्ने छ । ४ नम्बर प्रदेशको सम्भावित राजधानी मानिएको पोखराको चुनावमा सिंगै प्रदेशको राजनीतिक भविश्य जोडिएको छ प्रमुख दलहरुका लागि ।
राजधानीसँग जोडिएर पनि ललितपुर महानगरपालिका भने अन्य तीन महानगरको तुलनामा अपेक्षाकृत कम चर्चामा देखिएको छ । ललितपुरमा कांग्रेस र माओवादी एक्ला एक्लै चुनाव लडेका छन् भने राप्रपाले एमालेसँग तालमेल गरेको छ ।
वामपन्थीहरुको पुरानो गढ मानिने ललितपुरमा कसले बाजी मार्ला भनेर पूर्वानुमान गर्न निकै कठिन छ । पछिल्लो समय कांग्रेसले आफ्नो प्रभाव बढाएको तर, एमालेले राप्रपासँग तालमेल गरेका कारण दुबै दल बलिया प्रतिस्पर्धी हुन् । तर, ०६४ को संविधानसभामा राम्रो पोजिसन ल्याएको माओवादीले पनि ललितपुरमा आफूलाई बलियो प्रतिस्पर्धी दाबी गरेको अवस्था छ ।
चर्चामा एकमात्र उपमहानगरपालिका
देशभरिका १३ वटा उपमहानगरपालिकामध्ये पहिलो चरणमा एउटा मात्रै उपमहानगरमा चुनाव हुँदैछ, त्यो हो-हेटौंडा उपमहानगरपालिका ।
हेटौडा उपमहानगरपालिका राप्रपा अध्यक्ष कमल थापाको गृहनगर भएकाले पनि यहाँको चुनावी हारजीतलाई धेरैले चासो दिएको पाइन्छ । त्यतिमात्रै नभएर मध्यमाञ्चलको औद्योगिक केन्द्र मानिने हेटौंडा सहर आफैं पनि देशको प्रमुख शहर हो ।
हेटौडामा सत्तारुढ नेपाली कांग्रेस र माओवादीवीच चुनावी तालमेल भएको छ भने एमाले र राप्रपा एक्ला एक्लै चुनाव लडिरहेका छन् ।
तीनवटा प्रदेशका ३४ जिल्लामा हुन गइरहेको पहिलो चरणको निर्वाचनका केही तथ्यांकहरु यस्ता छन्ः
पहिलो चरणमा २८३ स्थानीय तहमा चुनाव हुँदैछ । यस अन्तरगत ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिका छन् ।
पहिलो चरण अन्तरगत कुल मतदाता संख्या ४९ लाख ५६ हजार ९ सय २५ रहेको निर्वाचन आयोगले जनाएको छ ।
यो निर्वाचनबाट कुल २५९८ वडाध्यक्ष, १०३९२ वडा सदस्यसहित १३ हजार ५६५ जनप्रतिनिधिहरु चुनिँदैछन् । यीमध्ये दुई गाउँपालिका अध्यक्षसहित ३१६ जनप्रतिनिधिहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रथम चरणको चुनावमा साढे १३ हजार जनप्रतिनिधिका लागि ४९ हजार ३ सय ३७ जना उम्मदेवारहरु चुनावी मैदानमा छन् ।
सुरक्षाकर्मी र कर्मचारीहरुको विन्यास
भोलि मतदाता तथा उम्मेदवारलाई झण्डै ६८ हजार सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । यो पटक नेपाली सेनालाई ब्याकअपका रुपमा खटाइने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भने, ‘सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएका छौं । भोलिको मतदानमा ढुक्क भएर आफ्नो मत प्रयोग गर्न सबैलाई अपील गर्न चाहन्छु ।’
गृहमन्त्री निधीका अनुसार चुनावका लागि ६७ हजार ९१६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उनका अनुसार २२ हजार ५६९ नेपाल प्रहरी, १७ हजार २५६ सशस्त्र प्रहरी परिचालन गरिएको छ । ३८३ राष्ट्रिय अनुसन्धान विभाग र २२ हजार ६०२ म्यादी प्रहरी परिचालन गरिएको छ ।
थप ५ हजार जनशक्ति पनि परिचालन गरिएको उपप्रधान तथा गृहमन्त्री निधीले जानकारी दिए ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित