मेचीकाली जोड्ने लोकमार्गको यस्तो छ प्रगति

अर्जुन पोख्रेलcreate_thumb

काठमाडौं, वैशाख ३ – राजनीतिक अस्थिरताका कारण विकास निर्माणको कामले गति लिन नसक्दा जता फर्के पनि निराश लाग्छ । तर देशभित्रै केही काम उत्साहजनक रुपमा पनि भैरहेका छन् । आशा र उत्साह जगाउने एउटा यस्तै विषयमा हामी केहीदिन चर्चा गर्नेछौं । त्यो हो–पूर्व–पश्चिम नेपालका पहाडी जिल्ला जोड्ने मध्यपहाडी लोकमार्ग । 

कतै कतै अवरोध भएपनि पूर्वदेखि पश्चिम नेपालका पहाडी जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गमा उत्साहजनक रुपमा काम भइरहेको छ । पाँचथरको चियोभञ्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटमा गएर टुंगिने मध्यपहाडी लोकमार्गले मध्यपहाडका जिल्लाको काँचुली फेर्न थालिसकेको छ । खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै श्रँृखला अन्तरगत मध्यपहाडी राजमार्गको आवश्यकता, यसको प्रगति र उपलब्धी यो लेखमा समावेश छ ।

मध्यपहाडी लोकमार्गको परिकल्पना र परिचय

पूर्व–पश्चिम राजमार्गले तराईका केही जिल्लाको मात्रै काँचुली फेरिएको तर मध्यपहाडका जिल्लाको जीवनस्तर उकासिन नसकेको गुनासो बढेपछि राष्ट्रिय यातायात नीति २०५८ मा मध्यपहाडी लोेकमार्गको कल्पना गरिएको थियो । कल्पनामा मात्रै रहेको मध्यपहाडी राजमार्गमा आर्थिक बर्ष २०६४/६५ देखि भने काम नै हुन थाल्यो । पाँचथरको चियोभञ्ज्याङबाट सुरु भएर नेपाल भारत सिमानामा पर्ने बैतडीको झुलाघाटमा टुंगिने लोकमार्गले २९ जिल्लाका झण्डै २ सय ५० वटा  साना शहर जोड्दै १ करोड भन्दा धेरै नागरिकको जीवनस्तर उकास्दैछ । यो लोकमार्ग बनेपछि पुवदेखि पश्चिम जोड्नको लागि अहिलेको पुर्व पश्चिम राजमार्गको अर्को विकल्प तयार हुनेछ ।

यो लोकमार्गबाट पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे र रामेछापका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । यस्तै नुवाकोट, गोरखा, धादिङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख अछाम, डोटी, डडेल्धुरा, र बैतडीका लाखौं नागरिकले पनि यो लोकमार्गबाट प्रत्यक्ष फाइदा उठाइरहेका छन् । लोकमार्गको लागि  जागरकोटमा २ सय मिटर बाहेक अरु ठाउँमा ट्रयाक खोल्ने काम सकिएको छ । केही ठाउँमा पिच भइसकेको छ भने धेरै ठाउँमा धुलो उडाउँदै गाउँ गाउँमा गाडी हुँइकिरहेका छन् । लोकमार्गलाई २ खण्डमा राखेर काम भइरहेको छ ।

पूर्वी खण्ड

१७ सय ८६ किलोमिटर लामो मध्यपहाडी राजमार्गलाई २०६८ देखि पूर्व र पश्चिम गरी २ खण्डमा छुट्याएर काम भइरहेको छ । पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे र रामेछापलाई पूर्वी खण्डमा राखेर काम  भैरहेको छ  ।

पूर्वी खण्डको ६ सय ८९ किलोमिटरमध्ये ५८ किलोमिटर पक्की र १ सय किलोमिटर ग्राबेल गरिएको छ । लोकमार्ग अन्तर्गत पूर्वी खण्डका ५८ वटा पुलमध्ये २० वटाको काम सकिएको छ, २० वटा बन्दैछन् भने १८ वटा पुलको डिजाइनको काम हुँदैछ । 

पूर्वी खण्डमा पनि ४ खण्डमा विभाजन गरेर तिव्र रुपमा काम भइरहेको छ । 

  • फिदिम खण्ड – ११२  किलोमिटर
  • म्याङलुङ खण्ड – १४० किलोमिटर
  • भोजपुर खण्ड – २६२ किलोमिटर 
  • सिन्धुली खण्ड – १७६ किलोमिटर

 जम्मा : ६९० किलोमिटर

पूर्वी खण्डको काम सन्तोषजनक भइरहेको मध्यपहाडी लोकमार्गको पूर्वी खण्डका आयोजना प्रमुख  सतेन्द्र शाक्य बताउनुहुन्छ ।

‘हामीले जुन लक्ष्य लिएर काम गरिहरेका छौं त्यो लक्ष्य अनुसार काम भही रहेको छ, यहि गतीमा काम भइरहेमा तोकिएको समय आर्थिक वर्ष २०७७/७८ भित्रमा हामीले पूर्वी खण्डको काम सम्पन्न हुने पक्का छ’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘विभिन्न खण्ड बनाएर काम गरिहरेका छौं सबै खण्डको काम तोकिएकै मितिमा सकिनेछ ।’ पूर्वी खण्डको वित्तिय प्रगति पनि फागुन मसान्तसम्म ७२ प्रतिशत भइसकेको छ । 

पश्चिम खण्ड

नुवाकोटको पातीभज्याङ मध्यबिन्दु रहेको मध्यपहाडी लोकमार्गलाई गोरखा, धादिङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख अछाम, डोटी, डडेल्धुरा, र बैतडीलाई पश्चिम खण्डमा राखेर काम भैरहेको छ । पश्चिमी खण्डमा पनि काम उत्साहजनक रुपमा भइरहेको छ ।

पश्चिम खण्डका १४ जिल्लामा १ हजार १७ किलोमिटरमध्ये ३ सय ३७ किलोमिटर अरु आयोजनाबाट काम भइरहेको छ भने ७ सय ६० किलोमिटर मध्यपहाडी  आयोजना अन्तर्गत पर्छ । त्यसमध्ये ३७ किलोमिटर सडक कालोपत्रे भैसकेको छ भने जाजरकोटमा २ सय मिटर बाहेक सबै ठाउँमा ट्रयाक खोलिएको छ । ८० वटामध्ये ४८ वटा पुल बनिसकेका छन् । पश्चिमी खण्डको पनि काम दु्रत गतिमा भैरहेको पश्चिमी खण्डका सिनियर डिभिजनल इन्जिनियर बद्रिप्रसाद शर्मा बताउनुहुन्छ ।

‘हाम्रो पश्चिम खण्डमा पनि काम सन्तोषजनक रुपमा भैरहेको छ,जाजरकोटको एकठाउँमा बाहेक ट्रयाक खनिसकिएको छ, सवैतिर सञ्जाल बनिसकेको छ’ उहाँले भन्नुभयो ।

विकासको नयाँ ढोका खोलिँदै

लोकमार्ग बन्न थालेपछि मध्य पहाडी जिल्लाका बासिन्दालाई पूर्व–पश्चिम राजमार्गमै झर्नुपर्ने बाध्यता हटेको छ । गाउँगाउँमा धुलो उडाउँदै गुड्ने गाडीमा पहाडका हरिया तरकारी, फलफूल र जडिबुटी तराईमा  झार्न सजिलो भएको छ भने तराईका सामानले पहाडका पसल भरिभराउ भएका छन् ।

सामान मात्र होइन पहाड र तराईका नागरिकको आवतजावत पनि बढ्दो छ । एक जिल्लादेखि अर्को जिल्लाको सम्बन्ध जोडेको छ । मध्य पहाडी लोकमार्गमा सरकारले १० वटा नयाँ सहर बनाउने काम पनि थालेको छ । मध्यपहाडी लोकमार्गले मध्यपहाडी क्षेत्रको विकास गर्ने र आर्थिक चहलपहल बढाउने, भौतिक पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्य बताउनुहुन्छ । 

‘मध्यपहाडी लोकमार्ग नेपालको रणनितिक महत्वको सडक हो, सरकारले यसलाई राष्ट्रिय गौरवको राजमार्ग भनेर काम गरिरहेकोले पनि यसको महत्व प्रष्टै हुन्छ’ पूर्वाधारविद्  आचार्यले भन्नुभयो, ‘यो एउटा मेरुदण्डिय राजमार्ग हो, हाम्रै पुजी,हाम्रै प्राविधक र हाम्रै सिप प्रयोग गरेर बनाइएको यो सडक हेरेर हामीले गर्व गर्न सक्नुपर्छ ।’

नेपालको लगानी ः शतप्रतिशत वित्तिय प्रगति 

मध्यपहाडी लोकमार्ग नेपाल सरकार आफैले बनाइरहेको राष्ट्रिय गौरवको आयोजना हो । सरकारले हरेक बर्ष बजेट छुट्याउँछ, इन्जिनियर र प्राविधिक पनि नेपालकै छन् । पुँजिगत खर्च निकै कमी भयो भनेर निराशाजनक रिपोर्ट सार्वजनिक भइरहँदा मध्यपहाडी लोकमार्गले भने शतप्रतिशत वित्तिय प्रगती हाँसिल गर्दै आएको छ ।

मध्यपहाडी लोकमार्गका पूर्वी र पश्चिमी खण्डले नै छुट्याइएको सबै बजेट खर्च गरेर विकासको राम्रो नमुना पेश गरेका छन् । चालु आर्थिक वर्ष २०७३/७४ मा सरकारले २ अर्ब ८८ करोड रुपैयाँ बजेट दिएको थियो । त्यसमध्य पूर्वी खण्डमा १ अर्ब ४४ करोड र पश्चिमी खण्डमा १ अर्ब ४४ करोड रुपैयाँ दिइएको थियो । पूर्वी खण्डले फागुन मसान्तमै बजेट सकेर अर्थ मन्त्रालयमा थप बजेट माग गरेको छ । 

यस्तै पश्चिमी खण्डले पनि बजेट सक्ने अवस्थामा पुर्‍याएको छ । पश्चिमी खण्डले पछिल्ला २ वटा आर्थिक वर्षमा वित्तिय तथा भौतिक प्रगति शतप्रतिशत सम्पन्न गरेको भन्दै सडक विभागले प्रशंसापत्र पनि दिएको छ ।

कतै कतै अवरोध तर निरासा भन्दा आशा धेरै

मध्यपहाडी लोकमार्गका केही ठाउँमा मुआब्जासम्बन्धी विवाद, जलाशययुक्त जलविद्युत आयोजना, वातावरणीय अध्ययन प्रक्रिया झन्झटिलो लगायतका कारणले विवाद पनि भैरहेको छ । खानेपानीका पाइप, बिजुलीका पोल र ढलका कारण पनि केही ठाउँमा काम ढिलो भैरहेको छ । जाजरकोट लगायतका केही ठाउँमा कडा चट्टानका कारण पनि कामले गति लिएको छैन् ।

तर पछिल्ला २ वटा आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको पश्चिम खण्डले शतप्रतिशत वित्तिय प्रगति हासिल गरेर पुरस्कृत समेत भएकाले निराशा भन्दा आशा गर्ने ठाउँ धेरै छ । यस आर्थिक वर्षमा पनि मध्यपहाडी लोकमार्गको लागि सरकारले छुट्याएको २ अर्व ८८ करोड रुपैयाँ पनि सबै खर्च हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न हुने लक्ष्य लिइएको मध्यपहाडी लोकमार्ग बेलैमा सम्पन्न भएमा मध्यपहाडको विकासले ठूलै फड्को मार्ने देखिन्छ । 

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै श्रृँखलाको अर्को अंकमा  पाँचथर तेह्रथुम र धनकुटामा मध्यपहाडी लोकमार्गमा भइरहेको प्रगति र उत्साहबारेको सामग्री प्रस्तुत गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल