लालटिन पर्व र चिनियाँ रसबरी

अजय अलौकिक
चिनियाँले परम्परागत पात्रो अनुसार, पहिलो चन्द्रमासको पन्ध्रौँ दिनमा युआनस्याओ पर्व मनाउँछन् । यस पर्वमा लेस्याइलो चामलको पिठोको डल्लो खाने परम्परागत प्रचलन रहि आएको छ । जसलाई युआनस्याओ भनिन्छ । चिनियाँ भाषामा युआनमानको अर्थ सबै कुरा चित्त बुझ्दो भइदिओस् भन्ने कामना हो । साथै पहिलो चन्द्रमासलाई युआन महिना भन्ने गरिन्छ र स्याओको अर्थ रात हुन आउँछ । त्यसकारण नयाँ वर्षको पहिलो पूर्णिमाको रातमा लिस्याइलो चामलको पिठोको डल्ला खानु भनेको परिवारका सबै सदस्य सधैँ मिलेर बसुन्, खुशी र सन्तुष्ट रहुन् भन्ने रहेको छ । साथै यस डल्लालाई थाङयुआन या थाङथुआन भन्ने पनि गरिन्छ । जहाँ थाङको अर्थ झोल र युआन भन्नाले गोलाकार हो जसबाट रसमा डुबेको डल्ला भन्ने बुझिन्छ र देख्दा रसबरी÷रसभरी । अनि पूर्णिमाको रात चन्द्रमा पनि पूर्ण गोलो नै देखिन्छ । त्यसैगरी थुआनको उच्चारणले पनि गोलो, समूह र मेलमिलापको अर्थ बुझाउने भएकाले सुख र मेलमिलापको प्रतीकको रुपमा चिनियाँहरू वसन्त पर्वोत्सवमा सपरिवारसँगै बसेर थाङयुआन खाने चलन चल्दैआएको छ । यो युआनस्याओ खाने प्रचलन सोङ्ग राजवंश(९६०–१२७९) कालमा शुरु भएको मानिन्छ ।chinese rasbari-1 chinese rasbari-2 chinese rasbari-3 DSC_0957
साधारणतया यो गोलाकार डल्लोमा चिनी र किसमिसहरु हालिएको हुन्छ । यसलाई उमालेर बनाइन्छ र झट्ट हेर्दा रसबरीजस्तै देखिन्छ तर यो रसबरीजस्तै रसले भरिपूर्ण भने हुँदैन । यस चिनियाँ रसबरीको आफ्नै विशेषता छ । विशेषत चामलको पिठोबाट बनाइने लेसिलो लेदोको डल्लोभित्र किसमिस मात्र नभइ अरु खाद्यपदार्थ पनि राख्ने गरिन्छ । यसरी डल्ला भर्न चिनी र गेडागुडीको लेदो, बयर, नागफनी र विभिन्न प्रकारका फलफुलहरू राखिन्छ । आफ्नो रुचि र स्वाद अनुसार गुलियो, नुनिलो, वा मासु तथा सागसब्जी पनि डल्ला भित्र राख्न सकिन्छ । जसबाट यो एक लोकप्रिय खाना बनेको छ । साथै चामलको पिठो मात्रै होइन मैदा, जुनेलोको पिठो, पहेंलो चामलको पिठो र मकैको पिठोबाट पनि डल्ला बनाउने गरिन्छ ।
त्यसैगरी यस डल्लालाई पकाएर, भुटेर, बफाएर, तेलमा तारेर या झोलसँग खान सकिन्छ । त्यस्तै विभिन्न रङ्गमा बनाइएका डल्ला हेर्दा आइसक्रिमका डल्ला जस्तो पनि देखिन्छ । विभिन्न स्वाद र विविध किसिमले पकाएर खाने यो डल्लालाई उत्तर र दक्षिण चीन गरेर पनि छुट्टाउन सकिन्छ । उत्तरी चीनको युआनस्याओ भराइको आधारमा बनाइएको हुन्छ । सबैभन्दा पहिला भित्र राखिने खाद्यवस्तुलाई राम्ररी मिसाएर मुछिन्छ र स–सानो गोलो बनाइन्छ र हल्का सुख्खा भएपछि चिप्लो चामलको पिठोले निकै पातलो किसिमले छोप्ने गरिन्छ । दक्षिण चीनमा बनाइने थाङयुआन पूरै फरक हुन्छ । यो मःम या योमरी बनाए जस्तै गरी भित्र खाद्यवस्तु भरिन्छ र मुख बन्द गरी दुवै हातले घुमाउँदै थिच्दै लड्डु बनाए सरी गोलो बनाइन्छ । यस पिठोमा प्रशस्त पानी हुने भएकोले निकै चिपचिप हुन्छ त्यसकारण थाङयुआन तयार गरिसाथ चाँडै पकाएर खानु राम्रो मानिन्छ । यसबाट चीनको उत्तरी र दक्षिणी भागमा युआनस्याओ र थाङयुआन दुई भिन्न खाना झैं भएको छ ।
यसै वसन्त चाडको अवधिबीच विभिन्न पार्कमा भव्य बत्तीको मेला लालटिन मेला पनि लागिरहेको हुन्छ । यस युआनस्याओेको अर्को विशेषता भनेको लालटिन मेला हो जहाँ भव्य र विविध आकारप्रकारका लालटिन बत्तीको मजा लिँदै र गाउँ खाने कथा जस्तै पहेली खेल्दै र चिनियाँ रसबरी खाँदै लालटिन पर्व मनाउने प्रचलन रहिआएको छ । जसरकारण यस युआनस्याओेलाई लालटिन पर्व पनि भन्ने गरिन्छ ।
युआनस्याओे सपरिवार मिलनको प्रतीक भए तापनि यसपछि पूर्व वर्षको अन्तिम आठ दिनको सुरसारदेखि नयाँ वर्ष शुरु भएपछिको पन्ध्रौं दिनको चाड यूआनस्याओ या लालटिन पर्वसम्मको तीन साता लामो वसन्त पर्वोत्सव सकिन्छ र लामो विदा लिएर परिवार भेट्न आएकाहरू भोलिको बिहानसँगै आआफ्ना बाटो लाग्छन् । र अर्को चाडको प्रतीक्षामा रहन्छन् ।

युआनस्याओे “चिनियाँ रसबरी” बनाउने कार्यक्रममा सहभागी
यो पङ्क्तिकारलाई पैचिङको बसाइमा एक पटक युआनस्याओ बनाउने मौका पनि जुरेको थियो । चीनको केन्द्रीय टेलिभिजन सिसीटिभीले पैचिङमा बस्दैआएका केही विदेशीहरूलाई विश्वकै अग्ला टावरमध्येका एक ४०५ मिटर अग्लो सिसीटिभी टावरको अठारौँ तल्लामा रहेको रिभोल्भिङ रेस्टुराँमा यस्तो अवसर जुटाएको थियो । त्यहाँ हामी विदेशीले सेफको इशारामा आफ्ना रुचि अनुसारका खाद्यपदार्थ भरेर युआनस्याओ बनाएका थियौं ।
सर्वप्रथम युआनस्याओ देखेर मन प्रफुल्लित बनेको थियो । यहाँ पनि रसबरी मनले यसै भनेको थियो । रसबरी जस्तो देखिने रसले भरिपूर्ण सेता डल्ला । तर त्यो सामान्य झोल मनतातो पानी मात्र रहेछ । मुखै नमीठो । एकै क्षणमा रसबरीको मिठासबाट हजारौं कोश पर । यथार्थ अर्कै । त्यो पटक्कै मन नपरे पनि पछि आफैले बनाएका डल्लाहरू भने स्वाद लिइलिइ खाएँ । एक त यो रसबरी होइन भन्ने जानियो त्यसबाहेक आफैँले आफ्नो स्वाद अनुसार आफूलाई मनपर्ने खाद्यवस्तु भित्र भरेर खान पाएपछि के चाहियो त ? त्यस बाहेक डल्ला पनि सेता मात्रै होइन अरु रङ्गका पनि थिए जसले गर्दा आइसक्रिमको स्कूप या आइसक्रिमबलजस्तै आकर्षक पनि देखिन्थ्यो र भराइ स्ट्रबेरीको लेदो छ भने त मनतातो स्ट्रबेरी आइसक्रिम सरह नै हुने भइगयो । यसरी आआफ्ना स्वाद अनुसार उपस्थित विदेशीले पैचिङको दृश्यसाथ युआनस्याओ बनाएर युआनस्याओ पर्व मनाए ।
हरेक वर्षको लालटिन पर्वमा म चिनियाँ रसबरी सम्झिन्छु । यस वर्ष यही फेब्रवरी ११ तारिख उक्त युआनस्याओ पर्व परेको छ ।
(पैचिङ, जन गणतन्त्र चीन)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने