March 4, 2017

मोटरसाइकल चालक र अधिकृतहरुमा नशा च्यापिने समस्या बढ्यो

डा. प्रविण श्रेष्ठ

उमेर बढ्दै गएपछि नसा च्यापिने समस्या देखा पर्छ । अस्वस्थकर जीवनशैली तथा उमेर पुगेका ४० देखि ६० वर्ष उमेर समूहका तथा प्रौढमा नसा च्यापिने समस्या बढि हुन्छ । तर नेपालको सन्दर्भमा युवा समुहमा पनि नसा च्यापिने समस्या देखापरेको छ । आजका युवा पुस्ता मोटरसाइकल तथा साइकलमा हिँड्ने र बाटो पनि खराब भएको कारण मोटरसाइकलले बढी उफार्दा यस्तो समस्या आउन थालेको हो ।

कच्चि र खाल्डाखुल्डी भएको सडकमा साइकल र मोटरसाइकलले जति उर्फाछ, हाम्रो शरीरको कम्मर वा ढाड थचारिँदा नसा च्यापिने समस्या चाँडै आउँछ । जसले युवापुस्तामा नसा च्यापिने समस्या पनि बढ्दै गइरहेको पाईन्छ ।

कसरी च्यापिन्छ नसा ?

कम्मर बन्नका लागि मेरुदण्डको विशेषगरी लम्बर भटेब्रा र स्याक्रम भटेब्राको बिचमा हुने एक लचकदार बस्तु डिस्क मेरुदण्डको साइडमा मांसपेशी र नशाको प्रमुख भूमिका रहन्छ ।  दुईवटा मेरुदण्डको बिच भागमा रहेको डिस्क एक लचकदार वस्तु हो । जसले कम्मर चलाउन मद्दत गर्छ ।

दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बिचबाट डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ । जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको अर्थात इनभर्टिब्रटल डिस्क प्रोल्याब्स भन्ने गर्छौं ।

नसा च्यापिने मूल कारण भनेकै खराब आसन हो । यसबाहेक अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि यस्तो हुन्छ । अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिँड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डोमा मोटरसाइकल चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, धुमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरू, डाक्टर, प्रहरी, कार्यकारी अधिकृतहरू, बैंकर्सहरूजस्ता पेसामा संलग्न पेसाकर्मीमा यस्तो समस्या बढि हुन्छ ।

धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडी लागेका व्यक्तिहरू, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्य धेरै देखिएको छ । यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाँडै खिइने, सुनिने र घोटिने हुन्छ । फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठाउँ छाडेर नसा च्याप्न पुग्छ ।

यस्तै बाहिरी दुर्घटनाले पनि नसा च्यापिने समस्या आउँछ । दुर्घटना हुँदा नसा बस्ने हड्डी चिप्लिदा हड्डि फुस्कीएर त्यस भित्र भएको नसा च्यापिने हुन्छ जसले गर्दा मानिस पूर्ण रुपमा प्यारालाईसिस हुन सक्छ ।

कुन कुन ठाउँमा च्यापिन्छ नसा ?

कम्मर र गर्धनका साथै हातको हत्केलामा नसा च्यापिने हुन्छ । जसले गर्दा हात लाटो हुने, दुख्ने, झमझमाउने हुन्छ । त्यस्तै खुट्टाको पैतलामा पनि नसा च्यापिन सक्छ । पैतालाको नसा च्यापिँदा पैतला पोल्ने, च्यापिएको ठाउँमा दुख्ने हुन्छ ।

लक्षण

नसा च्यापिदै जाँदा हल्का दुखाई पनि बढ्दै जान्छ । हात खुट्टा पनि झमझमाउँदै जान्छ । धेरै नसा च्यापिन थालेपछि त्यसको दुखाई पनि बढी हुने गर्दछ । नसा मर्दै जानेक्रममा नसा च्यापिने क्रम पनि बढ्छ, त्यस बेलाको दुखाई पनि धेरै हुने गर्दछ । नसा च्यापिँदै जाँदा प्यारालाईसिस हुने सम्भावना हुन्छ । कम्मरमा नसा च्यापिएको छ भने त्यसको असर खुट्टामा देखा पर्दछ भने गर्धनमा नसा च्यापिएको छ भने त्यसको असर हातमा देखा पर्दछ ।

नसा च्यापिएर नसाको क्रिया अवरुद्ध हुन जाँदा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढाड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ । समस्या बढ्दै गएमा, औंलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुन सक्छ । समस्या गम्भीर भए मलमूत्र बिसर्जनमै समस्या देखा पर्न गई तुरुन्त आपतकालीन व्यवस्थापन गर्नुपर्ने पनि हुन सक्छ ।

उपचार पद्धति

नसा च्यापियो भन्दैमा धेरै डराउनुु पर्दैन । ठूलो रोग लाग्यो भन्ने सोच्न पनि हुँदैन । यसका लागि सुरुसुरुमा सामान्य उपचार गर्दै जानुपर्छ । सामान्य उपचारले पनि ठीक हुन्छ । पहिला औषधी खाने र साथ साथै फिजियोथेरापी पनि गर्ने गर्नाले नसा च्यापिएको रोग ठीक हुन्छ ।

शल्यक्रिया यसको अर्को उपचार प्रक्रिया हो । नसा च्यापिने क्रम बढ्दै जाँदा दुखाई मात्र नभई समस्या पनि बढ्दै जान्छ । जसको अन्तिम उपाय भनेको शल्यक्रिया हो । सबै नसा च्यापिने समस्याको शल्यक्रियाले निको हुन्छ भन्ने होइन, तर समस्या बढ्दै जाँदा स्थायी समाधानको उपाय भनेको शल्यक्रिया नै हो ।

रोग छिप्पिंदै गएपछि, हात खुट्टा नचल्ने भईसकेपछि गरेको शल्यक्रियाले काम गर्दैन । अनि शल्यक्रिया गर्दापनि रोग निको भएन भनेर दोष दिने बाटो रहन्छ । शल्यक्रिया गर्नुपर्छ कि पर्दैन भन्नेकुरा विज्ञ डक्टरलाई सोधेर मात्र गर्नुपर्छ । नेपालको सन्दर्भमा डक्टरले भन्ने भन्दा पनि सामान्य मान्छेले फैलाएको हल्लाको भरमा मानिसले औषधी उपचार गर्ने गरेका छन् । विज्ञ डक्टरले भनेका कुरा बाहेक सामान्य नागरिकले भनेको कुरा गलत हो ।

रोकथामका उपाय

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस भनेजस्तै हामीले यो रोग लाग्नबाट बच्नको लागि नियमित व्यायाम गर्ने बानी बसालौं । व्यायामले हाड र जोर्नीलाई बलियो बनाउनुका साथै ढाडलाई तन्दुरुस्त बनाउन मद्दत पु¥याउँछ ।

नसा च्यापिसकेको अवस्था छ भने विज्ञ डक्टरको सल्लाह लिएर मात्र व्यायाम गर्नु उत्तम हुन्छ । एउटै आसनमा बसेर काम गर्ने व्यक्तिमा पनि नसा च्यापिने समस्या आउन सक्छ । सामान वा भारी वस्तु उठाउँदा सावधानी अपनाउनुपर्छ । अग्लो तथा हिल जुत्ता लगाउँदा पनि नसा च्यापिने समस्या आउने गर्दछ ।

निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नुपर्दा घुँडा खुम्च्याएर कम्मरलाई नमोडी विस्तारै उठाउनुपर्छ । शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राख्नुपर्दछ । विशेषत : पेटलाई बढ्न नदिऔं, यसले ढाडमा अतिरिक्त दबाब दिन्छ । ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गर्नुपर्दछ । कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरुले मोटरसाइकल नचलाउँदा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि