टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी बस्नु हुन्छ । त्रिपालको छेउमै सार्वजनिक धाराबाट बगेको ठुलो पानीको आहाल छ । मौसमी चिसो बढ्दै छ । भूकम्पबाट त भागेर जोगियौँ तर चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले उहाँलाई सताइरहेको छ ।

स्थानीय पाँच जना र सडक बनाउन बसेका छ जना गरेर ११ जनाको ज्यान छेपारेमा भूकम्पले लियो । उहाँले भन्नुभयो, “बच्चा छ, त्रिपालबाट रातभर पानी चुहिन्छ, भुइँबाट पनि पानी रसाइरहेको छ, खोकी लाग्न थालिसक्यो ।” हिउँद सुरु हुन लाग्दा चिसो स्याँठ चल्न थालेको छ । त्यसलाई त्रिपालले नधान्ने स्थानीय बताउँ छन् ।

दुई जना वृद्ध भूकम्प प्रभावितको चिसोले मृत्यु नै भयो । उहाँहरू दीर्घरोगी भएकाले पनि चिसो सहन नसकेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय खलङ्गाले जनाएको छ ।

छेपारे र चिउरीमा नागरिक आवाज नामक संस्थाले गाउँमा खानाको मेस चलाइदिएको छ । सबै गाउँले बिहान बेलुकाको खाना त्यहीँ खान्छन् । नखाने आफैँ बाहिर पकाउँछन् । सडक छेउका सबै घर छेपारेका खण्डहर बनेका छन् । भत्केको घर हेर्दै त्रिपालमा बसिरहेका स्थानीयले चिसोले सताउन थालेपछि विचलित बन्न थालेका हुन् ।

समयमै राम्रो राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका हुन् । कात्तिक १७ गते ६.५ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्केपछि भूकम्प प्रभावितहरू खुला आकाशमुनि बसिरहेका छन् । तत्काल दिइएको राहतका त्रिपाल र फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेका थिए ।  तर त्रिपालले चिसो थेग्नुभन्दा अझ बढी चिसो बनाउँदा भूकम्प प्रभावित चिसोले थलिन थालेका छन् ।

बलबालिका, सुत्केरी र वृद्धवृद्धा चिसो सहन नसकी बिरामी परेका छन् । सबैभन्दा धेरै मानवीय क्षति भएको नलगाड–१, चिउरीका सन्तोष कुमाई त्रिपालको भरमा केटाकेटी र बुढाबुढी जोगाउन गाह्रो परेको बताउनु हुन्छ ।

रिम्नाकी मनीषा चलाउनेको घर भत्केपछि पाँच जना छोरीसहित त्रिपालमुनि बस्नुभएको छ । उहाँले खुला आकाशमुनि सुतिरहेकी छोरी देखाउँदै भन्नुभयो, “यी दुई बिरामी भएर सुतिरहेका छन्, चार पाँच दिन त जसोतसो कटायौँ तर अब चिसो सहन नसकेर बिरामी हुन थाले ।”

दुई जना पनि मुस्किलले अट्ने त्रिपालमा पाँच जना बस्न गाह्रो भएको उहाँ बताउनु हुन्छ । भारतमा काम गर्न गएका श्रीमान् फर्केर नआउँदा उहाँलाई बिरामी छोरीको उपचारमा समस्या पर्न थालेको छ ।

उहाँ जस्तै घर भत्केपछि ठुम्रकुमारी राना बिहानको कठ्याङ्ग्रिने चिसोमा चउरमा भात पकाउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “चिसोले रुघा लागिसक्यो कसरी बाँचिएला अब खै ।”सरकारले दिने भनेको राम्रो राहत अझै नआइपुगेको सुनीलकुमार रानाले बताउनुभयो । राहत दिँदा पनि आफ्नो पार्टीका मान्छे छानी छानी दिने गरेको गुनासो उहाँले गर्नुभयो ।

दल्लीकी प्रेमकला विकको घर खण्डहर भएपछि त्रिपालमै हुनुुहुन्छ । उहाँले भन्नुभयो, “शीत चुहिएर ओड्ने ओछ्याउने सबै भिज्छ, चिसाले केटाकेटी बिरामी हुन थालिसके ।”

प्रभावितले त्रिपालभन्दा पनि टेन्टको माग गरे पनि टेन्ट कसैले ल्याएका छैनन् । नेपाली सेना र सशस्त्र प्रहरीले बनाएका एकाध टेन्टबाहेक सबै पीडित त्रिपालमा बसिरहेका छन् । राहत ल्याउनेले पनि प्रायः सबैले त्रिपाल बोकेर आउँदा प्रभावित खिन्न छन् । सबिन विकले भन्नुभयो, “सरकारको राहतमा टेन्ट छ भन्ने सुनेको छु तर अहिलेसम्म पनि आएन ।”

सरकारले एकद्वार प्रणालीमा वितरण गर्ने भनेको राहतको चाङ जाजरकोटको सदरमुकाम खलङ्गामा थुप्रिएको छ । अन्य धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू पनि टेन्टभन्दा त्रिपाल नै बोकेर प्रभावित क्षेत्र पुगिरहेका छन् ।

प्रायः राहत सामग्रीमा त्रिपाल नै आएकाले समस्या भएको जिल्ला प्रशासन कार्यालयका कर्मचारी नवीनकुमार सिंहले बताउनुभयो । आएका राहत स्थानीय पालिका मातहतबाट वितरण भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार टेन्ट धेरै आएको छैन । तर प्रत्येक पालिकालाई दस वटाको दरले वितरण गर्ने तयारी भइरहेको छ । चिसोका कारण त्रिपालभन्दा टेन्टको माग भए पनि राहतमै नभएकाले समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दस वटा टेन्ट सुत्केरी, वृद्धवृद्धा र बालबालिका धेरै भएका परिवारलाई दिइने गरी प्रशासन कार्यालयले निर्णय गरेको छ ।

तर स्थानीयले पालिकामार्फत जुन राजनीतिक दलको पहुँचकाले मात्र पाउने भएकाले सबैलाई समान रूपमा वितरण गर्न माग गरेका छन् । कति घर क्षति भयो भन्ने यकिन विवरण पनि प्रशासनले तयार गर्न सकेको छैन । जसका कारण राहत वितरणमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त