काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको छ।
परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको बैठकले निर्वाचन सुरक्षाको समग्र अवस्थाको समीक्षा गर्दै आवश्यक सुरक्षा प्रबन्ध सुदृढ रहेको जनाएको हो।
बैठकपछि रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले निर्वाचनको क्रममा कुनै पनि प्रकारको सुरक्षा अभाव हुन नदिन सम्बन्धित निकायहरूलाई थप प्रभावकारी तथा समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय भएको जानकारी दिए।
बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विविध चुनौती, राष्ट्रिय–क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा विकसित घटनाक्रमले पार्न सक्ने प्रभाव, तथा भावी रणनीतिबारे समेत छलफल भएको जनाइएको छ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।


