फागुन १९, काठमाडौं ।
निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।
आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि साहको उम्मेदवारी रद्द गरिएको जानकारी दिएका छन्।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणमा कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० सालदेखि कालोसूचीमा सूचीकृत रहेको देखिएको छ। साथै विभिन्न मितिमा एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा समेत उनको नाम उल्लेख भएको पाइएको आयोगले जनाएको छ।
निर्वाचन कानुनअनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार साहको उम्मेदवारी खारेज गरिएको आयोगले स्पष्ट पारेको छ।


