January 2, 2026

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन् । टोकियो र साङ्घाई बजार सार्वजनिक बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा सीमित भए पनि समग्र बजार धारणा उत्साहजनक देखिएको छ । लगानीकर्ता हाल अमेरिकी वाल स्ट्रिटबाट आउने नयाँ आर्थिक सङ्केतको प्रतीक्षामा छन् ।

सन् २०२५ मा विश्व सेयर बजारले उल्लेखनीय वृद्धि हासिल गरेको थियो । अमेरिकाको एस एन्ड पी ५०० सूचकाङ्क १६.४ प्रतिशतले बढ्दा प्रविधि केन्द्रित नास्ड्याक २०.४ प्रतिशतले उकालो लागेको थियो । बेलायतको एफटीएसई सूचकाङ्कले पनि १६ वर्षयताकै उत्कृष्ट क्रिसमस प्रदर्शन गरेको थियो ।

एसियाली बजारतर्फ सन् २०२५ मा दक्षिण कोरियाको सेयर बजार करिब ७५ प्रतिशतले उक्लिएको थियो । हङकङको हाङ सेङ सूचकाङ्क २८ प्रतिशतले बढ्दा जापानको निक्केई २२५ सूचकाङ्क २६ प्रतिशतभन्दा बढीले वृद्धि गरेको थियो । विश्लेषक काइल रोड्डाका अनुसार नयाँ वर्षको सुरुआतसँगै लगानीकर्ताको मुख्य चासो यही वृद्धिले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने हो । बजारको साझा धारणा भने सकारात्मक प्रवृत्ति कायम रहनेतर्फ छ ।

उनका अनुसार अमेरिकी अर्थतन्त्रमा वृद्धिदर कायम रहने, मुद्रास्फीति नियन्त्रणमा रहने र आगामी दिनमा ब्याजदर घट्ने अपेक्षाले सेयर बजारलाई थप टेवा पुग्ने अनुमान गरिएको छ ।

शुक्रबार हङकङको सेयर बजार २.२ प्रतिशतले बढेको छ । चिप डिजाइन कम्पनी बिरेन टेक्नोलोजिज आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)पछि ८० प्रतिशतले उकालो लागेको छ । कम्पनीले ७० करोड अमेरिकी डलरभन्दा बढी रकम सङ्कलन गरेको छ, जसले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो अझै मजबुत रहेको संकेत दिएको छ ।

यसैबीच, चिनियाँ खोज इन्जिन कम्पनी बाइडुले आफ्नो एआई चिप इकाइ ‘कुनलुनसिन’ लाई हङकङमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको घोषणा गरेपछि बाइडुको सेयर करिब ७ प्रतिशतले बढेको छ ।

ताइपेई, सिड्नी, जकार्ता, मनिला र सिङ्गापुरका सेयर बजार पनि उकालो लागेका छन् । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १.७ प्रतिशतले बढ्दा सामसुङ इलेक्ट्रोनिक्सको सेयर मूल्य ३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीका उच्च ब्यान्डविथ मेमोरी चिपप्रति ग्राहकबाट सकारात्मक प्रतिक्रिया आएको बताइएको छ ।

नयाँ वर्षको सुरुआतसँगै बहुमूल्य धातुको मूल्य पनि बढेको छ । सुनको मूल्य ०.६४ प्रतिशत र चाँदीको मूल्य १.५ प्रतिशतले वृद्धि भएको छ ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘चुनाव हुन नदिनु भन्ने अधिकार जेन–जीलाई छैन’ : मेयर महर्जन

२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य निर्विरोध

पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना

एआईमा च्याटजीपीटी मात्र हैन, २५ शक्तिशाली एआई मोडेल उपलब्ध छन्

२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री