वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा कोषमा निरन्तर आबद्धता न्यून

मङ्सिर २७ , काठमाडौँ  । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक आबद्धता जनाउनेको सङ्ख्या आठ महिनामै पाँच लाख नाघेको छ तर निरन्तरता दिनेको सङ्ख्या खासै देखिँदैन ।

सामाजिक सुरक्षा कोषका अनुसार कोषमा गएको चैत ८ देखि मङ्सिर २३ सम्म पाँच लाख दुई हजार ४६६ जना कोषको योजनामा आबद्ध भएका छन् तर निरन्तरता दिनेको सङ्ख्या असाध्यै कम भएको स्वयम् कोषले नै स्वीकार गरेको छ ।

वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य गरिएकाले श्रम स्वीकृति लिनुपूर्व हरेक श्रमिकले कोषमा दुई हजार दुई रुपियाँ तिर्नु पर्छ । सो अवधिसम्म आबद्ध भएका पाँच लाख दुई हजार ४६६ जनाबाट कोषमा एक अर्ब ५९ लाख छ हजार ९३३ रुपियाँ जम्मा हुन आउँछ । कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा रकम जम्मा गरेको देखिँदैन ।

कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा कोषमा आबद्ध हुन अनिवार्य गरिएकाले एक पटक गर्नेको सङ्ख्या धेरै भए पनि यसमा निरन्तरता दिने असाध्यै कम भएको जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा वैदेशिक रोजगारीमा गएकामध्ये चार हजारको हाराहारीले मात्रै निरन्तरता दिएका छन् । बाँकीलाई कोषको योजनामा आबद्धतालाई निरन्तर गराउन सकिएको छैन । कोषका प्रवक्ता पन्थीले वैदेशिक रोजगारमा जानेलाई यसको फाइदाबारे जानकारी दिन नसकेकाले पनि निरन्तरतामा समस्या भएको हुन सक्ने बताउनुभयो । विदेशमा स्वरोजगार भएर बसेका जो जो आबद्ध भएका छन्, उनीहरूले बुझेर गरेकाले उनीहरूको निरन्तरता छ भने श्रम लिनुपूर्व कोषमा आबद्ध भएर जानेको निरन्तरता शून्य जस्तै छ ।

अधिकांशलाई विदेशमा पुगेपछि कोषको योजनामा निरन्तरता दिने विषयमा स्पष्ट जानकारी नभएको बताउँदै उहाँले भन्नुभयो, “कतिपयलाई यसको फाइदाबारे जानकारी छैन, यस विषयमा बुझाउन नसक्नु कोषको पनि कमजोरी हो त्यसैले अब यसलाई अभियानका रूपमा लैजान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीमार्फत गन्तव्य देशका राजदूतलाई आग्रह गरेका छौँ ।”

कोषका अनुसार वैदेशिक रोजगारीको क्षेत्रमा योगदान सङ्कलनको निरन्तरताका लागि कोषले सामाजिक सुरक्षा सचेतना अभिवृद्धि, योगदान सङ्कलनका लागि बैङ्क तथा रेमिट कमपनीसँग सहकार्य गरिरहेको साथै अन्य प्रविधिगत विकाससमेत कोषले गरिरहेको छ ।

कोषका अनुसार हालसम्म कोषको योजनामा हालसम्म नौ लाख ६७ हजार ८९२ जना आबद्ध भएका छन् । जसमा वैदेशिक रोजगारीमा जाने पाँच लाख दुई हजार ४६६ जना रहेका छन् भने औपचारिक क्षेत्रका चार लाख ६५ हजार २७७ जना आबद्ध भएका छन् ।

विदेशमा रहेका कतिपय श्रमिकमा योजनाबारे भ्रम रहेका कारण विदेशबाट आबद्ध हुनेको सङ्ख्या लगभग चार हजार मात्रै रहेको छ । हालसम्म आबद्ध भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन् ।

वैदेशिक रोजगारीमा नयाँ जाने श्रमिक श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला योजनामा समावेश हुन सक्ने भनिएको छ ।

कोषका अनुसार योजनामा समावेश हुने श्रमिकले मासिक न्यूनतम दुई हजार दुई रुपियाँ बुझाउनु पर्छ । रकम एकमुस्ट छ महिना वा एक वर्षसम्मको बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने व्यवस्था छ ।

कोषका अनुसार यो रकम खल्ती, इसेवा र कनेक्ट आइपिएसमार्फत जम्मा गर्ने व्यवस्था गरेको छ । कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरेको जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट सामाजिक सुरक्षा कोषले एक अर्ब रुपियाँ योगदान रकम सङ्कलन गरेको छ। श्रमिकले न्यूनतम दुई हजार दुई रुपियाँदेखि अधिकतम २८ हजारसम्म कोषमा मासिक योगदान गर्न पाउँछन् । कोषका अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जानेमध्ये मलेसिया जाने धेरै श्रमिक कोषमा आबद्ध भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा