September 7, 2023

मानवकेन्द्रित विश्वव्यापीकरण

हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण गर्न प्रयास गर्ने छ, जसले सारा विश्वलाई भरणपोषण गर्ने छ; जहाँ कलहलाई एकताले मात दिने छ र जहाँ साझा भाग्यले एकाकीपनलाई ओझेलमा पार्ने छ । जी–२० को अध्यक्ष भएको नाताले हामीले विश्व मञ्चलाई अझ ठुलो बनाउने वाचा गरेका छौँ ता कि सबैको आवाज सुनियोस् र सबैले योगदान पुर्याऊन् ।

‘वशुधैव कुटुम्बकम्’ – यी दुई शब्दले गहिरो दर्शन बोकेको छ । यी दुई शब्दको अर्थ हुन्छ, “यो पृथ्वी एउटा परिवार हो ।” यो समावेशी दृष्टिकोणले हामीलाई हाम्रा सिमाना, भाषा र दर्शनभन्दा माथि उठेर एक विश्वव्यापी परिवारका रूपमा अघि बढ्न प्रेरित गर्दछ । भारतको अध्यक्षतामा आयोजित यस पटकको जी–२० शिखर सम्मेलनका दौरान यो भावना मानवकेन्द्रित विकास एवं प्रगतिको आह्वानका रूपमा जागृत भएको छ । एक पृथ्वीका रूपमा हामी हाम्रो ग्रहलाई सम्भार गर्न हातेमालो गर्दै छौँ । एक परिवारका रूपमा हामी प्रगति प्राप्तिका लागि एक अर्काको सहारा बन्छौँ । अनि हामी साझा भविष्य वा एक भविष्यतर्फ सँगै अघि बढ्छौँ; जुन अहिलेको अन्तरसम्बन्धित समयको अकाट्य वास्तविकता पनि हो ।

कोभिड–१९ महामारीपछिको विश्व व्यवस्था पहिलेकोभन्दा बिल्कुल फरक छ । अहिलेको विश्व व्यवस्थामा तीन वटा परिवर्तन देख्न सक्छौँ ।

पहिलो,जिडिपीकेन्द्रित विश्व दृष्टिकोण छाडी मानवकेन्द्रित दृष्टिकोण अँगाल्नुपर्ने आवश्यकताको बोध भएको छ । दोस्रो, विश्वले विश्वव्यापी आपूर्ति शृङ्खलामा उत्थानशीलता र विश्वसनीयताको महìव बुझ्दै गएको छ । तेस्रो, विश्वव्यापी संस्थाहरूको सुधारमार्फत बहुपक्षीयतालाई सुदृढ बनाउन आवाज उठेका छन् । जी–२० मा हाम्रो अध्यक्षताले यी परिवर्तनमा अहम् भूमिका निर्वाह गरेको छ ।

सन् २०२२ को डिसेम्बरमा जब हामीले इन्डोनेसियापछि जी–२० कोे अध्यक्षता हासिल गर्यौँ, मैले जी–२० ले मानसिकता परिवर्तनमा उल्लेख्य भूमिका खेल्नुपर्ने उल्लेख गरेको थिएँ । यो भावना ग्लोबल साउथ र अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकाङ्क्षालाई मूल प्रवाहमा ल्याउने सन्दर्भमा झनै आवश्यक देखिन्छ ।

सन् २०२३ जनवरीमा आयोजित १२५ राष्ट्रको सहभागिता भएको ‘द भ्वाइस अफ ग्लोबल साउथ’ शिखर सम्मेलन हाम्रो अध्यक्षता अन्तर्गत भएको प्रमुख पहलहरूमध्येको एक हो । सो सम्मेलन ग्लोबल साउथका सुझाव एवं विचारलाई एक ठाउँमा ल्याउने महìवपूर्ण प्रयास थियो । हाम्रो अध्यक्षतामा ग्लोबल साउथ शिखर सम्मेलनमा अफ्रिकी मुलुकको हालसम्मकै ठुलो सहभागिता रह्यो भने अफ्रिकी सङ्घलाई जी–२० को स्थायी सदस्यका रूपमा समावेश गर्न जोड दिने काम पनि भएको छ ।

अहिलेको परस्पर सम्बन्धित विश्वमा हाम्रा चुनौती पनि अन्तरसम्बन्धित छन् । २०३० एजेन्डाको मध्यवर्षमा आइपुग्दा धेरैले दिगो विकासका लक्ष्य (एसडिजिएस) प्राप्तिमा भएको प्रगतिबारे चासो एवं चिन्ता प्रकट गरेका छन् । दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रयासलाई गति दिन अघि सारिएको जी–२० २०२३ कार्ययोजनाले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि जी–२० को कार्यदिशा तय गर्ने छ ।

भारतमा प्राचीन कालदेखि नै प्रकृतिसँग सङ्गतिमा जीवन बिताउने चलन रहिआएको छ र हामीले आधुनिक कालमा पनि जलवायु अनुकुलन कार्यमा आफ्नो तर्फबाट योगदान गरिरहेका छौँ । ग्लोबल साउथका धेरै देश विकासका विभिन्न चरणमा रहेका छन् र जलवायु अनुकूलन कार्यलाई पनि उत्तिकै ध्यान दिन जरुरी छ । जलवायु अनुकूलन कार्य जलवायु वित्त तथा प्रविधिको हस्तान्तरणसँग मेल खाने गरी अघि बढाउनु पर्छ । जलवायु परिवर्तन रोक्न के गर्न हुँदैन भन्ने विशुद्ध प्रतिबन्धात्मक मनोवृत्तिबाट हटेर के गर्न सकिन्छ भन्ने रचनात्मक विचार अँगाल्न आवश्यक छ ।

The Chennai HLPs for a Sustainable and Resilient Blue Economy.  हाम्रा समुद्रलाई स्वस्थ एवं स्वच्छ राख्नेतर्फ केन्द्रित छ । हाम्रो अध्यक्षता र हरित हाइड्रोजन इनोभेसन केन्द्रको पहलले सफा र हरित हाइड्रोजनका लागि पारिस्थितिकी प्रणाली निर्माण गर्ने छ ।

सन् २०१५ मा हामीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सुरुवात गर्यौँ । हामी अब ग्लोबल बायोफ्युल्स एलायन्समार्फत चक्रीय अर्थतन्त्रका फाइदा अनुरूप ऊर्जा परिवर्तन सक्षम बनाउन विश्वलाई नै सहयोग गर्ने छौँ । जलवायु अनुकूलन कार्यको लोकतान्त्रिकीकरण आन्दोलनलाई गति दिने उत्तम तरिका हो । जसरी व्यक्तिहरूले आफ्नो दीर्घकालीन स्वास्थ्यलाई ख्याल गर्दै दैनिक निर्णय गर्छन्, त्यसरी नै तिनीहरूले आफू बस्ने ग्रहको दीर्घकालीन स्वास्थ्यमा परेको असरका आधारमा आफ्ना जीवनशैलीसँग सम्बन्धित निर्णय गर्न सक्छन् । जसरी योग स्वास्थ्यका लागि विश्वव्यापी जनआन्दोलन बनेको छ, त्यसै गरी हामीले विश्वलाई Lifestyles for Sustainable Environment (LIFE) तर्फ अग्रसर गराएका छौँ ।

जलवायु परिवर्तनको प्रभावका कारण खाद्य र पोषण सुरक्षा सुनिश्चित गर्नु महत्वपूर्ण हुने छ । कोदोजन्य बाली वा श्री अन्नले यसलाई समाधान गर्न मद्दत गर्नुका साथै limate–smart agriculture लाई प्रवर्धन गर्ने छ । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षमा हामीले कोदोजन्य बालीलाई विश्वका भान्सा–भान्सामा पुर्याएका छौँ । खाद्य सुरक्षा र पोषणसम्बन्धी डेक्कन उच्चस्तरीय सिद्धान्त पनि यस दिशामा सहयोगी छन् ।

प्रविधि परिवर्तनशील छ तर यसलाई समावेशी बनाउन पनि उत्तिकै जरुरी छ । विगतमा प्राविधिक विकासका फाइदाले समाजका सबै वर्गलाई समान रूपमा लाभान्वित तुल्याएको थिएन । भारतले पछिल्ला केही वर्षमा प्रविधिलाई व्यापक बनाउनुको सट्टा कसरी असमानता घटाउनमा उपयोग गर्न सकिन्छ भनेर देखाएको छ । उदाहरणका लागि बैङ्कको पहुँचबाट टाढा वा डिजिटल पहिचानविहीन विश्वभरिका अर्बौं मानिसलाई डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डिपिआई) मार्फत आर्थिक रूपमा समावेश गर्न सकिन्छ । डिपिआईको प्रयोग गरेर निर्माण गरिएका उपायहरूले अहिले विश्वव्यापी रूपमै मान्यता पाएका छन् ।

समावेशी विकासको शक्तिबाट आर्जन हुने लाभ बटुल्न अब जी–२० मार्फत हामी विकासशील देशहरूलाई डिपिआई अपनाउन, विकास गर्न र मापन गर्न मद्दत गर्ने छौँ ।

भारत सबैभन्दा छिटो वृद्धि भइरहेको ठुलो अर्थतन्त्र भएको मुलुक यसै बनेको होइन । हाम्रा सरल, मापनयोग्य र दिगो समाधानले कमजोर र सीमान्तकृतलाई हाम्रो विकास कथाको नेतृत्व गर्न सशक्त बनाएको छ । अन्तरिक्षदेखि खेलकुद, अर्थतन्त्रदेखि उद्यमशीलतासम्म, भारतीय महिलाले विभिन्न क्षेत्रमा नेतृत्व लिएका छन् । उनीहरूले ‘महिलाको विकास’ भाष्यलाई ‘महिला नेतृत्व विकास’ मा परिवर्तन गरिदिएका छन् । लैङ्गिक डिजिटल असमानतालाई कम गर्न, श्रम शक्ति सहभागिता विभेदलाई घटाउन र नेतृत्व र निर्णय प्रक्रियामा महिलाको बृहत् भूमिका सुनिश्चित गर्न हाम्रो अध्यक्षतामा रहेको जी–२० ले काम गरिरहेको छ ।

भारतका लागि जी–२० अध्यक्षता केवल उच्च तहको कूटनीतिक प्रयास मात्र होइन । भारत लोकतन्त्रको जननी र विविधताको नमुना भएकाले हामीले यो अनुभवका ढोका विश्वका लागि खोलिदिएका छौँ । आज मापनमा हासिल हुने चिजहरू एक गुण हो; जुन भारतसँग जोडिएको छ । जी–२० अध्यक्षता कुनै अपवाद होइन । यो मानव सञ्चालित आन्दोलन बनेको छ । हाम्रो कार्यकालको समाप्तिसम्ममा भारतका ६० वटा सहरमा २०० भन्दा बढी बैठकको आयोजना र १२५ देशका लगभग एक लाख प्रतिनिधिको स्वागत गर्ने छौँ । यसअघिका कुनै पनि जी–२० शिखर सम्मेलनले यत्तिको विशाल र भौगोलिक विविधतालाई समेटेको छैन ।

भारतको जनसङ्ख्या, लोकतन्त्र, विविधता र विकासबारे अरू कसैबाट सुन्नु र भारतका यी विशेषतालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनु बिल्कुलै फरक कुरा हो । म विश्वस्त छु, हाम्रा जी–२० का प्रतिनिधिले आफ्नो अनुभवबाट यस कुराको पुष्टि गर्नेछन् ।

हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण गर्न प्रयास गर्ने छ, जसले सारा विश्वलाई भरणपोषण गर्ने छ; जहाँ कलहलाई एकताले मात दिने छ र जहाँ साझा भाग्यले एकाकीपनलाई ओझेलमा पार्ने छ । जी–२० को अध्यक्ष भएको नाताले हामीले विश्व मञ्चलाई अझ ठुलो बनाउने वाचा गरेका छौँ ता कि सबैको आवाज सुनियोस् र सबैले योगदान पुर्याऊन् । हाम्रो प्रतिबद्धता हाम्रा कार्य र परिणामसँग मेल खान गएको म यहाँ उल्लेख गर्न चाहन्छु ।

स्रोत: नेपालस्थित भारतीय दूतावास 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण