युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

काठमाडौँ, असार २१ गते । फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ ।
नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भएर बिहान ७ः४५ बजेसम्म युरो र कोपाअन्तर्गतका चारवटा खेल हुने गर्छन् । नेपाली फुटबलपे्रमी रातभर नै भए पनि यी खेल हेर्न व्यस्त देखिन्छन् । फुटबलपे्रमीको यस्तै व्यस्तताले नेपालको इन्टरनेटमा भने नयाँ ‘रेकर्ड’ बनाएको छ ।
रेकर्ड बनेको दिन हो, असार १५ । जुन दिन युरो कपअन्तर्गत राउन्ड १६ का दुई खेल भएका थिए, फ्रान्स र स्विजरल्यान्ड अनि इङ्ल्यान्ड र जर्मनीबीच । निकै प्रतिस्पर्धात्मक रहेका यी दुई खेलमा पेनाल्टीसहित १७ गोल बनेका थिए । पौने ९ः४५ बजे जब फ्रान्स र स्विजरल्यान्डबीचको पहिलो खेल सुरु भयो, नेपालको आन्तरिक इन्टरनेट ट्राफिक उकालो लाग्दै गयो ।
नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का अनुसार खेलका दौरान इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ४९.८८९ जीबीसम्म पुगेको थियो । संस्थाका प्रमुख कार्यकारी अध्यक्ष रुपेश श्रेष्ठका अनुसार यो नेपालभित्रको अहिलेसम्मकै उच्च इन्टरनेट ट्राफिक हो ।
“युरो कपको खेल हुँदा एकै पटक ट्राफिक बढ्ने अनि मध्यान्तरमा बिस्तारै घट्ने र त्यसपछि फेरि खेल सुरु भएपछि बढ्ने प्रवृत्ति देखियो,” उहाँले भन्नुभयो, “यही क्रममा अहिलेसम्मकै उच्च ‘रेकर्ड’ पनि बन्यो । ”
सामान्य अवस्थामा नेपालको आन्तरिक इन्टरनेटको ट्राफिक प्रतिसेकेन्ड १२ जीबी हुने गर्छ । यद्यपि पछिल्लो समय त्यस्तो औसत पनि बढेर १५ जीबीसम्म पुगेको छ । ठूला किसिमका फुटबल खेलहरू सुरु हुनासाथ नेपालको आन्तरिक इन्टरनेट ट्राफिक बढ्ने गरेको श्रेष्ठको अनुभव छ ।
“यसअघि पनि सन् २०१८ मा विश्व कपको समयमा ट्राफिक बढेर ३२ जीबीपीएससम्म पुगेको थियो,” उहाँले भन्नुभयो । त्यो नै नेपालभित्रको आन्तरिक इन्टरनेट खपतमा यसअघिको रेकर्ड थियो ।
पछिल्लो समय सेवा प्रदायकहरूले युरो कपजस्ता इन्टरनेट कन्टेन्टको नेपालमै होस्टिङ गर्दा पनि आन्तरिक इन्टरनेट ट्राफिक बढी हुने पुगेको श्रेष्ठको भनाइ छ । यसले अर्कोतिर नेपाललाई आर्थिक रूपमा पनि फाइदा पुगेको उहाँको बुझाइ छ । “नेपालभित्रै होस्टिङ हुँदा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत नहुँदा ठूलो रकम बाहिरिनबाट पनि रोकिन्छ,” उहाँले भन्नुभयो । पछिल्लो समय चर्चित इन्टरनेट कन्टेन्टहरूको क्यास सर्भर राखेर नेपालमै होस्टिङ गर्ने चलन पनि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
ओभर दी टप (ओटीटी)मार्फत नै टेलिभिजन हेर्न सकिने सुविधाले पनि यसमा बल पु-याएको उहाँको बुझाइ छ । अहिले डिस होम गो, नेट टीभी, भाया टीभी, प्रभु टीभीजस्ता एपमार्फत नै प्रयोगकर्ताले टेलिभिजन हेर्न सक्छन् ।
त्यस्तै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटमै आधारित रहेर आफ्ना प्रयोगकर्तालाई टेलिभिजन सुविधा पनि उपलब्ध गराइरहेका छन् । इन्टरनेट प्रयोगमार्फत टेलिभिजन हेर्ने प्रवृत्तिले पनि ट्राफिक बढेको श्रेष्ठको तर्क छ । यसले अन्ततः नेपाललाई नै फाइदा पुग्ने उहाँले बताउनुभयो । एनपीआईएक्सले आफ्ना सदस्यहरूबाट प्राप्त तथ्याङ्कका आधारमा नेपालको आन्तरिक इन्टरनेट ट्राफिक मूल्याङ्कन गर्छ । अहिलेका यसका करिब चार दर्जन सदस्य छन् । देशका प्रमुख दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक, सूचना प्रविधिसँग सम्बन्धित सरकारी निकाय, होस्टिङ सेवा प्रदायक यसका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित