लामो समयपछि फेरि बन्दको सास्ती

काठमाडौं, माघ २३: नेपालीले बन्दको सास्ती झेल्नु नपरेको लामो समय भएको थियो। विगतमा अनेक बहानामा ‘नेपाल बन्द’ आह्वान गरिँदा नागरिक आजित थिए। तर, नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध गर्दै आमहडताल आह्वान गरेपछि बिहीबार सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। आमहडतालप्रति सकारात्मकभन्दा नकारात्मक टिप्पणी बढी देखिएको छ। प्रमुख दलबाटै बन्दको आयोजना गरिनुले राम्रो सन्देश नगएको सुरक्षा अधिकारी बताउँछन्।

नेकपाको उक्त समूहले भने बिहीबारको आमहडताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ। केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहडतालमा प्राप्त जनसमर्थनले उत्साहित बनाएको प्रेस वक्तव्यमा जनाएका छन्।

बन्दका कारण बिहीबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको थियो। प्रदर्शनकारी ‘बन्द सफल पारौं’ भन्दै बिहानदेखि उपत्यकाका सडकमा निस्किएका थिए। त्यस क्रममा कतिपय ठाउँमा सवारी साधन तोडफोड गरे भने प्रहरीसँग झडपसमेत भयो।

‘ठाउँ–ठाउँमा गाडी तोडफोड भए। प्रदर्शनकारीलाई समयमै पक्राउ गरी स्थानान्तरण गर्‍यौं। त्यस्तो अप्रिय घटना हुन पाएन’, प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने। प्रहरीको सुझबुझका कारण ठूलो दुर्घटना टरेको प्रवक्ता कुँवरले बताए।

राजधानीमा मुठभेडको अवस्था नदेखिए पनि जनकपुर, विराटनगर, धादिङ, वीरगन्जलगायत केही जिल्लामा घम्साघम्सी परेको थियो। स्थिति नियन्त्रणमा लिन जनकपुरमा प्रहरीले २७ राउन्ड हवाई फायर र १२ सेल अश्रुग्यास प्रहार गरेको थियो। झडपमा नेताहरू मातृका यादव र रामचन्द्र झा गम्भीर घाइते भएका संयोजक श्रेष्ठले वक्तव्यमा जनाएका छन्। त्यस्तै, धनगढीमा दाहाल–नेपाल समूह र ओली समूहका प्रदर्शनकारीबीच झडप भएको थियो।

प्रदर्शनकारीले काठमाडौं गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरे। चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जान आग्रह गरेर भित्र छिर्नेबित्तिकै दुई जना पेट्रोल छर्केर आगजनी गरी फरार भएका थिए। काठमाडौं उपत्यकासँगै बाहिरका विभिन्न जिल्लामा प्रदर्शनकारीले एउटा सरकारीसहित १५ वटा सवारी साधन तोडफोड गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका १ सय ५७ जनालाई साँझ ५ बजेपछि छाडेको थियो।

नागढुंगा, कोटेश्वर, चाबहिल, बालाजु बाइपास, गोंगबु, कलंकीलगायत स्थानमा प्रदर्शनकारीको घुइँचो देखिन्थ्यो। चाबहिल र कोटेश्वरमा भने मुडभेडको अवस्था आउन सक्ने आकलन गर्दै प्रहरीले सवारी आवागमनमा रोक लगाएको थियो। प्रदर्शनकारीले ललितपुरको सातदोबाटोमा टेलिभिजनकर्मी दिवाकर साहमाथि हातपात गरेका थिए।

बन्द सफल पार्न उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेता सडकमा ओर्लिएका थिए। अध्यक्ष दाहाल गाडी चढेरै कोटेश्वर पुगेका थिए। अर्का अध्यक्ष नेपाल भने मोटरसाइकलमा अवलोकनका लागि भन्दै विभिन्न स्थानमा पुगेका थिए।

प्रदर्शनकारी बिहानै तोडफोडमा उत्रिएपछि अपराह्नसम्म मोटरसाइकलबाहेक निजी सवारी साधन गुडेका थिएनन्। त्यसैगरी, ट्याक्सी, टेम्पो र माइक्रोबस भने फाट्टफुट्ट चलेका थिए। मुख्य व्यापरिक केन्द्र भने प्रायः बन्द थिए। गल्लीभित्रका पसल फाट्टफुट्ट खुलेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित