March 17, 2020

अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरिने

काठमाडौँ / भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रविधिको प्रयोग गरेर पटके सुकुम्बासीको समस्या समाधान गर्न थालिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर उहाँले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या तथा भूमिसम्बन्धी अन्य विविध समस्या सधैँका लागि निराकरण गर्ने गरी अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गर्ने तयारी भइरहेको बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो,“हामीले पहिलोपटक भूउपयोग नीति बनाएका छौँ । पहिलोपटक भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानून बनाएका छौँ । भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत वर्षौदेखि बाँकी रहेका भूमिसम्बन्धी अन्य समस्या सधैँका लागि समाधान गर्न आयोग गठन गर्ने र सो कार्य सञ्चालन गर्न आयोगको गठन आदेशको मस्यौदा तयार भएर मन्त्रिपरिषद्मा पेश भई स्वीकृत हुने क्रममा छ ।”

सुकुम्बासीका समस्या समाधान गर्न मुलुकभर भूमि नभएकालाई प्राथमिकता दिएर सम्बोधन गरिने बताउँदै उहाँले त्यसपछि अव्यवस्थित बसोबासको व्यवस्थापन गरिने जानकारी दिनुभयो । बैठकमा सांसदले राखेका जिज्ञासाका सम्बन्धमा मन्त्री अर्यालले सरकार अब सङ्कल्पसहित सार्वजनिक सम्पत्तिको संरक्षणमा लागेको र यसमा सबैको सहयोग आवश्यकता रहेको अपेक्षा गर्नुभयो । उहाँले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन र संरक्षण गर्न जाँचबुझ आयोग गठन गरिएको पनि अवगत गराउनुभयो ।

मन्त्रालयबाट अध्ययन गरेर सीधै मालपोत कार्यालयमार्फत पनि अतिक्रमण भएका जग्गाको दर्ता बदर गर्ने गरिएको उहाँले बताउनुभयो । हालसम्म तराईमा २८४ बिघा र पहाडमा ९६ रोपनी जग्गा दर्ता बदर गरिएको जानकारी गराउँदै मन्त्री अर्यालले भन्नुभयो,“कब्जा गरिएका सरकारी जग्गाका सम्बन्धमा आयोग र मन्त्रालयमा सीधै उजूरी दिने व्यवस्था गरेका छौँ ।” नदी किनारका जोखिमका बस्तीको अर्काे स्थानमा फरक ढङ्गले व्यवस्थापन गरिने बताउँदै उहाँले २०१६ सालमै बिर्ता उन्मूलन भए पनि यससँग जोडिएको जग्गाको समस्या विकराल रहेको उल्लेख गर्नुभयो । त्यस्ता किसानको समस्याको समाधान गरिने उहाँले बताउनुभयो । मन्त्री अर्यालले प्रविधिको प्रयोग गरेर मालपोत कार्यालयलाई आधुनिकीकरण र जनताका लागि सहज बनाइएकोसमेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे