९ पुस, काठमाडौं । गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ‘उहाँहरुले सम्बन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गर्नुभएको छ’ उनले भने ‘बादी (निलम) ले अंश नलिने गरी मिलापत्र भएको छ ।’
ढकाल दम्पत्तिको एउटी छोरी छन्, उनी अब आमासँग रहने भएकी छन् । श्रोतका अनुसार आफ्नो श्रीमान ढकालले अन्य महिलासंग गरेको व्यबहार नै श्रीमती नीलमलाई चित्त नबुझेको कारण उनले अदालतसम्म जानु परेको बुझिएको छ ।