September 25, 2019

बेलायतमा संसदीय सर्वोच्चता कायम

असोज ८, २०७६,बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसद् निलम्बन गरेर अवैध काम गरेको भनी त्यहाँको सर्वोच्च अदालतले मंगलवार फैसला सुनाएपछि बेलायती राजनीतिमा तरंग आएको छ । मंगलवार सर्वोच्चका सबै ११ न्यायाधीशहरूले बेलायती महारानीलाई जोनसनले संसद् निलम्बन गर्न दिएको सल्लाह ‘अवैध, बदरभागी र प्रभावहीन’ भनी निर्णय दिएका थिए । जोनसनले पाँच हप्ताका लागि संसद् निलम्बन गर्ने निर्णय लिएर ब्रेक्जिटमाथिको बहसको अवसर नदिने प्रपञ्च रचेका थिए ।अदालतको फैसलापछि आज बुधवार सांसदहरू वेस्टमिन्स्टर फर्किनेछन् । अदालतले सभामुख जोन बेरकाउलाई अब संसदीय कारवाही कसरी अगाडि बढाउने हो त्यसको निर्णय गर्न भनेको छ र बेरकाउले संसद् बैठक फेरि बस्ने बताएका छन् । 

उनले बेलायती समयअनुसार बिहान साढे ११ बजे संसद् बैठक डाकेका छन् । बेलायती संसदमा बुधवार प्रधानमन्त्रीलाई सांसदहरूले प्रश्न गर्ने गरेका छन् तर आज त्यो कार्यक्रम नराखिने उनले बताए । जोनसनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि भ्रमण छोट्याएर बेलायत फर्किंदैछन् ।सर्वोच्च अदालतको निर्णयपछि अब जोनसनले सम्झौतारहित ब्रेक्जिटको लिँडेढिपी त्यागेर सांसदहरूसँग मध्यमार्गी बाटो अपनाउने विषयमा चर्चा गर्नुपर्ने भएको छ । अदालती निर्णयले कुनै एक व्यक्ति संसद्भन्दा माथि नरहेको प्रस्ट पारिदिएको छ । अर्थात्, ब्रेक्जिटका विषयमा सांसदहरूकै कुरा जोनसनले सुन्नुपर्छ । लोकतन्त्रमा संसदीय सर्वोच्चता हुन्छ भन्ने कुरा पनि निर्णयले स्पष्ट बनाएको छ ।

बेलायती महारानीलाई गुमराहमा पारेर संसद् निलम्बन गर्न लगाएको भनी विपक्षीहरूले जोनसनमाथि आरोप लगाएका छन् । अदालतको निर्णयमा यसको बारेमा उल्लेख नगरिएपनि संवैधानिक राजतन्त्रको राष्ट्रप्रमुखलाई उचित कारण नदिई संसद् निलम्बन गर्न लगाउँदा जोनसनले साँच्चै छलछाम गरेको हुनुपर्छ भन्ने संकेत अदालती निर्णयमा भेटिन्छ । यस्तो परिस्थिति निर्माण हुँदा जोनसनले राजीनामा दिनुपर्ने हो । विपक्षी नेता जेरेमी कोर्बीनले प्रधानमन्त्री जोनसनको राजीनामा मागेका छन् र आमनिर्वाचन भएमा आफ्नो लेबर पार्टीले जोनसनको कन्जर्भेटिभ पार्टीलाई धूलो चटाउने भनेका छन् । जोनसनले चाहिँ कुनै हालतमा पनि राजीनामा नदिने अड्डी कसेका छन् ।

तर कोर्बीनले चाहेको जस्तो गरी आमनिर्वाचन घोषणा हुन सक्ने स्थिति पनि छैन । उनले जोनसनविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर मतदान गराउन त सक्लान् तर अहिल्यै उनी आमनिर्वाचनमा जान सक्दैनन् । अक्टोबर ३१ मा युरोपेली संघबाट बेलायत बाहिरिने समयसीमा तोकिएको छ र आमनिर्वाचनको लफडामा पर्दा जोनसनले सम्झौतारहित (नो डील) ब्रेक्जिट गराउने सम्भावना हुन्छ जुन कोर्बीनलाई सह्य छैन । बेलायती पत्रिकाहरूमा लेबर पार्टीका स्रोतको हवाला दिँदै सभामुख बेरकाउसँग मिलेर जोनसनलाई सत्ताच्युत गर्ने अनि ब्रेक्जिटलाई थप लम्ब्याउने योजना बनाइएको लेखिएको छ । तर यो कदम कानून र संविधानसम्मत हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । 

जोनसन आफैं पनि अप्ठ्यारो स्थितिमा छन् । ब्रेक्जिट सम्झौता पारित गराउने बहुमत उनीसँग छैन किनकि उनकै दल कन्जर्भेटिभका २१ सांसदहरूले सम्झौतारहित ब्रेक्जिटको प्रस्तावविरुद्ध सदनमा मत दिएका थिए र जोनसनले उनीहरूलाई पार्टीबाट समेत निकालेका थिए ।  आफूले चाहेबमोजिमको आमनिर्वाचन गराउनका लागि पनि उनीसँग पर्याप्त समर्थन उपलब्ध छैन । 

जोनसनले ब्रेक्जिटलाई लम्ब्याउने अनुरोध गरेपछि मात्र आमनिर्वाचनको घोषणा गरे हुन्थ्यो भन्ने विपक्षी दलहरूको आशा छ । यसो गरेमा जोनसन कमजोर हुने उनीहरूको आकलन छ किनकि जोनसनले अक्टोबर ३१ सम्ममा जसरी भए पनि ब्रेक्जिट गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । ब्रेक्जिट प्रक्रिया लम्बियो भने जोनसनले झूट बोलेको ठहरिन्छ अनि आफ्नो वाचा पूरा नगर्ने नेताका रूपमा उनलाई प्रस्तुत गरेर खुइल्याउन सकिने विपक्षीहरूले आशा गरेका छन् । 

त्यसो त सदनले ब्रेक्जिट प्रक्रिया लम्ब्याउने अनुरोध युरोपेली संघसमक्ष राख्न एउटा कानून पारित गरेको छ । जोनसनले कानून त मानौंला तर ब्रेक्जिट चाहिँ लम्ब्याउदिनँ भनिरहेका छन् । 

जोनसनले ब्रेक्जिट प्रक्रिया लम्बिएमा विपक्षीहरू जनताको अभिमतका विरुद्ध गएर ब्रेक्जिट गराइहाल्न अनिच्छुक रहेको आरोप लगाउँदै ताजा निर्वाचनमा आफूले लोकप्रिय मत पाउने आकलन गरेका हुनसक्छन् । तर विपक्षीले भनेअनुसार ब्रेक्जिट प्रक्रिया लम्बिएमा त्यसको दोष जोनसनलाई नै लगाएर जनता भड्किने सम्भावना पनि उत्तिकै छ । 

जोनसन र कोर्बीन दुवैले आमनिर्वाचन भएमा एकअर्कालाई बेइज्जतीपूर्ण रूपमा हराउने दाबी गरिरहेका छन् । तर सर्वेक्षणहरूले जोनसनलाई कोर्बीनभन्दा निकै माथि राखिरहेको देखिन्छ । त्यसैले आआफ्नो शर्तमा आमनिर्वाचन गराउन नपाउन्जेल दुवै नेता पछि हट्ने देखिन्न । विभाजनकारी जोनसनको साटो एक कार्यवाहक प्रधानमन्त्री राखेर ब्रेक्जिट गराइन सक्ने सम्भावना पनि केही विश्लेषकहरूले देखाएका छन् तर कसलाई त्यो जिम्मेवारी दिने भन्ने विषय पनि उत्तिकै विवादास्पद छ । यी सबै कारणले गर्दा बेलायतको राजनीति झनै अन्योलपूर्ण हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति