September 6, 2019

भारतको अर्थतन्त्र खस्किँदा नेपालमा प्रभाव : बढ्यो सुन र डलर भाउ

भदौ २०, २०७६, काठमाडौं – पछिल्लो समय भारतको अर्थतन्त्रको अवस्था खस्किँदै गएको छ । ३ महिना अघिसम्म ७ प्रतिशत आर्थिक वृद्धि दर रहेको भारतीय अर्थतन्त्र पछिल्लो समय ५ प्रतिशतमा झरेको छ । आर्थिक वृद्धिदर संकुचित भएका कारण भारतीय अर्थतन्त्र खस्किएको लगायतका प्रतिक्रिया देखिन थालेका छन् । भारतीय अर्थतन्त्रमा देखिएको समस्या, नेपालमा पार्ने असर एवं त्यसबाट जोगिनुपर्ने उपायबारे अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष चन्द्रमणि अधिकारी र अर्थशास्त्री प्राध्यापक डा. डिल्लीराज खनालसँग गरिएको कुराकानीमा आधारित धारणा :-

चन्द्रमणि अधिकारी, अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष

विश्वकै अर्थतन्त्र तरल भएको छ । चीन र अमेरिकाबीच व्यापार द्वन्द्व चलिराखेको छ । त्यसले दुईटै अर्थतन्त्रलाई असर पर्ने देखिएको छ । कतिपय अर्थशास्त्रीले अमेरिकाको अर्थतन्त्रमा आउँदो वर्ष मन्दी आउन सक्छ भनेर भनिराखेका छन् ।

अमेरिकाको इरानसितको प्रतिबन्धको विषय अर्को छ । जापान र दक्षिण कोरियाबीच पनि अलिकति अनमन चलिराखेको छ । उनीहरूबीच समझदारी कम भइराखेको छ । यता बेलायत चाहिँ ब्रेग्जिटबाट विना योजना बाहिर निस्कन खोजिरहेको छ । त्यसमा संसद र प्रधानमन्त्रीबीच द्वन्द्व चलिराखेको छ ।

युरोप पनि आफ्नै खालको समस्यामा परिराखेको छ । यसकारणले विश्व अर्थतन्त्र तरल भएको छ । यसमा अनिश्चितता बढेको छ । फलस्वरुप शेयर मार्केट अस्थिर भएको छ । तेलको भाउ कहिले तल जान्छ, कहिले माथि जान्छ ।

विश्वमा डलरप्रति मानिसको आकर्षण बढेको छ । सुनप्रति आकर्षण बढेको छ । डलर र सुनप्रति आकर्षण हुँदाखेरी केही लगानीकर्ता भारतबाट अमेरिका फर्केका पनि छन् । अमेरिकाको केन्द्रीय बैंकले व्याजदर घटाइदिएको छ । 

अमेरिकी अर्थतन्त्र अहिले अलिकति बलियो देखिएको छ तर अमेरिकी राष्ट्रपतिको अस्थिर नीति र अरुसँग समन्वय नराख्ने खालको नीतिले गर्दा त्यहाँ पनि भोलि लगानीकर्ता भड्किने स्थिति देखिएको छ । त्यसकारणले अमेरिकामा पनि अस्थिरता आउँछ कि, मन्दी आउँछ कि भन्ने आशंका अहिले सिर्जना भएको छ ।

भारतमा हिजोको जीएसटी (वस्तु तथा सेवा कर) लागू हुँदादेखिकै विषय छ । अर्को मुद्राको विमुद्रीकरण (डिमोनिटाइजेसन) गरेको विषय छ । अमेरिकामा करको दर घटेको, केन्द्रीय बैंकले व्याजदर घटाइदिएको कारण, अमेरिकी डलर बलियो भएको कारणले गर्दा  भारतको अर्थतन्त्रमा त्यसको असर परेको छ ।

भारतमा खासगरी अटोमोबाइल्स क्षेत्रमा खरिद दर कम भएर गएको छ । उत्पादन क्षेत्रमा पनि खरिद कम भएर गएको छ । यसले गर्दा पछिल्लो ३ महिनामा गएर ५ प्रतिशतको मात्रै आर्थिक वृद्धि भएको छ । यसअघि ७ प्रतिशतको आर्थिक वृद्धि थियो । यो विश्व अर्थराजनीतिमा अस्थिरता हो । हङकङमा पनि अस्थिरता छ ।

यी सबै कारणले गर्दा विश्वमा आर्थिक विषय पनि प्रभावित भएको छ । विश्वमै अर्थतन्त्र प्रभावित भएका कारणले विश्वमै माग कम हुने सम्भावना छ । भारतमा पनि त्यसको केही संकेत देखा परेको छ । अमेरिकामा पनि त्यो देखिन्छ भन्ने अनुमान गरिएको छ ।

नेपालमा असर

नेपालमा यसको असर परिसक्यो । अंग्रेजी डलर बढ्नासाथ सुनको भाउ पनि बढेको देखिएकै छ । भारतसँगको स्थिर विनिमय दर, भारतीय मुद्रा कमजोर भयो, अमेरिकन डलर बलियो भयो, नेपालमा अमेरिकी डलर १ सय १५ करीब पुगिसक्यो । त्यसको असर स्वरुप नेपालका योजना पनि प्रभावित हुन्छन् । नेपाली उपभोक्ता पनि प्रभावित हुन्छन् ।

जोगिने उपाय

विश्व अर्थतन्त्रको प्रभावबाट जोगिन नेपालले आन्तरिक उत्पादन बढाउनु नै मुख्य समाधान हो । आन्तरिक उत्पादन बढायो भने एउटा डलर बलियो भएको बेलामा निकासी बढ्न सक्छ र अर्को आयात प्रतिस्थापन गर्न सक्यो भने व्यापार घाटा कम भएर जान्छ । 

त्यसकारणले गर्दा खर्चमा मितव्ययीता कायम गर्ने र आन्तरिक उत्पादन बढाउने पट्टि लाग्नुपर्ने अवस्था छ । यो गर्‍यो भने केही राहत हुन सक्छ । उत्पादन बढाउने कुरा दीर्घकालीन विषय होइन, तत्कालीन रुपमा पनि उत्पादन बढाउन सकिन्छ । २–४ महिनामै पनि उत्पादन बढाउन सकिन्छ ।

जस्तैः तरकारी नै वार्षिक रुपमा धेरै आयात भइराखेको छ । उत्पादन त कुनै ३ महिनामै उत्पादन गर्न सकिएला, कुनै ६ महिनामा उत्पादन गर्न सकिएला, कुनै १ वर्षमै पनि गर्न सकिएला । सिमेन्टको उत्पादन बढाउन सकियो, औषधिको उत्पादन बढाउन सकियो भने सजिलो हुन्छ । १–२ महिनामै उत्पादन बढाउन सकिने कुरा पनि त छन् तर रणनीतिक हिसाबले कुन कहिलेसम्म बढाउन सकिन्छ भनेर त्यहीँ अनुसार हिँड्नुपर्‍यो ।

प्राध्यापक डा. डिल्लीराज खनाल, अर्थशास्त्री

भारतीय अर्थतन्त्रमा आएको समस्याबारे बाहिर धेरै कुरा आई नै सकेका छन् । मूलरुपमा विमुद्रीकरण र जीएसटी लागू हुनु नै हुन् । बैंकमा भएको लेनदेनको कारणले ‘रियल सेक्टर’ खासगरी उत्पादनमूलक क्षेत्र र अटो इन्डस्ट्रीदेखि लिएर कन्सट्रक्सनजस्ता धेरै कुरामा असर पार्‍यो ।

भारतीय बजेटमा गरिएका बजेटका व्यवस्थाले पनि केही असर पार्‍यो । यद्यपि अहिले बजेटका व्यवस्था हटाउने घोषणा गरिसकेको छ ।

चीन र अमेरिकाबीच व्यापार, मुद्रा युद्ध चलिरहेको छ । त्यसको प्रत्यक्ष, परोक्ष असर विश्व अर्थतन्त्रमै परेको छ । त्यसमा पनि डलरको मूल्य बढिराखेको छ । योबीच भारतमा पनि राजस्व घटेको छ । यी सबैको असर हो । यो असर तत्कालीनभन्दा पनि अलि दीर्घकालीन प्रकृतिको हुने हो कि भन्ने हो र दीर्घकालीन भयो भने त्यसले नेपालमा बहुआयामिक हिसाबले नै प्रतिकूल असर पार्न सक्छ ।

समग्रमा सबै आयामबाट हेर्दा प्रतिकूल असर पार्न सक्छ । भारतीय पर्यटक कम आउन सक्छन् । भारतमा जाने नेपालीको रोजगारी खोसिन सक्छ । यसबाट जोगिने भनेको उत्पादन बढाएर निर्यात प्रोत्साहन गर्ने नै हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित