४ मंसिर, काठमाडौं । पुत्र वियोगको पीडामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार बिहान लाजिम्पाटस्थित निवास आएकाहरुलाई उनले भने, ‘जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ । नर्मल भइसकेको त छैन । पीडा ठूलै छ ।’
उनले अघि भने, ‘मैले त पार्टीको लिडरको हैसियतले, हिजोको युद्ध, शान्ति सबै घटनाले रियलाइज गर्नसक्ने नै कुरा छ तर परिवारलाई सम्हाल्न गाह्रो छ । भावुक देखिएका प्रचण्डले छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा र दाहसंस्कारमा सहभागी भएकाहरु सबैलाई धन्यवाद समेत दिए । शोकको समयमा सबैबाट रचनात्मक सहयोग पाउँदा आफ्नो परिवारलार्इ शक्ति प्राप्त भएको उनले बताए ।
प्रचण्ड निवास पुग्नेहरुले त्यहाँ राखिएको प्रकाश दाहालको तस्वीरमा पुष्प गुच्छा चढाउने र परिवारका सदस्यहरुलाई भेटेर समवेदना प्रकट गर्ने गरेका छन् ।सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहाल परिवारलाई भेटेकी छन् । उनले स्वर्गीय प्रकाशको तस्वीरमा पुष्प गुच्छा चढाएकी थिइन् ।