३ साउन, काठमाडौं । यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियालाई मात्र ५८ रनमा अलआउट गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको नेपालले फिल्डिङ रोज्यो । व्याटिङमा आएको मलेेसियाको सुुरुवात खराब रहृयो । पहिलो ओभरको पाँचौं बलमा नै किशोर महतोले पहिलो विकेट लिँदा मलेसियाले खाता समेत खोल्न सकेको थिएन ।
सैफुला मलिक र वीरदीप सिंहले दोस्रो विकेटका लागि २१ रनको साझेदारी गर्दै पारी सम्हाल्न खोजे । तर, १२ औं ओभरको चौथो बलमा नेपाली टोलीका कप्तान समेत रहेका सन्दिप लामिछानेले मलिकलाई व्यक्तिगत ८ रनमा आउट गराए ।
त्यसपछि पवन सरार्फले लगातार २ विकेट लिए भने सन्दिपले दोस्रो विकेट लिँदा मलेसियाले १३.५ ओभरमा मात्र २६ रन जोडेर महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।
त्यसपछि पनि मलेसियाका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । १० औं विकेटरका लागि भने हायकल खैर र हफिजुद्दिनले १९ रनको साझेदारी गरे । तर, २५.५ ओभरमा सन्दिपले खैरको विकेट लिएपछि मलेसिया ५८ रनमा अलआउट भयो ।
मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दिप एक्लैले ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र १७ रन दिए ।
पवन सरार्फले ३ विकेट लिँदा किशोर महतो र सन्दिप सुनारको नाममा १-१ विकेट रहृयो ।