काठमाडौं । १६माघ, पीपुल नेपाल । अन्तर्बार्ता : विकासको कुरा उठ्यो कि राजनीतिक अस्थिरतालाई दोष जान्छ । राजनीति र आर्थिक विकासबीचको व्यवहारिक सम्बन्ध के हो ?
आधुनिक जमानाको लोकतान्त्रिक पद्धतिमा राजनीति भनेकै जनता र मुलुकका लागि हो । मुलुक विकसित भएन भने लोकतन्त्र टिक्न गाह्रो हुन्छ । राजनीतिक अस्थिरताको कारण विकास हुन सकेन भन्ने धारणा बनेको पाइन्छ । तर, राजनीति भनेको सधैं अस्थिर नै हुन्छ । स्थिर त तानाशाही व्यवस्था मात्र हुन्छ । लोकतन्त्र भनेकै परिवर्तनशील हो । जनप्रतिनिधिहरु भएको सभामा सहमति भएन भने सरकार परिवर्तन हुन्छ । त्यसैले राजनीति भनेको सधैं स्थिर रहने विषय हुँदै होइन ।
हामीकहाँ राजनीतिक अस्थिरता समस्या होइन, संस्थागत र प्रशासनिक स्थिरता मुख्य समस्या हो । राजनीतिक परिवर्तन हुने बित्तिकै मन्त्रालयको सचिव, योजना प्रमुख, कार्यालय प्रमुख र विभाग प्रमुख सबै परिवर्तन गरिदिने, जसले गर्दा हाम्रा संस्थाहरु कमजोर हुँदै आएका छन् । राजनीतिक नेतृत्वले संस्था बलियो बनाउनुपर्छ भन्ने कुरामा ध्यान नदिएका कारण विकास नहुँदा दोषी चाहिँ राजनीति देखिएको हो ।
त्यसो भए पुराना पार्टीहरुले जनतासँग आफ्नो असफलता ढाक्न झुट बोलेका हुन् त ?
यहाँनेर राजनीति र राजनीतिज्ञलाई छुट्याएर बुझ्नु पर्दछ । राजनीति दोषी होइन, जो व्यक्तिहरु राजनीतिमा लाग्नुभयो, जसलाई हामी राजनीतिज्ञ भन्छौं, उहाँहरुमा राजनीतित्रमा हुनुपर्ने चरित्र र गुणहरु भएनन् । यदि राजनीतिज्ञमा हुनुपर्ने चरित्र र गुण हुन्थ्यो भने त आफूमाथि नै विश्वास हुन्थ्यो नि ! कुनै अमुक व्यक्ति मन्त्री हुनेबित्तिकै त्यहाँको सचिव मन नपर्नुको कारण उसलाई आफूमाथि विश्वास नभएर हो । जसलाई आफूमाथि विश्वास हुन्छ, उसले अरुलाई पनि विश्वास गर्छ र अरुबाट पनि काम लिनसक्छ ।
आफूप्रति भरोस र विश्वास नभएको व्यक्ति राजनीतिमा लाग्नु नै नेपालको लागि समस्या भयो । राजनीति भनेको सहजै गर्न सकिन्छ, अध्ययन चाहिँदैन, राम्रो पढ्न सकिएन भने मेरो पेशा भनेकै राजनीति हो, भन्ने अवधारणा राणाकालदेखि नै विकास हुँदै आयो । राजनीतिज्ञको विकासका लागि धेरै मुलुकले लामो समय खर्च गरेका छन् । विकसित मुलुकले बीसौं वर्ष लगाएर एउटा परिपक्व राजनीतिज्ञको विकास गरेका छन् । हामीकहाँ राणाकाल र पञ्चायतकालमा खुलेर राजनीतिक गतिविधि गर्न पाइएन । राजनीति भनेको गफ गर्ने मेलो जस्तो भयो । जसको कारण राजनीतिक संस्कार भनेजस्तो विकास हुन सकेन, जसको नमूना हामीले अहिले देखिरहेका छौं ।
हाम्रो धेरै पुस्ता राजनीतिमा लागे तर राजनीति भनेको जनताको लागि हो, मेरो परिवार नातागोताका लागि होइन भन्ने संस्कार अझै विकास हुन सकेन । त्यसैले अबको युवा पुस्ता राम्रो अध्ययन गरेर मात्र राजनीतिमा लाग्नुपर्छ । राजनीतिमा आउनका लागि केही न केही प्राविधिक ज्ञान हुनैपर्दछ । भोलिका दिनमा कुनै पदमा पुग्दा त्यो पदले मागेको कौशल र सीप उसँग भएन भने जिम्मेवारी पूरा गर्न गाह्रो हुन्छ । सीप भएको, राष्ट्रप्रति जिम्मेवार र जनतालाई सेवा गर्ने भावना भएको पुस्ता अब आउन सक्यो भने राजनीतिक संस्कार सुधार हुन्छ । अध्ययनको आधारमा म भन्न सक्छु, अरु मुलुकहरु पनि हामी अहिले जुन अवस्थाबाट गुज्रिएका छौं, उनीहरु पनि एउटा कालखण्डमा त्यसैगरी नै गुज्रिएका हुन् ।
हाम्रो देशमा ०४६ साल पछिका अवधिमा राजनीतिक संस्कार विकास हुने क्रममा छ । हो, थुप्रै नराम्रो हुँदाहुँदै, आलोचना हुँदाहुँदै पनि कतिपय संकटपूर्ण घडीमा हाम्रा राजनीतिकर्मीहरुले धेरै धेरै राम्रा कामहरु प्नि गर्नुभएको छ । हामी राम्रा कामको कदर गर्न जान्दैनौं, नराम्रो काम मात्र कोट्याउने भएकाले पनि विकृतिहरु द्येखिएको हो । सुधारचाहिँ अलिअलि भएको छ ।
त्यसैले नयाँ शक्तिले पुराना दलहरुले राजनीतिमा घोलेका गलत संस्कारबाट युवा पुस्तालाई मुक्त गर्दै नयाँ सोच र नयाँ विचारसहित युवा पंक्तिलाई नै नेतृत्वमा विकास गराउँदैछ ।
नयाँ शक्तिले राजनीति भनेको सेवा हो भन्ने संस्कारको विकास गर्न अन्य पार्टीहरुले भन्दा भिन्न के गर्दैछ त ?
अहिलेको सम्पूर्ण राजनीतिक दलहरुको संरचना आन्दोलन र युद्धकालीन संरचनाबाट बनेको हो । उनीहरुको विकास पनि त्यसैगरी भएको छ । माग गर्न सक्ने, थर्काउन सक्ने तर, आफू गएर सेवा प्रवाह गर्न नसक्ने छ । प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सक्ने तर, सरकारमा गएर काम गर्न र जनतालाई सेवा दिन नसक्नुको परिणाम पटक–पटक पनि सरकार असफल भएको छ । यो हाम्रो राजनीतिक प्रणालीमा देखिएको गम्भीर समस्या हो । यसमा सुधार गर्नुपर्छ ।
दोस्रो, राजनीति भनेको पेसा–व्यवसाय हो, राजनीति गर्ने मान्छेले अरु केही पनि गर्नु हुँदैन, राजनीतिले अरुलाई शोषण गरेर वा चन्दा लिएर चल्नुपर्छ भन्ने धारणा थियो । नयाँ शक्तिले के भन्यो भने राजनीतिक दल आन्दोलनमुखी होइन सेवामुखी हुनु पर्यो । अहिले देश निर्माण गर्ने बेला हो विध्वंस गर्ने होइन । विकास निर्माण गर्दा र आन्दोलन गर्दा सञ्चालन गर्ने संगठनको ढाँचा नै फरक हुन्छ । राजनीति भनेको पूरै समय खट्ने पैसा होइन, सेवा गर्ने मानिसले दिनमा २ घन्टा निकाले पनि पुग्छ । तर, राजनीति गर्ने व्यक्तिको जीवन गुजारा गर्ने स्रोत हुनुपर्यो ।
तेस्रो, निरन्तर अध्ययन परिस्कृत हुँदै गएर राजनीतिमा नयाँ विचार प्रवाह गर्न सक्ने हुनुपर्यो । हामीले धेरै अगाडि अरु कसैले विकास गरिदिएको विचारमा आश्रित भएर, त्यहीँ विचार ठीक हो भन्ने मान्यता समयकाल अनुसार तोड्नुपर्छ र हाम्रो समाजको आवश्यकतालाई परिपूर्ति गर्ने खालको राजनीतिक सोँच आफैंले विकास गर्नुपर्छ भनेर लागेका छौं । त्यो विकास गर्ने क्रममा कतिपय कुराहरु विगतका ठीक पनि होलान्, कतिपय कुराहरु बेठीक भए भने परिवर्तन गर्नुपर्छ । त्यसैले हामी अलिकति नयाँ ढर्राबाट काम गर्न खोजिरहेका छौं ।
यति गर्दागर्दै पनि पार्टी गठन भएको यो ९/१० महिनाको अवधिमा ‘नयाँ शक्तिमा पनि विकृति आउन सुरु हुन थाल्यो है, अब त नयाँ शक्ति पनि पुरानो शक्ति जस्तो देखिन थाल्यो भन्ने चर्चा बेलाबेलामा उठ्छ ।’ कतिपय पार्टीभित्रबाट उठ्छ, कतिपय बाहिर बसेकाबाट उठ्छन् । नयाँ शक्ति राम्रो बन्ने हो भने म त्यहाँ गएर सरिक हुन्छु तर, बन्छ कि बन्दैन भन्दै धरमराउने व्यक्तिहरुबाट पनि यो प्रश्न बेलाबेलामा उठ्ने गरेको छ । यो मानवीय स्वभाव हो । कतिपय स्वभाव हामीले त्याग्नलाई समय लाग्छ ।
एकै दिनमा हामीले धेरै वर्षदेखि लिँदै आएको विचारलाई त्याग्नु भनेको त ठूलो चुनौती हो । त्यो चुनौती धेरै कम मान्छेले मात्र झेल्न सक्दछ । त्यो चुनौती झेल्न सक्ने मान्छेले मात्र दीर्घकालीन सोँच राखेको हुन्छ, जुन कुरा धेरै मान्छेले देख्न सक्दैनन् । जस्तै– डा. बाबुराम भट्टराईले त्यो चुनौती स्वीकार गर्नुभयो । सारा जीवन बिताएको ठूलो दल त्यागेर आउनुभयो । किन त ? किनकी अब त्यहाँ रहेर त्यही किसिमको विचार, संरचना र प्रणालीमा रहेर आम नागरिकको चाहना परिपूर्ति गर्न सकिँदैन भन्ने बुझ्नुभयो । त्यसका लागि नयाँ विचारधारा र कार्यशैली चाहिन्छ भनेर आउनुभयो ।
यसैसँग गासिएको अर्को कुरा, नेपाली समाजको चरित्रलाई नबुझीकन हामीले राजनीतिक गर्यौं भने पनि त्यो राजनीतिक दीगो हुँदैन । योभन्दा अगाडि क्षमताको आधारमा मात्र हुनुपर्छ, राजनीति गर्ने त खानदानी मान्छेले मात्र हो भन्ने धारणा थियो । हामी बहुभाषिक, बहुजातीय देशमा सबैले आफ्नो सम्मान र आफ्नो स्थानचाहिँ समाजमा छ भन्ने महसुस गर्न वा राजनीतिले महसुस गराउन सकेन भने कुनै पनि बेला द्वन्द्व हुनसक्छ । विगतमा राजनीतिक दलहरुले यो कुरा बुझेनन् । अब बुझेर त्यसालई आत्मसात् गर्दै त्यही खालको संगठन निर्माण गर्ने सोचसहित नयाँ शक्ति अगाडि आएको हो ।
नयाँ शक्तिले भनेको छ नि ‘समृद्धि सम्भव छ, हाम्रै पालामा’ त्यो कसरी सम्भव छ ?
करिब ४/५ वर्ष अगाडिको बंगलादेशको तथ्यांक नेपालसँग तुलना गर्नुभयो भने करिब करिब सबै सूचकांकमा हामी अगाडि थियौं । ऊ बेला हाम्रो देशमा द्वन्द्व र संकटकाल भए पनि सुरक्षा राम्रो थियो । बंगलादेशले यो चार पाँच वर्षको अवधिमा हामीलाई उछिन्यो । मानव विकास सूचकांकमा पनि हामीलाई उछिन्ने क्रममा छ । प्रतिव्यक्ति आम्दानी पनि हाम्रोभन्दा राम्रो भइसकेको छ । न्यून आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा विकास भइसकेको छ । त्यो कसरी सम्भव भयो ? मान्छे तिनै हुन् । बाहिरबाट आएकाहरुले काम गरेका होइन । अर्थात् विदेशमा गएर, धेरै अनुभव भएका अर्थात् विदेशमै बसेका, हुर्केका बंगलादेशी आएका पनि होइनन् । त्यहीँका जनताले गरेका हुन् । त्यहीँ भएका राजनीतिक दलहरुले गरेका हुन् ।
उनीहरुले खाली पुरानो सोँचमा परिवर्तन गर्न सफल भए । तर, हाम्रा राजनीतिक दलले त्यो गर्न सकेनन् । उनीहरुले जे बोल्छौं, त्यो गर्नुपर्छ भन्ने मान्यताको विकास गरे । सानोतिनो कुरामा छिमेकी मुलुकसँग झगडा गरेर हुँदैन भन्ने बुझेँ । तर हामी राष्ट्रियताको सवाल उठाउँदा भारत र चीनको नाम लिन्छौं । बंगलादेशमा पनि त्यही थियो । तर अहिले राष्ट्रियताको सवाल उठाउँदा भारत र चीनलाई गाँस्न आवश्यक छैन भन्ने बुझेँ । हामीलाई चाहिएको लगानी, प्रविधि हो, ती मुलुकसँगको बजार हो । हामीले ती मुलुकसँग राम्रो सम्बन्ध राख्न सक्यौं भने लगानी आउँछ, बजार पनि बन्छ । त्यसैले अहिले भारत र बंगलादेशको सम्बन्ध राम्रो छ ।
भारतीय बजारमा बंगलादेशी समानले निर्वाधरुपमा प्रवेश पाइरहेका छन् । भारतीय लगानीकर्ताले बंगलादेशमा लगानी गरिरहेका छन् । भारत सरकारले पनि ठूलो आर्थिक सहयोग गरेको छ । चीन सरकारले पनि गरेको छ । दुवै देशका सरकारको फाइदा लिएर बंगलादेश अहिले अगाडि बढ्दैछ । यदि हाम्रो राजनीतिक नेतृत्वमा पनि विकास गर्ने इच्छाशक्ति र इमान्दारिता भयो भने केही वर्षभित्रै आर्थिक समृद्धि सम्भव छ ।
समृद्धिको लागि चाहिने आधार तत्वहरु के–के हुन सक्छनु त ?
आम्दानी नबढीकन समृद्धि हुँदै हुँदैन । समृद्धिको पहिलो आधार उत्पादन वृद्धि नै हो । उत्पादन वृद्धि नभइकन हाम्रो राष्ट्रिय सम्पत्ति बढ्दैन । सम्पत्ति बढ्यो भने उत्पादन बढ्छ । उत्पादन बढेर मात्र हुँदैन, त्यसको लागि सही तरिकाले वितरण भएन भने उत्पादन केही सिमित व्यक्तिको हातमा मात्रै जान्छ । त्यसले समृद्धि प्राप्त हुँदैन । बरु द्वन्द्व निम्त्याउँछ । त्यहाँ हुने र नहुनेबीच सधैं द्वन्द्व भैरहन्छ ।
यसमा नयाँ शक्तिले भनेको छ, पहिलो कुरा उत्पादन वृद्धि गर्नको लागि चाहिने नीति कार्यक्रमहरुको परिकल्पना गर्ने र त्यसलाई लागू गर्ने हैसियतमा हामी पुगेनौं भने पनि त्यो लागू गराउनको निम्ति शान्तिपूर्ण तरिकाले राजनीतिक दबाव सिर्जना गर्छौं अथवा त्यसमा क्रियाशील रहन्छौं । दोस्रो, उत्पादन वृद्धि हुँदा त्यसको प्रतिफल कतिपय अवस्थामा समान वितरण नहुन पनि सक्छ । मह काट्दा सबैभन्दा पहिले मह काट्नेको हातमा लाग्छ भनेजस्तै उत्पादन गर्नेको नियन्त्रणमा बढी जान पनि सक्छ । हो, त्यहाँनेर सरकारले ध्यान पुर्याउनु पर्छ । वितरणको एउटा माध्यम भनेको सहकारी हो । यसमा गर्न सक्ने वा नसक्ने सबैको आधारभूत आवश्यकता पूरा हुनुपर्छ । आर्थिकरुपमा समान सहभागिता हुनको निम्ति चाहिने सीप दक्षताबाट कोही पनि बञ्चित हुन भएन । कर्जा पनि समाज रुपमा वितरण हुनुपर्यो । कसैले ब्याज धेरै दिनुपर्ने कसैले थोरै दिनुभएन । यस्ता कुरामा समानुपातिक वितरण गर्नुपर्छ । उत्पादनको वृद्धि र समानरुपमा वितरणलार्य ख्याल पुर्याउनुपर्छ । उत्पादन वृद्धि नगरी वितरण कसरी गर्ने ? रित्तो भाँडामा के हुन्छ र, उत्पादनको वृद्धि र वितरणलाई सँगसँगै लैजानुपर्छ । आम्दानी पनि सरकारले न्यायोचित ढंगले वितरण गरेको छ भन्ने कुरा जनतालाई अनुभूत गराउनुपर्छ । पैसा खर्च गरेर मात्र समृद्धि हुँदैन, चेतना जगाउन सक्नु पनि समृद्धिको एउटा आधार हो ।
बेलाबेला हामी राष्ट्रियता कमजोर भयो भन्छौं नि । यसलाई कसरी बलियो बनाउने होला ?
हाम्रो राष्ट्रियताको दुश्मन त बाहिर खोजीरहनु पर्दैन । हाम्रै देशभित्र रहेको गरिबी र मन्दगतिमा रहेको विकास, हाम्रो समाजमा रहेको विभेदले नै राष्ट्रियता कमजोर भएको छ । हामीले सम्बोधन गर्ने भनेको गरिबीलाई कम गर्ने र विभेद हटाउन सक्यो भने आम जनताले बुझ्छन् कि राष्ट्रियता कमजोर कहाँ भएको रहेछ ।
राजनीतिप्रति जनताको वितृष्णा बढेको पाइन्छ । राजनीति बेठिक होइन भन्ने नकरात्मक सोंचको विकासका लागि नयाँ शक्तिसँग केही सुत्र छ कि ?
पहिलो त हामीले जे बोल्छौं त्यो गर्यो भने विश्वास बढेर जान्छ । नयाँ शक्तिले जे कुरा बोलेको छ त्यो अनुसार काम गर्दै अगाडि बढेको छ । जिल्लातिर जानु भयो भने जनताले भन्छन् नयाँ शक्तिमा केही नयाँपन छ है । यो मैले भन्नको लागि भनेको होइन । यो कुरा मैले हाम्रो अभियन्ता साथीहरुलाई सोधेको पनि होइन, यो पार्टीमा आवद्ध नभएका जनताको कुरा हो ।
नयाँ शक्तिले समाज सुधारका लागि केही अभियान सञ्चालन गर्यो । त्यसालई जनताले नजिकबाट हेरेका छन् । समाज सुधार गर्न र समृद्धिका लागि सरकारमा गइरहनु पर्छ भन्ने छैन । हामीले त बाटो हिँड्दा थुक्न छोड्यौं भने शहर सफा हुन्छ, त्यो पनि समृद्धि हो । पैसाले मात्र समृद्धि हुन्छ भन्ने छैन, सभ्यताका निम्ति मान्छेलाई सभ्य व्यवहार गर्यो भने त्यो पनि समृद्धिको सूचक हो । विरोधका कार्यक्रम गर्दा पनि हामीले अनुशासित ढंगले गरेका छौं । कहीँ पनि तोडफोड गरेका छैनौं । ध्वंस गर्ने काम नयाँ शक्ति पार्टीको हुँदै होइन । सिर्जना भएको सम्पत्तिको रक्षा गर्नु पनि समृद्धिको रक्षा गर्नु हो । हामीले हाम्रा राजनीतिक गतिविधिलाई तडकभडक गर्दैनौं भन्ने व्यवहारले पुष्टि गर्दै आएका छौं । त्यसकारण नयाँ शक्तिले जे बोल्छ त्यो गर्छ भन्ने जनतामा परेको छ । अर्को कुरा, डा. बाबुराम भट्टराईले सरकारमा रहँदा गरेको काम जनताले देखेका छन् । उहाँ अर्थमन्त्री हुँदा सबैभन्दा बढी राजस्व उठेको थियो ।
सरकारको काम आम नागरिकालाई सेवा पुर्याउनको लागि चाहिने स्रोत जुटाउने हो । राम्रो स्रोत जुटाउनु भनेको त ठूलो काम हो । उहाँ प्रधानमन्त्री हुँदा काठमाडौंका साँघुरा गल्लीहरु फराकिला भएका छन्, फुटपाथ फराकिला छन् । व्यवसाय गर्न सजिलो भएको छ । कतिपय नयाँ व्यवसाय सुरु भएको छ । उहाँले आफ्नो कार्यकालमा गरेको कामले काठमाडौंमा रोजगारी दिने क्षमताको वृद्धि भएको छ । काम गरेर देखाउन सकेपछि जनताले विश्वास नगर्ने कुरै हुँदैन । आखिर समृद्धि ल्याउने भनेको त आम नागरिक र प्रत्येक घरले हो । सरकारले त काम गर्ने अवसर जुटाउने हो । घर समृद्ध भए वडा हुन्छ, वडा भए गाविस हुन्छ, यसैगरी देश समृद्ध बन्छ । नागरिक सचेत छन् । सही र गलत के हो छुट्याउन सक्षम पनि छन् ।
२५ वर्षमा समृद्ध नेपाल निर्माण गर्ने नयाँ शक्तिको कार्ययोजनाले शहरी क्षेत्र र ग्रामिण क्षेत्रलाई समानरुपले कसरी विकास गर्न सक्छ ?
नयाँ शक्तिको आफ्नो कार्ययोजनामा स्पष्ट लेखिएको छ, काठमाडौं किन राम्रो भयो, कर्णाली किन राम्रो भएन ? किनकी काठमाडौंमा सम्पूर्ण पूर्वाधार केन्द्रित छन् । स्वास्थ्य, शिक्षा र यातायात सबै काठमाडौं केन्द्रित छन् । सरकारले विकासका लागि काम गर्ने भनेको पूर्वाधार खडा गर्नु नै हो । पूर्वाधार बनाइदिए आम नागरिकले विकास आफैं गर्दछन् । विकासको लागि सबैलाई चाहिने सामरिक पूर्वाधार र रणनीतिक पूर्वाधारमा अहिलेसम्म ध्यान दिइएन । हामीले अब सबैतिर रणनीतिक पूर्वाधारमा ध्यान दिन्छौं भनेका छौं, त्यो अनुसारको खाका तयार पनि छ ।
काठमाडौंमा मात्र होइन, कर्णालीमा १२ महिला चल्ने डबल लाइनको बाटो निर्माण गर्ने हो भने काठमाडौं भन्दा धनी हुन्छ । कर्णालीमा स्याउ खेती, जडिबुटी, त्यहाँको कृषिजन्य उत्पादन संसारको जुनसुकै देशमा पनि बिक्री हुन्छ । त्यहाँ जलविद्युत पूर्वाधारको सम्भावना छ । तर त्यहाँ पूर्वाधार छैनन् । विकासको लागि चाहिने पूर्वाधार निर्माण गर्नुपर्छ भन्ने नयाँ शक्तिको एजेन्डा हो । आवश्यक पूर्वाधारको विकास हुने बित्तिकै समृद्धिको बाटो खुल्छ । ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात र विद्युत लगायतको पूर्वाधार विकासमा जोड दिनुपर्छ । नयाँ शक्तिले रणनैतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ ।
समृद्धिका लागि राजनीतिक दलका भातृसंगठनको भूमिका कस्तो हुनुपर्छ ?
राजनीतिक दलहरुले आम नागरिकलाई के गर्दा सेवा पुग्छ त्यो काम गर्नुपर्छ । पुराना राजनीतिक दलहरुले पार्टी पंक्तिलाई चक्काजाम गर्न, विरोध जुलुस गर्न र तोडफोडमा प्रयोग गर्यो तर नयाँ शक्तिले यसमा प्रयोग गर्दैन । नयाँ शक्तिले समाज सुधारमा लगाउँछ । हाम्रो सामान्य हिसाब छ, कुनै पनि विद्यालयमा वर्षभरी राम्रो पढाई हुन्छ भने असल विद्यार्थी उत्पादन हुन्छ । असल विद्यार्थी उत्पादन हुनु भनेको देशलाई चाहिने सीपयुक्त जनशक्ति तयार हुनु हो ।
नयाँ र समृद्ध नेपाल निर्माणका लागि कर्मचारी संयन्त्रको भूमिका कस्तो हुनुपर्छ ?
कर्मचारी सरकारमा हुने राजनीतिक दलको हतियार हो । जुन राजनीतिक दल सरकारमा जान्छ उसैले परिचालन गर्ने हो । अर्को परिभाषामा स्थायी सरकार भने पनि सरकारमा जुन राजनीतिक दल छ उसैले भने अनुसार काम गर्नुपर्छ । मुख्य कुरा कर्मचारीको मनोबल उठ्ने गरी सरकारमा रहेका दलहरुले राम्रो काम गरे प्रशंसा र नराम्रो काम गरे दण्ड दिन्छौं, कुन पार्टी र नेता मेरो भन्ने होइन, जनतालाई सेवा दिने कुरामा ध्यान दिनुस् भन्ने वित्तिकै काम गर्ने वातावरण बन्छ ।
सबै कर्मचारी राजनीतिमा आवद्ध छन् । तपाईं भने जस्तो सजिलो छ त ?
संगठन र राजनीति त जनताले गर्ने हो । कर्मचारीको काम त जनताले तिरेको करबाट तलब लिएर जनताको सेव ागर्ने हो । कर्मचारी त जनताका सेवक हुन् । उनीहरु मालिक होइनन् । जनताको सेवकले त जनताकै विरुद्ध आन्दोलन गर्ने भनेको स्वभनीय हुँदैन । कर्मचारीले त आफूलाई व्यवस्थित गर्नको लागि नियमहरु आफैं बनाउँछन् । संसदले नियम बनाउने होइन, कर्मचारीले मस्यौदाको रुपमा त्यहाँ पेस गर्दछन् । कर्मचारीले आफूलाई चाहिने सुविधा व्यवस्थित गर्न जस्तो सजिलो कसैलाई छैन नि !
नेपाल बिग्रनुको एउटा कारण कर्मचारीलाई राजनीतिमा लगाएर पनि हो । कर्मचारी राजनीतिमा लाग्नु छ भने राजीनामा दिएर लाग्दा हुन्छ नि ? आम नागरिकलाई राजनीति गर्ने अधिकार छ तर, जनताले तिरेको करबाट तलब खाएर राजनीति गर्न पाईंदैन । जनतालाई असजिलो हुनेगरी राजनीति गर्ने अधिकार छैन ।
अहिले त कर्मचारीले जनताको हितका लागि भन्दा पनि व्यक्तिगत लाभका लागि मात्र काम गरेका छन् । संगठनमा आवद्ध कर्मचारीकै कारण घुसखोरी मौलाएको छ । यो त राजनीतिक पार्टीले गर्नै नहुने काम गरेको छ । कर्मचारी त विधिले चलाउने हो । विधिबाट चल्ने बित्तिकै कर्मचारीले काम गरिहाल्छन् ।
बेलायतले तिनै नेपालीलाई राखेर संसारमा विजय हासिल गर्ने तर नेपालमा कतिपय अवस्थामा प्रहरीलाई एउटा अपराधी पक्रन गाह्रो हुन्छ किन ? पुलिसले नसकेर होइन, काम गर्नै दिइँदैन । केही प्रहरीले सेवा ठानेर आफ्नो नोकरी धरापमा राखेर काम गरेका छन् तर सबैले त्यो त गर्न सक्दैनन् । अर्को राजनीतिक दलको नेता बनाउने कर्मचारी अनि त्यो काम कसरी हुन्छ ? मेरो विचारमा त्यो ठूलो समस्या होइन, त्यसालई त निकै छोटो अवधिमा सच्याउन सकिन्छ ।
नयाँ शक्ति पार्टीलाई विधिको शासनमा चलाउनको निम्ति कस्तो खालको कार्ययोजना बनाउने प्रयत्न गर्नुभएको छ ? सुशासन त राजनीतिक दलमा पनि हुनुपर्छ होला नि ?
आर्थिक पारदर्शिताका लागि आर्थिक नियमावली बनाएका छौं । पार्टीका राजनीतिक र प्रशासनिक गतिविधिहरु पनि पार्टीको सिद्धान्त बमोजिम तोडफोड र फजुल खर्च नगर्ने कार्यविधि बनेको छ । त्यसैगरी प्रशासकिय कार्यविधि पनि बन्दैछ । पार्टीका नेताहरुको सोँचमा समानता ल्याउनका लागि कार्यविधि बनेका छन् । पार्टीको बारेमा कुनै पनि नेताले आफूले चाहेबमोजिम होइन कि पार्टीको दस्तावेजमा लेखेअनुसार हुनुपर्छ भनेर ‘पाँच स’ पार्टीको मुलमन्त्र बनेको छ ।
दस्तावेजमाथि बैठकमा बहस हुन्छ, त्यहाँबाट टुंगिएपछि सबैले स्वीकार्नुपर्छ । त्यो नै विधिमा चल्नु हो । विधिमा चल्दाचल्दै पनि कतिपय अवस्थामा तलमाथि हुन्छ । नयाँ शक्तिमा विभिन्न क्षेत्रबाट साथीहरु ऋाउनुभएको छ । जो जहाँबाट आयो उसको दिमागमा विगतको पृष्ठभूमि केही समय एउटा कुनामा रहिरहन्छ । त्यो भन्दा वित्तिकै परिवर्तन हुँदैन, विस्तारै हुने हो ।
तपाईंको विचारमा पुरानो कार्यशैली कसरी सुधार्न सकिएला ?
विधिको शासन मान्न नचाहने त मानवीय स्वभाव नै हो । मानिसमा अलिकति जनावरको प्रवृत्ति रहिरहन्छ । यो पुरै त कहिले पनि सच्चिँदैन । तर, पार्टीको उच्च पंक्तिमा रहेका व्यक्तिहरुले केहीगरी विधिको शासनमा रहेनन् भने त्यहाँबाट हट्ने र हटाउने विधि हुन्छ ।
रामेश्वर खनाल : आर्थिक व्यवस्थापन तथा सुशासन विभाग प्रमुख, नयाँ शक्ति पार्टी, नेपाल
(नयाँ शक्ति नेपाल, विचारप्रधान मासिकको साभार)