July 7, 2017

शल्यक्रियाअघि बेहोस बनाउने डाक्टरलाई भेट्नु कति जरुरी

डा. विदुरकुमार बराल

 

गरिमालाई (नाम परिर्वतन) असाध्यै पेट दुख्यो र उनी अस्पताल गइन्। उनको सबै जाँच भयो। पेटको भिडियो एक्स–रे पनि गरियो। उनको पित्तथैलीमा ढुंगा भएको कुरा पत्ता लाग्यो र चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिए। त्यसपछि उनले शल्यचिकित्सकलाई भेटिन् र सम्पूर्ण रिपोर्ट देखाइन्। शल्यचिकित्सकले पनि शल्यक्रिया गर्नुपर्ने कुरा नै बताए। उनी शल्यक्रिया गर्न तयार भइन्। उनको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भयो।

तर, उनले बेहोस गर्ने चिकित्सक को हो? कसले उनलाई बेहोस गरायो? शल्यक्रिया गराउने कक्षमा बेहोस बनाउँदा प्रयोग हुने आवश्यक उपकरणहरु थिए वा थिएनन्? बेहोस अवधिभर शरीरका विभिन्न प्रणालीबारे जानकारी दिने उपकरणहरु थिए कि थिएनन्? शल्यक्रियापछि बिरामी राख्ने कक्ष (पोस्ट अपरेटिप वार्ड) थियो कि थिएन? शल्यक्रियाका दौरानमा आकस्मिक जटिलता उत्पन्न भएमा त्यसको समाधानको उचित व्यवस्थापन हुने व्यवस्था थियो वा थिएन? जस्ता प्रश्नहरुबारे उनले कुनै सोधखोज नै गरिनन्। शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पार्ने प्रक्रियालाई एनेस्थेसिया भनिन्छ। त्यो कामको जिम्मा एनेस्थेसियोलोजिस्टको नेतृत्वमा हुन्छ। तर सुरक्षित एनेस्थेसिया सेवा लिनका लागि माथि उल्लेखित प्रश्नहरुको जवाफ पाउनु एउटा बिरामीको अधिकारको कुरा हो। ती प्रश्नहरुको जवाफ बारे जानकारी राख्नु बिरामी वा बिरामीको परिवारको निम्ति जरुरी हुन्छ। 

गरिमाजस्तै आममानिसले शल्यक्रिया गराउने क्रममा शल्यचिकित्सकबारे मात्र जानकारी लिन्छन् तर उनीहरुलाई शल्यक्रियाको क्रममा बेहोस बनाउने छुट्टै चिकित्सक हुन्छन् भन्नेसम्म जानकारी राखेको पाइँदैन। शल्यक्रिया गर्ने कार्य शल्यचिकित्सकले गर्छन् भने शल्यक्रिया गराउँदा बिरामीलाई चेतनारहित, वेदनारहित तथा शरीरका सम्पूर्ण मांसपेशीलाई शिथिल गराउने छट्टै चिकित्सक हुन्छन्।  यिनीहरुलाई नै एनेस्थेसियोलोजिस्ट भनिन्छ।

बिरामीलाई एनेस्थेसियोलोजिस्टले बेहोस बनाएपछि मात्रै शल्यचिकित्सकले शल्यक्रिया गर्छन्।  शल्यक्रिया अवधिभर बिरामीको मुटुको धडकन, श्वासप्रश्वास लगायत शरीरका अन्य प्रणालीको निगरानी राख्ने काम पनि यिनै एनेस्थेसियोलोजिस्टले गर्छन्। यिनीहरु शल्यक्रिया अवधिभर निकै सजक र सचेत रहन्छन्। किनकि शल्यक्रियाको दैरानमा देखिने समस्याहरुको सही समयमा पहिचान र त्यसको उचित व्यवस्थापन गर्न सकिएन भने बिरामीको ज्यानै समेत जान सक्छ। त्यसैले दक्ष एनेस्थेसियोलोजिस्टले सम्पूर्ण शल्यक्रिया अवधिभर बिरामीको नजिक बसी नियमित सूक्ष्म निगरानी गर्नु जरुरी हुन्छ।

शल्यक्रिया समाप्त भएपछि बिरामीलाई होसमा ल्याउने कार्य पनि यिनै एनेस्थेसियोलोजिस्टले गर्छन्। शल्यक्रियापछि हुने असैह्य वेदनालाई कम गराउने काम पनि यिनै चिकित्सकहरुले गर्छन्। 

त्यसैले, एनेस्थेसिया दिने काम जटिल र चुनैतीपूर्ण छ। एनेस्थेसिया विषयको सीप, ज्ञान र  अनुभव निकै महत्वपूर्ण हुन्छ। यसको उचित प्रयोग नभएमा वा एनेस्थेसियोलोजी विषयमा  दक्षता हासिल नगरेका व्यक्तिले यो सेवा दिएमा बिरामीको ज्यान जोखिममा पर्न सक्छ।

विश्वमा सन् १९९०को दशकसम्म एनेस्थेसियाको कारणले हुने मृत्यु पाँच हजारमा १ जना थियो। तर, अहिले प्रविधिको विकाश, दक्ष जनशक्ति तथा आधुनिक र सुरक्षित औषधिहरुको प्रयोगले यो संख्या घटेर दुई लाख मा १ जनाको मृत्यु हुनसक्ने तथ्यांकले देखाएको छ।

नेपालमा भने एनेस्थेसियाबाट हुने दुर्घटना वा मृत्युको यकिन तथ्यांक छैन। तर, एनेस्थेसियोलोजी विधामा दक्षता हासिल नगरेका व्यक्तिबाट बेहोस बनाउँदा वा आवश्यक उपकरणबिनै यो सेवा प्रदान गर्दा बिरामीको मृत्यु हुने गरेका घटनाहरु भने भेटिन्छन्। 

त्यसैले शल्यक्रिया गराउनुपर्ने व्यक्ति वा उसको परिवारले शल्यक्रिया गराउनुपूर्व कम्तिमा एक पटक बेहोस गराउने एनेस्थेसियोलोजिस्टलाई अनिवार्य रुपमा भेट्नुपर्छ। आफ्नो रोग र आफूले सेवन गरेका औषधिको विस्तृत विवरण लिनुपर्छ। एनेस्थेसियोलोजिस्टहरुले बिरामीले सोधेका प्रश्नहरुको जवाफ इमान्दारिताका साथ दिनुपर्छ। 

तसर्थ आधुनिक उपकरणहरुले सु–सज्जित शल्यक्रिया कक्ष, उचित आधुनिक औषधिहरुको प्रयोग तथा दक्ष एनेस्थेसियोलोजिस्टहरुबाट यो सेवा लिएमा बिरामीहरु सुरक्षित हुने कुरामा ढुक्क हुन सकिन्छ।

(एनेस्थेसियोलोजिस्ट डा. बराल वीर अस्पतालमा कार्यरत छन्)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि