बलात्कारको कहालिलाग्दो कहानी : महिला घरकै आफन्तबाटै असुरक्षित

गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल राप्ती उपक्षेत्रीय अस्पतालमा बालिकाको उपचार भयो । घोराही सिमेण्ट उद्योगमा गाडी चालक रहेका दाजुलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले गत वैशाख २० गते पुर्पक्षमा पठायो तर अहिलेसम्म त्यसको मुद्दा फैसला हुन सकेको छैन ।

आफ्नी छोरीलाई गत २०७४ चैत ३० गते आफ्नै बाबुले बलात्कार गरेको भन्दै पीडित पक्षले गत वैशाख २३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दियो । पटक पटक बलात्कार गरेपछि पीडित बालिकाले परिवारका सदस्यलाई कुरो लगाइन् र प्रहरीमा जाहेरी दर्ता गरिएको पीडित पक्षले जनायो । वैशाख २३ गते अभियुक्तलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो । दाङ देउखुरी जिल्ला अदालतले असार ११ गते दोषी ठहर गरी २० वर्ष कैद तथा पीडितलाई रु ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला ग¥यो ।

अर्की एक किशोरीलाई गत असार ७ गते गढवा गाउँपालिका– ६ का ३० वर्षीय आफ्नै मामाले बलात्कार गरेको भन्दै पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दियो । घरमा कोही नभएको मौका पारी ललाइफकाई आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताइन् । प्रहरीले अभियुक्तलाई असार ८ गते नै पक्राउ गरी अनुसन्धान थाल्यो । अदालतले असार २८ गते पुर्पक्षका लागि पठाएकामा अहिलेसम्म त्यस घटनाको मुद्दा किनारा लाग्न सकेको छैन ।

यति मात्र नभई किशोरी नातिनीलाई आफ्नै ६८ वर्षीय हजुरबाले बलात्कार गरेको घटना प्रहरीसम्म आइपुग्यो । त्यसैगरी आफ्नै चार, छ र ११ वर्षीया नातिनीहरुलाई पटक पटक बलात्कार गरेको आरोपमा ८२ वर्षीयविरुद्ध पनि प्रहरीमा उजुरी प¥यो ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले केही समय अगाडि सार्वजनिक गरेको एक तथ्याङ्कमा दाङमा तीन वर्षदेखि ६९ वर्षसम्मका महिला बलात्कारमा परेको उल्लेख छ । अधिकांश महिला आफ्ना बाबु, हजुरबा, दाजु, काका, मामा र छरछिमेकीबाट बलात्कार, यौनजन्य हिंसा र बलात्कारको प्रयासमा परेको घटना छन् । समाजमा अहिले किन यस्ता घटना भइरहेका छन् जहाँ एउटा महिला घरभित्र आफ्ना आफन्तबाटै सुरक्षित छैनन् । छोरीहरु घरबाहिर हिँड्नु हुँदैन ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागर गत पुसदेखि कात्तिक अन्तिमसम्म जिल्लामा ५१ बलात्कारका घटना भएकामा आठ वटा बलात्कार आफ्नै बाबु, दाजु, हजुरबा, मामा, भिनाजु, छरछिमेकी र झट्केलो बुवाबाट भएको जानकारी दिन्छन् । महिलाहरु टाढाका मान्छेभन्दा पनि आफन्त, छरछिमेकी र नातागोताबाट असुरक्षित देखिएका छन् । उनी भन्छन्, ‘समग्र जिल्लाको घटना हेर्दा ८० प्रतिशत बालिकाहरु यौनजन्य हिंसामा छन् । बालिका जोगाउनका लागि अव विशेष संवेदनशील हुनुपर्ने देखिन्छ ।’

उनका अनुसार यस वर्ष सबैभन्दा धेरै १४ वर्षका ११ बालिका बलात्कृत भएका छन् । तीन, चार, पाँच वर्षका बालिका पनि बलात्कारमा परेकामा ४२ घटनामा बालिकाहरु प्रत्यक्ष प्रभावित भएका छन् । पछिल्लो समय बाहिर आएका यौन हिंसाका अधिकांश घटना आफन्तैबाट हुने गरेको पाइएको छ । यसले हाम्रो समाज कतातिर जाँदै छ भन्ने प्रश्नचिह्न खडा गरेको छ । समाज सम्पन्न भए पनि व्यवहार र मानसिकता भने पछिल्ला सार्वजनिक भएका घटनाले प्रष्ट पारेका छन् ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने अब बाटो, पुलपुलेसा बनाएर मात्र समाज समृद्धि हुन नसक्ने बताउँछिन् । हाम्रो समाजका हरेक वर्गलाई अहिले सचेतनाको आवश्यकता रहेको उनको बुझाइ छ । उनले भनिन्, ‘समाजलाई सचेत बनाउने सबै सरोकारवाला निकायको हो, अव सबै ससक्त रुपमा लाग्नु पर्छ ।’ अधिकांश महिला हिंसासँग सम्बन्धित सचेतनाका कार्यक्रममा महिला मात्रै सहभागी हुने गरेको तथ्य प्रष्ट्याउँदै उनी अब महिलामाथि हिंसा गर्ने पक्षलाई पनि बढीभन्दा बढी सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउँछिन् ।

महिला मानव अधिकार रक्षकहरुको सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य पनि महिलाहरु आफ्नैबाट असुरक्षित हुँदाहुँदै पनि पीडितका कुरा सुन्न कोही पनि तयार नरहेको दुखेसो पोख्छिन् । घरपरिवारदेखि प्रहरी, प्रशासन, मेलमिलाप केन्द्र, सेवा केन्द्र, अदालतलगायत निकायमा महिलाको पीडा सुन्न चाहने कोही पनि नरहेको उनको आरोप छ । ‘पहिले पीडितको कुरा त सुनौँ भनेर हामीहरुले पटक पटक भनिरहेका छौँ,’ उनले भनिन्, ‘तर सुन्नुभन्दा मिलाउन सबै तयार भैरहेका छन् । बलात्कारका घटनामा पनि मिलापत्र हुन थालेको छ ।’ महिला हिंसाका घटनालाई सामान्य रुपमा लिने परिपाटी अहिले पनि उस्तै रहेको उनी बताउँछन् । महिला हिंसा एउटा सामाजिक अपराध हो भन्ने मान्न कोही पनि तयार नरहेको उनको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतम भने आफूहरुले महिला हिंसाको घटनालाई सामान्य रुपमा नलिएको बताउँछन् । महिला हिंसा पनि सामाजिक अपराध भएको हुँदा प्रहरीले त्यसलाई संवेदनशील रुपमा लिइरहेको उनको भनाइ छ । उहाँ प्रहरीसँगै मिलेर सबै सरोकार भएका निकायले अब लक्षित वर्गमा सचेतनाको कार्यक्रम गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि