उद्देश्यसहितको कार्यसिद्धि गर्न जरुरी छ

  • MaheshKarmocha महेशकुमार कर्मोचा

    सह–संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

२००३ सालमा ओखलढुंगामा जन्मिनुभएका महेशकुमार कर्मोचा बाल्यकालदेखि नै राजनीतिसित नजिक रहनुभयो । जीवनको ठूलो हिस्सा नेपाली कांग्रेसको राजनीतिमा बिताउनुभएका कर्मोचा अहिले नयाँ शक्ति पार्टी, नेपालमा आवद्ध हुनुभएको छ । उहाँ नयाँ शक्ति नेपालको सह–संयोजक हुनुहुन्छ । नयाँ शक्ति पार्टी, नेपालको आर्थिक विकास र समृद्धिका एजेण्डा तथा वैकल्पिक राजनीतिको विषयमा महेशकुमार कर्माेचासँग गरिएको कुराकानी : 

राजनीतिमा कसरी लाग्नुभयो ?

म २००३ सालमा ओखलढुंगाको खिजी चण्डेश्वरी गाविसको माझगाउँ भन्ने ठाउँमा जन्मिएको हुँ । म सानो छँदा नै गाउँघरतिर क्रान्तिका कुरा गर्ने गरेको सम्झन्छु । मेरा हजुरबुबा जुद्धवीर कर्मोचा २००७ सालको क्रान्तिको योद्धा हुनुहुन्थ्यो । २००७ साल तिरैको कुरा हो, म ४/५ वर्षकै उमेरमा लंगौटीमा चिठीहरु बोकेर गाउँ डुल्थें र क्रान्तिका लागि हल्कारा बनेको थिएँ । त्यसबेला ९ वर्षभन्दा माथिकाहरुको शरीर राणाका सिपाहीहरुले खानतलासी गर्थे । त्यसैले मलाई मेरा हजुरबुबाले चिठीपत्र आदानप्रदान गर्न लगाउनुहुन्थ्यो र म लंगौटीभरी चिठीपत्रहरु बोकेर १/२ घण्टाको बाटो यात्रा गर्थें । मलाई बाटो देखाउने मान्छे कि आधा घन्टा अघि हुन्थ्यो कि आधा घन्टा पछि । पछि बुझ्ने भएपछि पनि म राजनीतिक रुपले सक्रिय रहेँ । २०१५ सालको आम चुनावमा गाउँगाउँमा गीत गाएर चुनाव प्रचारमा हिंडेको सम्झन्छु । त्यो बेला हाम्रो क्षेत्रबाट पेशलकुमार पोखरेल उम्मेदवार बनेका थिए र उनी विजयी पनि भए । पछि २०१७ सालमा एकाएक बीपीलाई राजाले थुनेको खबर गाउँमा चल्यो र गाउँका मान्छेहरुले अब तिमीहरुलाई पनि थुन्छ भन्न थाले । त्यसपछि मसहित १५ जना साथीहरु गाउँबाट ब्रिटिश लाहुरे बन्न तराई झर्‍यौं ।

८ वर्ष ३ महिनाको लाहुरे जीवन छाडेर म फर्किएँ र २०२४ सालदेखि निरन्तर नेपाली कांग्रेससँग आवद्ध भएँ । पटकपटक गरी १४ पटकसम्म गिरफ्तार भएर ८ वर्षको काराबास सजाय काटेँ । २०३० सालको विमान अपहरणको योजना बनाउनेमध्ये म पनि एक थिएँ । अनि २०३१ सालमा ओखलढुंगामा मेरो नेतृत्वमा ३५ जनाले ब्यारेक आक्रमण गर्‍यौं । तर, समयको तालमेल नमिल्दा त्यो विद्रोह असफल भयो र १८ जना साथीहरु त्यहीँ मारिए । बाँकी भागेका साथीहरुलाई पनि पछि पक्रिएर मारे । त्यसपछि पनि म विभिन्न रुपले सक्रिय नै रहेँ र २०४९ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्ष भएँ र जिविस सभापति निर्वाचित भएँ । २०५४ सालमा पुन: गाविस अध्यक्ष निर्वाचित भएँ । २०५३ देखि २०६५ सम्म नेपाली कांग्रेसको जिल्ला सभापति भई काम गरेँ । २०७३ साल जेठ ७ गते पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस परित्याग गरें । जेठ ११ गतेदेखि नयाँ शक्तिसँग आवद्ध भएँ र अहिले सह–संयोजकको रुपमा कार्यरत छु ।

बाल्यकालदेखि नै आवद्ध हुँदै आउनुभएको नेपाली कांग्रेसलाई छाडेर तपाईं अहिले नयाँ शक्तिमा आउनुभयो । आखिर तपाईं के सोचेर नयाँ शक्तिमा लाग्नुभयो ?
खासगरी नेपाली कांग्रेसले अवलम्बन गरेको हिजोको आदर्श र सिद्धान्त मन पराएर पार्टीमा निरन्तरता दिइयो । तर, पछिल्लो समयमा पार्टीको सिद्धान्तलाई त्यसका सञ्चालकहरुले परित्याग गरे । पार्टी चलाउनेहरुले सिद्धान्त, दर्शन, नीतिमा होइन परन्तु आफ्नै ढंगबाट पार्टी सञ्चालन गर्न थाले । नातावाद र कृपावाद, फरियावादकै आडमा पार्टी सञ्चालन गरे । पार्टीमा राम्रो मान्छे होइन, हाम्रो मान्छेलाई च्याप्ने परिपाटी बन्यो । पारिवारिक र व्यक्तिगत ढंगले पार्टी सञ्चालन भयो । यस्तो परिस्थितिमा मजस्ता कैयौं कार्यकर्ताहरु आफ्नो सिद्धान्त, अनुभव, आदर्शलाई परित्याग गरेर त्यही पार्टीमा बस्न नसक्ने अवस्थामा पुग्यौं । त्यसैले नेपाली कांग्रेस छाड्ने निश्कर्षमा पुगेको हुँ ।

जहाँसम्म नयाँ शक्तिको कुरा छ, यसको सिद्धान्त मूलत: कम्युनिष्ट–कांग्रेस अर्थात् वामपन्थी र दक्षिणपन्थी नभइकन वास्तविक रुपमा अग्रगामी अर्थात् ‘फ्रन्टिष्ट’ हुने देखेर म नयाँ शक्तिमा लागेको हुँ । यो पार्टी नै अबको सन्दर्भमा अग्रगामी प्रजातान्त्रिक पार्टी हुने र यसले विशेष गरी आर्थिक सामाजिक र राजनीतिक धारलाई समाहित गरेर जाने देखेर नै म यसप्रति आकर्षित भएको हुँ । त्यस्तै यो पार्टींले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय राजनीतिलाई पनि परिमार्जित गर्दै नयाँ विकल्प निर्माण गर्ने सम्भावना देखेर पनि लागेको हुँ । त्यस्तै नयाँ शक्तिले अब अलग धारको राजनीति गर्ने भएकोले यो पक्कै पनि स्वच्छ छवि भएका मानसिहरुको जमातबाट परिचालित हुन्छ भन्ने कुरामा विश्वस्त भएर यो पार्टीमा लागेको हुँ ।

तपाईंले लामो समय राजनीति गर्नुभयो । हामीकहाँको राजनीतिमा कहाँनेर समस्या रहेछ ? आधुनिक नेपालको ७ दशकको राजनीतिले जनताको हित गर्न किन सकेन ?
पुराना दलहरु पुरानै तरिकाले चले । नेपाली कांग्रसकै कुरा गर्दा यसका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराईहरुले जसरी पार्टीलाई सञ्चालन गरेका थिए, अहिलेको सन्दर्भमा त्यसरी पार्टी सञ्चालन हुन सकेन । समाजको लागि, जनताको लागि राजनीति गर्नुपर्नेमा उनीहरुले परिवार र व्यक्तिको लागि राजनीति गरे । बीपीले राष्ट,्र राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चारवटा सिद्धान्त प्रतिपादन गरेका थिए । यी आधारभूत सिद्धान्तलाई च्यूत गरेर पार्टीलाई एउटा कोटरीको रुपमा सञ्चालन गर्ने र नीतिमा नभई नगदमा जाने काम भयो । राष्ट्र भएन भने राष्ट्रियता हुन सक्दैन । राष्ट्रियता बलियो नहुँदासम्म प्रजातन्त्र फस्टाउन सक्दैन । अनि प्रजातन्त्र फस्टाउन सकेन भने आधुनिक समाजवाद आउँदैन । त्यसैले बीपीले प्रतिपादन गरेका यिनै सिद्धान्त र निष्ठालाई अवलम्बन गरेर राजनीति गर्नुपर्नेमा निष्ठामा नभएर नातामा जाने काम भयो । यसले गर्दा राजनीतिले सही आकार ग्रहण गर्न सकेन । त्यसैले जनताका मुद्दाहरु ओझेलमा पर्न गए । २०१७ सालअघि जसले राजनीति गरेका थिए तिनीहरुको बहुलता भएन र गुलियो फलको सट्टा तीतो फल दिन थाल्यो र राजनीतिले काम गरेन । त्यसैले अब त्यसको विकल्पको खोजी गरिएको हो ।

नयाँ शक्तिलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा प्रस्तुत गर्दै गर्दा यसले फोकस गर्नुपर्ने मुख्य मुद्दा के हो ?
यसले फोकस गर्नुपर्ने विषय सबैभन्दा पहिले संगठन निर्माण नै हो । संगठन निर्माण गर्नु नै अहिलेको मुख्य कार्यभार हो । संगठनलाई विस्तार गर्दै हामीले यसलाई ७५ जिल्लामै फैलाउनुपर्छ र ३ हजार गाविसमै पुर्‍याउनुपर्छ । तबमात्रै यसले अलिकति आकार लिन सक्छ । यतिबेलाको स्थितिमा नयाँ शक्ति भर्खरै स्थापना भएकोले धेरै काम गर्न बाँकी छ । हामीले अझै पनि सबैसँग भएको बुद्धि विवेक प्रयोग गरेर यसलाई परिचालन गर्न सकेका छैनौं । हामी मिश्रित छौं र मिलेर जाऔं भन्छु मैले । बाबुरामजीको जुन भिजन छ, त्यसलाई अघि बढाउन हामी सबै दत्तचित्त भएर लाग्नुपर्छ । ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ र ‘अबको निकास आर्थिक विकास’ भन्ने उहाँको भनाई छ । हामीले मुलुकलाई दिने वैकल्पिक राजनीतिक नारा पनि यही हो । यसको लागि बाबुरामजीले योजना पनि दिनुभएको छ । आर्थिक विकास र समृद्धिका लागि पहिलो ७ वर्षे, दोस्रो १५ वर्षे र तेस्रो २५ वर्षे योजना छ । यो योजनालाई सफल रुपमा लागू गर्नका निमित्त राजनीतिक शक्ति आर्जन गर्नु आवश्यक छ र त्यसका लागि तत्काल संगठन निर्माण अति जरुरी छ र हामी यसैमा केन्द्रित भएका छौं । व्यक्तिको नाम, अनुहार र आत्मा वा व्यवहार जानेर त्यसै अनुसार संगठन निर्माण गर्दा नै त्यो मजबुद हुन्छ र हामी त्यसै अनुसार खटिइरहेका छौं ।

नयाँ शक्तिले आर्थिक विकास र समृद्धि हासिल गर्न के कस्तो योजना ल्याएको छ ?
आर्थिक विकासका लागि धेरै दृष्टिकोण र योजना छन् । हामीसँग भएको बृहत योजनामा आर्थिक विकास मुख्य छ । आर्थिक विकासका निमित्त यहाँकै साधन र स्रोतको उपयोग गर्नुपर्छ । पहिले नेपालमै बसिरहेका मानिसहरुलाई परिचालन गर्नुपर्छ । विदेश जान खोज्ने मानिसहरुलाई यहीँ सदुपयोग गर्नुपर्छ र विदेश गएकाहरुलाई पनि फर्काउनुपर्छ । हामीले चरणबद्ध रुपमा योजनाहरु लागू गर्छौं र विकासका कार्यक्रमहरु ल्याउँछौं । यो मुलुकमा के के को विकास आवश्यक छ ? कसरी विकास गर्न सकिन्छ ? भन्ने सवालमा मैले मुलुकको विकासको योजनालाई ११ बँुदामा समेटेको छु ।

यी ११ बुँदालाई विस्तृतमा व्याख्या गरिदिनुस् न ।
कृषि, पर्यटन, जडिबुटी, ऊर्जा र खनिज मुख्य पाँच बुँदा हो । यसलाई प्रक्रियागत रुपमा परिचालन गर्नुपर्छ । बाँकी छ वटा बुँदामा गास, बास, कपास, स्वास्थ्य, शिक्षा र विकास हुन् । यी ११ बुँदाभित्रै मुलुकमा गर्नुपर्ने कुराहरु सबै पर्दछन् ।

कृषिको कुरा गर्दा हामीले अहिलेसम्म दुई किसिमको खेती गरिरहेका छौं । ती हुन् पौराणिक र आधुनिक खेती । त्यसमा व्यवहारिक र वैज्ञानिक खेती प्रणाली थप गरी कृषि उत्पादन बढाउन सकिन्छ । त्यस्तै पर्यटनको कुरा गर्दा हिजोको परिस्थितिमा पर्यटक भन्ने वित्तिकै विदेशीलाई मात्र सम्झने गर्दथ्यौं, अब बाह्यको साथै स्वदेशी वा आन्तरिक पर्यटनको पनि विकास गर्नुपर्छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्छ । किनकि हामीसँग व्यापक जैविक विविधता छ, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरु छन् । त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्छौं । जडिबुटीको सवालमा विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा, सर्पगन्धा, चिराइतो इत्यादि मात्र जडिबुटी होइन । हाम्रो घरवरिपरि भएका रुख, घारी, बुट्यान पनि जडिबुटी हो । त्यस्ता रुखहरुबाट विभिन्न फलहरु पाइन्छ । ती फलहरुलाई संकलन गरेर बिक्री वितरण गरी उत्पादन बढाउन सकिन्छ । ती फलहरुको प्रवद्र्धन गर्ने अनि खेती गर्न सिकाउने र आत्मनिर्भरताको विकास गर्न सकिन्छ । ऊर्जाको सन्दर्भमा जलविद्युत मात्र ऊर्जा होइन । नेपालमा अझै पनि वैज्ञानिक रुपमा जलविद्युत उत्पादन क्षमताको सर्वे भएको छैन । हामीले सही रुपमा उपयोग गर्न सकेका छैनौं । ऊर्जामा ४ किसिमको स्रोत छ, हाइड्रो, सोलार, वायु र थर्मल । ती मध्ये नेपालको लागि जलविद्युत र सोलार उपयुक्त छ । त्यसको क्षमता पहिचान गरी सदुपयोग गर्नुपर्छ । खनिज भनेको सुन चाँदी, हिरा मोती मात्र होइन यो सामान्य माटो पनि खनिज हो । जस्तै मेरै जिल्लाको कुरा गर्दा खरिढुंगा, तामा, चुनढुंगाको खानी छ । हामीले यी खानीहरुको पहिचान गरी उत्खनन् गर्नुपर्छ । त्यस्तै तराईमा तेलको भण्डार छ भनिने सुनिन्छ त्यसको पनि अध्ययन गर्नु पर्‍यो । हामीले अब यस्ता वैकल्पिक स्रोत र साधनको उपयोग गरेर रोजगारी विस्तार गर्नुपर्छ । किनकि यी सबै स्थायी र वैकल्पिक स्रोत साधन हुन् ।

गास, बास र कपासको कुरामा पनि राज्य उत्तरदायी हुनुपर्छ । राज्यले गास दिनुपर्‍यो, बासको व्यवस्था गर्नुपर्‍यो र कम्तीमा एकसरो लगाउने लुगाको व्यवस्था गर्नुपर्‍यो । जनताको कारणले राज्य थामिएको छ, नागरिकको कारणले मुलुक बनेको छ भने त्यो नागरिकको सुरक्षा गर्ने राज्यको जिम्मेवारी हो । त्यस्तै मानिस स्वस्थ रहनुपर्छ र राज्यले सतप्रतिशत नि:शुल्क देखि कम भन्दा कम शुल्कमा उपचारको व्यवस्था गर्नुपर्छ । शिक्षा नि:शुल्क दिनुपर्छ । यी सबै राज्यले दिइसकेपछि राज्यले आफ्ना नागरिकलाई काममा लगाउनुपर्छ । अनि जनताले पनि टाउकोले टेकेर काम गर्नुपर्छ मुलुकको विकासको लागि । यसरी मुलुकको विकास र समृद्धि हासिल गर्न सकिन्छ ।

तपाईंले नयाँ शक्तिलाई फ्रन्टिष्ट भन्नुभयो । यो भनेको के हो ?
फ्रन्टिष्ट भनेको अग्रगामी हो । हरेक कुरामा नयाँ शक्ति अग्रगामी हो । यसले हरेक कुराको विकल्प प्रस्तुत गर्नुपर्छ र गर्छ । हिजो माक्र्स, एंगेल्सको कुरा गरेर कम्युनिष्ट धानियो । प्रजातन्त्रको कुरा गरेर कांग्रेसले राजनीति धान्यो । तर, यसरी मात्र हुँदो रहेनछ भन्ने आज महशुस भएको छ । त्यसर्थ हामीले आफ्नै विचारधारा अनि आर्थिक विकासको योजना बनाउनुपर्छ भन्ने महशुस भयो । यो विचार नै फ्रन्टिष्ट हो । अर्थात् यसलाई अर्गानिक थट प्लस इकोनोमिक थेरापी भनेर भन्नुस् । यहाँका अहिलेसम्मका विद्वानले आफ्ना विचारहरु प्रयोगमा ल्याएको खै ? अब ल्याउनुपर्‍यो । अब मुलुकको विकासका लागि इकोनोमिक थेरापी जरुरी छ, जुुन कुरा हामीले उठाएका छौं । त्यसैले हामी फ्रन्टिष्ट हौं ।

MaheshKarmocha01मुलुकको विकास र समृद्धिका लागि राज्यले पनि साथ दिनुपर्छ । स्रोत साधनको परिचालन गर्नुपर्छ । नीति नियम बनाउनुपर्छ । यी सबै काम एउटा राजनीतिक पार्टीले मात्र गर्न सक्छ ?
हेर्नुस्, हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने छ नि । हिजो बाबुराम भट्टराई एक्लै आउनुभयो, अहिले उहाँसँग लाखौं कार्यकर्ता भइसके । त्यसैले बाबुरामले एउटा थट लिएर आउनुभयो । माक्र्स र एंगेल्सले पनि त्यही गरेका थिए । उनीहरुले एउटा थट लिएर आए, पछि सबैले अंगिकार गरे । अहिले पनि त्यही हो, हिजो नेपाली कांग्रेस पुरानो पार्टी भनेर विश्वमा धेरै मान्छेले चिनेका थिए । उनीहरुले नेपाल नसुने नचिने पनि नेपाली कांग्रेस चिनेका थिए, सुनेका थिए । तर, अहिले ती सबै दलहरु टेष्टेड भइसकेका छन् । त्यसैले अबको विल्कल्प के त भन्दा – नयाँ शक्ति पार्टी, नेपाल । अनि नयाँ शक्तिको थट के हो भन्दा – विकास र समृद्धि । आकाशका लाखौं ताराले उज्यालो दिँदैन तर एउटै जूनले उज्यालो दिन्छ, नयाँ शक्ति त्यही जून हो ।

राज्यको निर्माणका लागि व्यक्ति र व्यक्तिहरुको चेतना र संस्कारको पनि भूमिका हुन्छ । त्यसका लागि अब व्यक्तिमा कस्तो परिवर्तन चाहिएला ?
पक्कै पनि राज्यको समृद्धिका लागि व्यक्ति चाहिन्छ । व्यक्ति, विचार र सिद्धान्तले मात्र नयाँ बन्ने हो । हामीले अब सोचाईमा परिवर्तन ल्याउनु जरुरी छ । यसमा एउटा गीत छ – ‘जीन्दगी त्यागेको नेपाली जनता हो यो कुरा सुन है, आँखाले हेर सोचलाई फेर अधिकार लिनलाई’ । हामीले आफ्नो सोंचलाई बदल्नुपर्छ तबमात्र नयाँ बन्न सक्छ । सोचाइमा परिवर्तन नगरी हुँदैन । हिजोको स्थिति राज्यले गर्ला, नेताले गर्ला भन्ने थियो तर अब हामी आफैंले गर्नुपर्छ भन्ने सोचको विकास गर्नुपर्छ । व्यक्ति ठूलो होइन विचार ठूलो हुनुपर्छ, तपाईं र मैले बोलेको कुराले मनमस्तिष्क छुनुपर्छ । तबमात्र परिवर्तन सम्भव हुनेछ ।

समावेशीकरणमा नयाँ शक्तिले क्लस्टर निर्माण गरेर अघि बढेको छ र पार्टीको स्वरुपलाई पनि त्यसै अनुरुप ढालेको छ । यसमा तपाईंको दृष्टिकोण के छ ?
अरु पार्टीहरुले यसरी क्लस्टर निर्माण गरेर चलाएका छैनन् । हिजो पनि कतिपय पार्टीहरुले समावेशीका कुरा त गरे । पञ्चायतमा पनि सुशेतामगुराली (सुनुवार, शेर्पा, तामाङ, मगर, गुरुङ, राई र लिम्बु) भन्ने थियो । त्यसभन्दा पछाडि पनि आदिवासी जनजातिको कुरा व्यापक भयो । ४६ सालयता मधेशी, थारुहरुको कुरा आयो । ६३ यता आदिवासी जनजाति, महिला, दलित, अल्पसंख्यक, सीमान्तकृतहरुको कुुरा आयो । तर, अहिलेसम्म ती सबै वर्ग, समुदाय र समूहरुको प्रतिनिधित्वको ग्यारेन्टी कहीं कतैबाट भएन । न राजनीतिक दलमा न त राज्यका अंगहरुमा नै । त्यसैले त्यसको प्रनिधिनित्वका लागि यो क्लस्टरको अवधारणा ल्याइएको हो ।

यी सबै विविधताको सम्बोधन गर्दै मुलुकलाई समृद्ध पार्ने नयाँ शक्तिको योजना हो । अनि यसका लागि एउटा नेतृत्व चाहिएको छ । एउटा स्टेटम्यानसिप चाहिएको छ । त्यो स्टेटम्यानसिप डा. बाबुराम भट्टराईले गर्न सक्नुहुनेछ । एउटा व्यक्तिको भिजनले बनेका देशहरु धेरै छन् । लि क्वान यूको भिजनले सिंगापुर बन्यो । महाथिर मोहम्मदको भिजनले मलेशिया बन्यो । पाक चुन हीको भिजनले कोरिया बन्यो । अब बाबुरामको २५ वर्षे भिजनले नेपाल बन्नेछ । यस्तै सोंच राखेर बाबुराम पनि माओवादी छाडेर एक्लै निस्केका हुन् । यसर्थ आफ्नो सपना बाबुरामले पुरा गर्नुहुन्छ । हामी उहाँलाई साथ दिन्छौं र सबैले दिनुपर्छ ।

अन्त्यमा, तपाईंलाई लागेको केही कुरा छ कि ?
म एउटा लाइनसहित सबैलाई नयाँ शक्तिको आर्थिक विकास र समृद्धिका लागि हातेमालो गर्न अनुरोध गर्दछु । हाम्रो उद्देश्यसहितको कार्यसिद्धि गर्नका लागि जरुरी छ – जेठापाकाहरुको खारिएको बुद्धि, विवेक र अनुभवको सागर; युवाहरुको होससहितको बल, जोश र जाँगर ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जासुसी आरोपमा इरानका पूर्व सहायक रक्षा मन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौं । इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्डको सजाय दिएको छ । बेलायतका

व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना चाणक्य कलेजमा BBS को भर्ना खुल्यो

भक्तपुर – चाणक्य कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना कलेज हो ।

भक्तपुर विकासको बांकी कामलाई पुर्णता दिन क.महेश बस्नेतलाई संसदमा पठाउनुपर्छ:सहदेव न्यौपाने

         क.सहदेव न्यौपाने,नेता नेकपा एमाले,भक्तपुर   भक्तपुरको सुर्यविनायक नगरपालिका ४ दधिकोटको नेकपा एमालेलेमा

मेरो उम्मेदवारी भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा हो,चन्दन कृष्ण श्रेष्ठ

चार दशकदेखि निरन्तर राजनीतिमा रहेर दर्जनौं सामाजिक संस्थाहरुको स्थापना गरि सामाजिक काममा समर्पित चन्दन कृष्ण

कम्युनिस्टहरु बिच धुर्विकरण जरुरी छ – नाम्गेल मोक्तान

नेकपा मसाल दोलखाको सेक्रेटरी,वागमती क्षेत्रीयव्युरो सदस्य मसाल निकट विभिन्न जबस तथा खुल्ला मोर्चाहरुको केन्द्रिय भुमिका

‘संसद विघटन नगरेको भए प्रचण्डले एमाले कब्जा गर्थे, हामीसँग अरु धेरै सूचना थिए’:विष्णु रिमाल

पुस ५ को कदम प्रतिगामी थियो भनेर एमालेमै बस्न मिल्दैन, पार्टीमा फरक मत छैन  २०७८