नेपालको ब्रेन ड्रेनदर उच्च

    हरेक वर्ष नेपालबाट विद्यार्थी र युवाको विदेशिने दर निरन्तर बढ्दो छ । शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओस)’ विभागका अनुसार आर्थिक वर्ष २०२३/२४ मा मात्र करिब १ लाख १० हजारभन्दा बढी विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति प्राप्त गरेका थिए । अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र बेलायत विद्यार्थीका लागि प्रमुख गन्तव्य देशका रूपमा रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार सोही वर्ष ७ लाख ४१ हजारभन्दा बढी नेपाली युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । विदेश जानु संख्यामात्र नभई नेपालका लागि मानव स्रोतको क्षति र दीर्घकालीन विकासमा गम्भीर जोखिम उत्पन्न गर्ने संकेत हो ।

‘फन्ड फर पिस’द्वारा प्रकाशित ‘ह्युमन फ्लाइट एन्ड ब्रेन ड्रेन इन्डेक्स २०२४’ अनुसार नेपालको मानव पुँजी तथा मस्तिष्क पलायन दर ६.१ रहेको छ जो विश्वको औसत ४.९८ भन्दा उच्च छ । देशभित्र अवसरको अभाव, राजनीतिक अस्थिरता, कमजोर शिक्षा र रोजगारी नीति तथा प्रतिभा टिकाइ राख्न असमर्थ वातावरणले युवा विदेशतर्फ आकर्षित भएका हुन् । देशभित्रको सीपयुक्त र नवप्रवर्तनशील मानव पुँजी घट्दै गएको छ । यसले दीर्घकालीनरूपमा नेपालको आर्थिक र सामाजिक विकासका लागि गम्भीर जोखिम उत्पन्न गरेको छ ।

अर्थशास्त्री अमर्त्य सेनले भनेजस्तै शिक्षा विकासको साधन होइन स्वतन्त्रताको अभ्यास हो । नेपाली युवा विदेशमा अध्ययन र काम गरेर यही स्वतन्त्रताको अभ्यास गरिरहेका छन् । नेपालले विदेश गएका विद्यार्थी र श्रमिकहरूले आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशको विकासमा उपयोग गर्ने प्रभावकारी नीति निर्माण गर्न सके देश ‘ब्रेन ड्रेन’ बाट ‘ब्रेन गेन’ तर्फको रूपान्तरणमा अघि बढ्न सक्छ ।

विदेशिनाका कारणहरू

स्विट्जरल्यान्डस्थित ईटीएच सुरिच विश्वविद्यालयकी शिक्षा विशेषज्ञ युर्सुला रेनोल्डका अनुसार नेपालका प्रतिभाशाली युवा विदेश गएर अवसर खोज्नु देशप्रतिको अविश्वासमात्र होइन आफ्नै क्षमताको प्रयोग हो । देशले उपयुक्त अवसर, मान्यता र वातावरण दिन नसक्दा उनीहरूको विदेशतर्फको प्रवाह स्वाभाविक हो । देशले अवसर सिर्जना गर्न नसक्दा युवाशक्ति स्वभावत: विदेशतर्फ आकर्षित हुने नै भयो ।

नेपालबाट विद्यार्थी र युवा विदेशिने प्रमुख कारणमध्ये शिक्षाको गुणस्तर पहिलो हो  । यहाँका धेरै उच्च शिक्षालयहरूमा आधुनिक शिक्षण पद्धति, अनुसन्धान र व्यावहारिक अध्ययनको वातावरण कमजोर छ जसले विद्यार्थीलाई विदेशतर्फ आकर्षित गरेको छ । दोस्रो, रोजगारीका अवसरको कमीले पनि युवालाई विदेशिन बाध्य बनाएको छ । योग्यताको आधारमा काम पाउने सम्भावना सीमित, पारिश्रमिक र पेसागत सम्मानको कमी हुँदा उनीहरूलाई वैदेशिक रोजगारी विकल्प बनेको छ ।

तेस्रो, राजनीतिक अस्थिरता र सुशासनको अभावले युवामा भविष्यप्रतिको चिन्ता बढाएको छ । बारम्बार सरकार परिवर्तन र भ्रष्टाचारका कारण ‘करियर’ बनाउने सम्भावना कमजोर देखिन्छ । चौथो, सामाजिक आर्थिक असमानता र बेरोजगारीले पनि विदेशिन प्रेरित गर्छ । धेरै युवाका लागि विदेश कमाइ र आर्थिक उपार्जनको स्रोत बनेको छ ।

पाँचौँ, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र बेलायतले प्रदान गर्ने उच्च शिक्षा, सुरक्षित वातावरण र रोजगारीका अवसरले नेपाली युवालाई तानेको हो । सरकारी नीति र कार्यान्वयनको कमजोरी मस्तिष्क खडेरीको अर्को कारण हो  । विदेश गएकाहरूको सीप, अनुभव र पुँजी स्वदेशमा प्रयोग गर्ने प्रभावकारी नीति नहुँदा, जनशक्ति देशको विकासमा फर्काउन सकिएको छैन ।

सामाजिक सोच र प्रतिष्ठाको धारणा पनि प्रभावकारी छ । नेपालमा विदेशमा अध्ययन वा काम गर्नु सफलताको प्रतीक मानिँदा युवा त्यसतर्फ प्रेरित भएका छन् । समग्रमा, गुणस्तरीय शिक्षा, रोजगारीका अवसर, स्थिर नीति, व्यवस्था र सुशासनको अभाव नै युवा पलायनका मुख्य कारण हुन् ।

प्रभाव

नेपालमा निरन्तर बढ्दो विदेशिने प्रवृत्तिले देशको मानवपुँजी कमजोर हुँदैगएको छ । स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, इन्जिनियरिङ र अनुसन्धानजस्ता क्षेत्रमा दक्ष जनशक्तिको कमी बढ्दै गएको छ । दक्ष युवा विदेशिने क्रमले देशभित्रका सेवाक्षेत्रहरूको गुणस्तर घटिरहेको छ । नेपाली स्वास्थ्यकर्मीहरूको निरन्तर पलायनले स्वास्थ्य प्रणालीमा सीपयुक्त जनशक्तिको अभाव सिर्जना गरेको छ जसको प्रत्यक्ष असर ग्रामीण र सार्वजनिक स्वास्थ्य सेवामा परेको छ ।

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले अल्पकालीन रूपमा अर्थतन्त्रलाई सहयोग गरे पनि दीर्घकालीन विकासमा ठोस योगदान गर्न सकेको छैन । उद्योग, कृषि र प्रविधिजस्ता उत्पादनशील क्षेत्रमा लगानीको प्रवाह न्यून छ । यसले नेपालको अर्थतन्त्रलाई क्रमशः आयात निर्भर बनाइरहेको छ जसले आत्मनिर्भर विकासको लक्ष्य टाढिदै गएको छ ।

गाउँस्तरमा युवाको सहभागिता घट्दा स्थानीय विकास कार्यक्रमहरूमा स्थायित्व र ऊर्जाको कमी देखा परेको छ । विदेशमा स्थायी बसोबास गर्ने युवाले आफ्नो सामाजिक सम्बन्ध क्रमशः कमजोर बनाउँदा सांस्कृतिक निरन्तरतामा पनि असर परेको छ ।

अन्तर्राष्ट्रिय अभ्यास

विश्वका धेरै देशहरूले ‘ब्रेन गेन’लाई राष्ट्रिय विकासको प्रमुख रणनीति बनाएका छन् । भारतले प्रवासी नागरिकसँग सम्बन्ध सुदृढ गर्न ‘ग्लोबल इन्डियन साइन्स्टिस्ट्स एन्ड टेक्नोक्र्याट्स फोरम’ तथा ‘ओभरसिज सिटिजनसिप अफ इन्डिया’ जस्ता कार्यक्रममार्फत दक्ष जनशक्तिलाई स्वदेश फिर्ता हुन वा विभिन्न परियोजनामा सहकार्य गर्न प्रोत्साहित गरिरहेको छ ।

चीनले ‘थाउजन्ड ट्यालेन्ट्स प्रोग्राम’ मार्फत विदेशमा अध्ययन वा कार्य अनुभव प्राप्त गरेका वैज्ञानिक र प्राविधिकलाई उच्च तलब, अनुसन्धान अनुदान र प्रतिष्ठित पदमार्फत स्वदेश फर्काउने अभियान सञ्चालन गर्‍यो जसले देशको नवप्रवर्तन र प्रविधि क्षेत्रमा उल्लेखनीय क्रान्ति ल्यायो ।

दक्षिण कोरियाले ‘ब्रेन सर्कुलेसन’ मोडेल अपनाएर विदेशमा दक्षता आर्जन गरेका युवालाई देशमा फर्काई परियोजना सञ्चालन गर्न प्रेरित गर्छ जसले सीप र ज्ञानको निरन्तर आदानप्रदान सुनिश्चित गरेको छ । इजरायलले प्रवासी वैज्ञानिक र उद्यमीहरूलाई स्टार्टअप र अनुसन्धान क्षेत्रमा संलग्न गराउन कर छुट, अनुदान तथा ‘इन्क्युबेसन’ केन्द्रहरूको व्यवस्था गरेको छ भने आयरल्यान्डले ‘कनेक्ट आयरल्यान्ड’ अभियानमार्फत आफ्ना नागरिकलाई आर्थिक पुनर्जागरणमा जोड्न उल्लेखनीय सफलता हासिल गरेको छ ।

समाधान र सुझावहरू

विदेशिने प्रवृत्तिलाई देशकै हितमा रूपान्तरण गर्ने दृष्टिकोण अबको आवश्यकता हो । नेपालमा तीव्र रूपमा बढ्दो ब्रेन ड्रेन समस्याको समाधानका लागि शिक्षा, रोजगारी, नीति र सुशासनका क्षेत्रहरूमा ठोस सुधार अनिवार्य छन् । गुणस्तरीय शिक्षा र अनुसन्धान प्रवर्द्धनका लागि विश्वविद्यालयहरूमा अनुसन्धान निधि, दक्ष फ्याकल्टी, आधुनिक प्रयोगशाला र उद्योगसँग सहकार्यका कार्यक्रमहरू विस्तार गर्नुपर्छ । शिक्षा प्रणालीलाई ‘डिग्री प्रदान गर्ने’ नभई ‘ज्ञान सिर्जना गर्ने’ बनाउनु अत्यावश्यक छ ।

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ । विदेशमा रहेका दक्ष जनशक्तिलाई नेपाल फर्कन र देशको विकासमा सहभागी हुन प्रेरित गर्ने विशेष योजना बनाउनुपर्छ । उनीहरूको सीप, अनुभव, र अन्तर्राष्ट्रिय सञ्जाललाई विकास अभियानमा उपयोग गर्न “नेपाल ग्लोबल ट्यालेन्ट नेटवर्क” जस्ता संयन्त्र निर्माण गर्न सकिन्छ ।

दीर्घकालीन समाधानका लागि राजनीतिक स्थिरता र सुशासन सुधारका मूल आधार हुन् । अस्थिर राजनीति र असंगत नीति कार्यान्वयनले युवाको देशप्रतिको भरोसा कमजोर बनाएको छ । पारदर्शी शासन, नीति निरन्तरता र युवाकेन्द्रित दीर्घकालीन योजना कार्यान्वयन गर्न सकेमात्र युवाशक्ति देशमै टिक्छ । युवालाई आकर्षक र सम्मानजनक रोजगारी देशमै उपलब्ध गराउन सूचना प्रविधि, हरित ऊर्जा, पर्यटन, र आधुनिक कृषि जस्ता सम्भावनायुक्त क्षेत्रमा लगानी बढाउनुपर्छ ।

विदेशमा रहेका दक्ष नेपालीहरूलाई आकर्षित गर्न “ब्रेन सर्कुलेसन” नीति, फर्किएका जनशक्तिका लागि पुनर्संलग्नता कार्यक्रम, स्टार्टअप तथा इन्नोभेसन ग्रान्ट, कर छुट र लगानी सहजता, साथै एनआरएनएजस्ता सञ्जालमार्फत ज्ञान र प्रविधिको आदानप्रदान प्रणाली विकास गर्नुपर्छ । देशभित्र गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, र अनुसन्धानमैत्री वातावरण निर्माण गर्न सकियो भने विदेशिएका मस्तिष्कहरू पुनः मातृभूमिको सेवा र समृद्धिमा संलग्न हुने सम्भावना उच्च हुनेछ ।

निष्कर्ष 

जब युवा देशबाहिर जान्छन् त्यो जनशक्ति र सीपको क्षतिमात्र होइन राष्ट्रको सम्भावनामा परेको गम्भीर आघात पनि हो । तथापि, यो चुनौतीसँगै एउटा अवसर पनि लुकेको छ । नेपालले आफ्ना युवाको ज्ञान, सीप, र अन्तर्राष्ट्रिय अनुभवलाई व्यवस्थित रूपमा देशको विकासमा उपयोग गर्न सक्यो भने यो ‘ब्रेन ड्रेन’ होइन, ‘ब्रेन गेन’ बन्न सक्छ ।

नेपालका युवाको विदेशप्रतिको आकर्षणलाई निरुत्साहित गर्नु समाधान होइन बरु उनीहरूलाई देशमै सम्भावनायुक्त वातावरण, सम्मानजनक अवसर, र व्यक्तिगत प्रगतिको बाटो प्रदान गर्नु आवश्यक छ । विदेशमा रहेका सीपयुक्त नेपालीहरूलाई ‘रिटर्न नेटवर्क’ मार्फत विकास यात्रामा सहभागी गराउनु आजको आवश्यकता हो ।

नेपालले अब ‘ब्रेन ड्रेन’ प्रवृत्तिको दिशा परिवर्तन गरेर लाभदायी बनाउन प्रयत्नशील रहनुपर्छ । अन्ततः नेपाली युवा जहाँ रहे पनि उनीहरूको सीप, ज्ञान र योगदान मातृभूमिकै हितमा प्रवाहित हुने वातावरण निर्माण गर्न सकियो भने नेपाल भविष्यमा सक्षम, आत्मनिर्भर, र समृद्ध राष्ट्रको मार्गमा अघि बढ्नेछ ।

(गण्डकी बोर्डिङ स्कुल र गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सका पूर्व प्राचार्य)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक