शान्ति निर्विकल्प बाटो

◼  हाम्रा जीवन–कालमा दुई पटक मानव–जातिमाथि अकथित दुःख ल्याउने युद्धको मारबाट भाबी सन्तानलाई बचाउने, र

◼  मौलिक मानव–अधिकारमा, मानवीय व्यक्तिको मर्यादा र मूल्यमा, ठुला र साना राष्ट्रमा, एवं नरनारीको समान हकमा विश्वास पुनः दृढ गराउने तथा

◼  सन्धि तथा अन्तर्राष्ट्रिय कानुनका अन्य स्रोतबाट उत्पन्न भएका दायित्वप्रति न्याय र सम्मानको स्थिति कायम राख्ने, एवं

◼  बृहत्तर स्वतन्त्रतामा सामाजिक प्रगति र जीवनको उच्चतर स्तर बढाउने निश्चय गर्‍यो,

अनि, यी उद्देश्यका लागि

◼  सहिष्णुताको व्यवहार गर्ने तथा असल छिमेकी भई आपसमा शान्तिपूर्वक सँगसँगै बस्ने,

◼  तदनुसार, हाम्रा आआफ्ना सरकारहरूले सही र उचित रूपमा अधिकार प्राप्त तथा सनफ्रान्सिस्को नगरमा जम्मा भएका प्रतिनिधिमार्फत संयुक्त राष्ट्रको वर्तमान वडापत्रलाई मन्जुर गरेका छन्, तथा यसद्वारा ‘संयुक्त राष्ट्र’ भनी ज्ञात हुने अन्तर्राष्ट्रिय सङ्गठनको स्थापना गर्छन् ।

यस बडापत्रका उद्देश्यहरूका प्राप्तिका लागि भनी तीन वर्षपछि सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको हो । सोही घोषणापत्रका आधारमा विश्वका सबै मानिसका लागि नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलगायत रङभेद, वर्णभेद, अन्य सबैखाले विभेद र यातना तथा क्रूर एवं सबै अमानवीय व्यवहारविरुद्ध महासन्धिहरू बनाइएको हो । महिला, बालबालिका, आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक सबैका समान अधिकारका सन्धिसम्झौता जारी गरियो । यसरी जारी गरिएका महासन्धि तथा सन्धिसम्झौतामा हस्ताक्षर गरेर सदस्य राष्ट्रहरूले अनुमोदन पनि गरेका छन् तर पनि व्यवहारमा त्यसको पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । यसका लागि घरेलु तहमा हरेक देशले संविधान, नीतिनियम र कानुन निर्माण तथा तिनको कार्यान्वयन र कानुनी उपचारका लागि विभिन्न संरचना खडा गरिएका छन् तर पनि संसारभर विभेद, हिंसा, गरिबीसँगै विपन्नता र अशान्तिको खाडल गहिरिँदै गएको छ ।

दोस्रो विश्वयुद्धको विभिषिकाबाट उत्पन्न परिस्थितिपछि कुनै पनि कुराको विकल्प युद्ध होइन, शान्ति निर्विकल्प हो भन्दै युद्धको मारबाट भाबी सन्तानलाई जोगाउनका लागि राष्ट्र«सङ्घले यस्तो अवधारणा ल्याएको पनि आठ दशक पूरा भएको छ तर पनि आजको दिनमा संसारका धेरै मुलुक आन्तरिक वा बाह्य द्वन्द्व र युद्धको भयले ग्रस्त छन् । द्वन्द्व यसरी विस्तार भएको छ कि द्वन्द्व नभएको कुनै घर, परिवार, समाज र राष्ट्र नै छैन भन्दा पनि हुन्छ । विश्वका विभिन्न भागमा हिंसात्मक द्वन्द्व र युद्ध चलिरहेका छन् । इजरायल, प्यालेन्टाइन द्वन्द्व होस् या रुस, युक्रेन द्वन्द्व लामो समयदेखि जारी छ । जुनसुकै ठाउँमा जेसुकै नाममा भए पनि आखिर द्वन्द्वले निम्त्याउने भनेको विनाश नै हुन्छ । त्यस्ता द्वन्द्वबाट उत्पन्न मानवीय क्षतिका कारण सभ्य समाजले शिर निहुराउनुपर्ने अवस्था छ । द्वन्द्वका कारण हरेक वर्ष विश्वमा यति धेरै भौतिक क्षति हुने गरेको छ, जसको कुनै हिसाबकिताब नै छैन । जसका कारण सिङ्गो विश्व विकासबाट दशकौँ पछाडि धकेलिन पुगेको छ ।

यही सेरोफेरोमा आणविक हतियार भएका दुई छिमेकी मुलुक भारत र पाकिस्तानबिच चर्किएको द्वन्द्व युद्धविराम गर्न दुवै मुलुक सहमत भएका छन् । युद्धविरामका लागि दुवै देशले सहमति जनाएपछि शनिबार साँझ ५ बजेदेखि ती क्षेत्रमा खुसियाली छाएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् । जम्मु–काश्मीरमा २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणको जवाफ भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेर दिएको थियो । पहलगामको पर्यटकीय क्षेत्रमा आतङ्ककारी हमला हुँदा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । त्यसलगत्तै भारत र पाकिस्तानले एकअर्काको उडानमा प्रतिबन्ध मात्र लगाएनन्, एक देशका नागरिकलाई अर्को देश आउजाउ गर्न र आयात–निर्यातमा समेत रोक लगाएका थिए । राष्ट्रसङ्घले भन्दै आएको शान्ति निर्विकल्प समाधानको मुद्दालाई भारत पाकिस्तान युद्धविरामले थप पुष्टि गरेको छ । यी दुई देशबिच लामो समयदेखि उत्पन्न कटुतापूर्ण सम्बन्धका कारण दक्षिण एसियाका अन्य मुलुकले पनि अप्ठेरो अनुभव गर्नु परेको थियो । आशा गरौँ, पछिल्लो युद्धविराम दुई देशबिचको सम्बन्ध सुधारमा एउटा महìवपूर्ण कडी बन्न सक्ने छ । जसले गर्दा यो क्षेत्रको समग्र आर्थिक, सामाजिक विकासमा भारत पाकिस्तान युद्धविराम कोसेढुङ्गा हुन सकोस् ।

बुद्ध दर्शनको सान्दर्भिकता

शान्तिको प्रसङ्ग उठ्नसाथ आजभन्दा २५६९ वर्षअघि लुम्बिनीमा जन्मिएका सिदार्थ गौतमको नाम सबैभन्दा अगाडि आउने गर्छ । विश्वमा शान्तिको सन्देश फैलाउने तिनै बुद्धको सम्झनामा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने चलन रहिआएको छ । २९ वर्षको उमेरमा दरबार छाडेर हिँडेका राजकुमार सिद्धार्थले ३५ वर्षको उमेरमा ज्ञान प्राप्त गरे । उनै राजकुमार पछि गएर बुद्धका नामले प्रसिद्ध भए । ८० वर्षको जीवनकालमा बुद्धले ४५ वर्षसम्म आफ्नो ज्ञान दुनियाँलाई बाँडे ।

आजको दिनमा हेर्दा बुद्धको समयमा भएको परिवर्तन ठुलो सामाजिक क्रान्ति थियो । किनभने समाजमा हुने भेदभाव, छुवाछुत, वर्णाश्रम, जातिपाती जस्ता मान्यताका विरुद्ध थिए उनी । जसले सिङ्गो मानव समुदायलाई दान, करुणा र प्रेम गर्न सिकाए । बुद्धको बोली र व्यवहार एउटै थियो । उनी सधैँ शान्त र सौम्य रहन्थे । उनमा कुनै उत्तेजना, आवेग, रिस, राग केही पनि थिएन । बुद्धले सत्यमार्गलाई नै धर्म भनेका छन् । उनले मानव समुदायलाई ध्यानको बाटोबाट सत्मार्गमा हिँड्न सिकाएका हुन् । मानवजगत् मात्र नभई समस्त प्राणीजगत र प्रकृतिजगत्को कल्याण, संरक्षण र संवर्धन नै बौद्ध दर्शनको मूल सार हो । बुद्धले सारा संसार अनित्य छ भनेका छन् । अर्थात् संसार क्षण–क्षणमा परिवर्तनशील छ भन्ने बुद्ध दर्शनको अर्को सम्पूर्ण सार  हो ।

यसै गरी बौद्ध दर्शनको सार भनेको चार आर्यसत्य र अष्टाङ्गिक मार्गको अनुसरण हो । बुद्धका चार आर्य सत्य दुखः छ, दुखःको कारण छ, दुखःको निवारण छ र दुःखको अन्त्य छ । उनले सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायम, सम्यक् स्मृति र सम्यक् समाधि आठ मार्ग होस् वा ध्यानबाट प्राप्त हुने शील, समाधि र प्रज्ञाको बाटो नै उत्तम बाटो हो भनेका छन् । यी मार्गहरूको पालना नै विश्वशान्तिको प्रारम्भविन्दु हो ।

बौद्ध दर्शन विश्व शान्तिका लागि एउटा यस्तो शक्तिशाली अस्त्र हो, जसले अरू कुनै पनि दर्शन, धर्म र संस्कारप्रति घृणा जागृत गर्दैन र प्रत्येक मानिसको मन, वचन र आचरण समानता, अहिंसा र सहिष्णुतामा आधारित हुनु पर्छ भन्ने मान्यता राख्छ । किनभने जबसम्म मानिसहरूबिच द्वेष, घृणा, विभेद, असमानता, लोभ र आशक्ति रहिरहन्छ तबसम्म शान्ति असम्भव छ । २५ सय वर्षअघिका उनका यी विचार आजको समाजमा पनि उत्तिकै सान्दर्भिक छन् । त्यसै कारण समाज विकसित भएसँगै बुद्धका अनुयायी बढ्दै गएका हुन् ।

अन्त्यमा आन्तरिक वा बाह्य कुनै पनि द्वन्द्वबाट समस्याको निकास निस्कन सक्दैन । कुनै पनि मुलुक वा समाजमा विद्यमान द्वन्द्व अन्त्य गरी शान्तिको बाटो अवलम्बन गर्नुको विकल्प छैन । शान्तिको माला जपेर द्वन्द्व र युद्धको खेती गर्ने एकथरीको धन्दा चलिआएको छ । यो प्रवृत्ति सिङ्गो विश्वका घातक साबित भएको छ । त्यसैले मानव कल्याणका लागि शान्तिको माला जपेर गरिने द्वन्द्व र युद्धको खेती सदाका लागि अन्त्य हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्