मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१।

नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै छोटो राजनीतिक जीवन बाँचे मदन भण्डारीले । नेपालको राजनीतिक इतिहासमा पानाभरि अटाइनसक्ने गरी उनले राजनीतिक विचार र योगदान छोडेर गएका छन् ।

सुदूरपूर्व ताप्लेजुङको एउटा साधारण परिवारबाट त्यो एउटा विशिष्ट कालखण्डको राजनीतिमा जबर्जस्त नाम लेखाएका भण्डारी नेपालको आधुनिक कम्युनिस्ट राजनीतिका एक सिद्धान्तकार पनि हुन्; जसले छोटो समयमा कोरेको एउटा राजनीतिक रेखामा अहिले नेपालका कम्युनिस्ट पार्टीहरू चलिरहेका छन् । करिब ४१ वर्षको जीवनकालमा मदनले जति राजनीति गरे सायद कुनै नेताले बाँचेको पूरा जीवनकालभरिको राजनीतिक योगदानभन्दा कम्ती वजनको छैन त्यो ।

विसं २००६ मा नेता पुष्पलालले बनाएको नेपाली कम्युनिस्ट पार्टीको जगमा मदनले समयसापेक्ष राजनीतिको प्राण भर्दा भर्दा उनको आफ्नै जीवनलीला समाप्त भयो । तथापि आजको नेपाली कम्युनिस्ट र प्रजातान्त्रिक आन्दोलनको एउटा सतिसालका रूपमा पनि भण्डारीको नाम नेपाली राजनीतिक इतिहासका पानामा सधैँ अजर अमरै रहिरहने छ ।

राणासँगको लामो लडाइँपछि फेरि नेपाली जनताले राजासँग लड्नु प¥यो । ‘शिशु’ प्रजातन्त्रको घाँटी न्याँकेका तत्कालीन राजा (दरबार) सँगको लडाइँका ३० वर्षमा केही वर्ष यस्ता पनि रहे जहाँ बिपी, मदन, गणेशमान, किसुनजी जस्ता नेताको योगदान सधैँ अवर्णित रह्यो ।

विसं २०४६ को जनआन्दोलनपछि राजनीतिको सार्वजनिक जीवनमा मदन लगभग तीन वर्ष मात्रै बाँच्न पाए । विद्यार्थी जीवनको राजनीति थियो, पञ्चायती शासनको समय थियो । सारा नेपालीको ‘स्वतन्त्रता’ निमोठिएका ती वर्षहरूमा मौलाएको ‘भूमिगत’ राजनीतिमै मदनको किशोरावय बित्यो ।

काठमाडौँको सहिद मञ्चमा पहिलो पटक हजारौँ अनुहारका अघि झुल्किएका मदन भण्डारीको सार्वजनिक जीवन त्यहीँबाटै सुरु भयो । त्यो २०४७ सालको कात्तिक महिनामा थियो । जतिबेला मदनले दरबारलाई लल्कार्दै ‘श्रीपेच फुकालेर राजनीतिको मैदान’ मा ओर्लिन खुला चुनौती दिएका थिए । मदनलाई सम्झिनेहरूले अहिले पनि उनको त्यो भाषण बिर्सन सक्दैनन् ।

एकातिर राजाको शासन थियो अर्कातिर नेपाली कांग्रेस अनि कम्युनिस्ट पार्टीहरूले सुरु गरेको ‘क्रान्ति’ । राजा, पञ्चायत र बहुदलको बाटोमा जसरी नेपाली समाज विभाजित थियो, त्यसै गरी राजनीतिक मैदानमा कांग्रेस र कम्युनिस्टको जुधाइ पनि उस्तै थियो; जसले कुनै न कुनै रूपमा फाइदा भने दरबारलाई नै पु¥याइरहेको थियो । कम्युनिस्टका कैयौँ टुक्रा लडाइँको त्यो मोर्चामा एक त थियो तर विभाजनका रेखाहरू कहिल्यै मेटिन पाएनन् । मदनको राजनीतिक बाटो पनि त्यस्ता कैयौँ बाटोमा नअलमलिएको होइन तथापि उनले आफूले आफूलाई मात्रै होइन, देशको कम्युनिस्ट आन्दोलनलाई एउटा अग्रगति र प्रस्ट दिशा देखाइदिए ।

किताबका कोरा ज्ञान अनि सिद्धान्तको जडतामा मात्रै कम्युनिस्ट राजनीतिको परम्परागत अभ्यास गरिरहेको नेपालको सिङ्गो कम्युनिस्ट धारलाई उनले एउटा नयाँ र आधुनिक शिराबाट लैजान प्रेरित गरे । त्यो भनेको कम्युनिस्टले पनि ‘प्रजातान्त्रिक’ अभ्यासमार्फत आफ्नो लक्ष्य र सिद्धान्तलाई भेट्टाउन सक्छन् भन्ने सन्देश नै हो ।

त्यो बेलादेखि माले, एमाले वा अरू कम्युनिस्ट पार्टीदेखि १० वर्षसम्म ‘जङ्गल युद्ध’ गरेर फर्किआएको नेकपा (माओवादी) घुमिरहेको संसदीय राजनीतिक अभ्यास पनि हो । दलीय राजनीतिक व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थामा संसदीय अभ्यासमा संसारकै उत्कृष्ट अभ्यास हो; जहाँ प्रजातन्त्रको एउटा सुन्दर परिभाषा घुलेको हुन्छ ।

सिद्धान्तका खोक्रा आदर्शबाट पनि देशमा परिवर्तन हुँदैन र चाहेको लक्ष्य अनि गन्तव्य भेटिँदैन भन्ने दीक्षा दिएर उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रिक बाटोमा हिँडाउन सके । यसरी हेर्ने हो भने मदन भण्डारीले आफूले बाँचेको जीवनमा एउटा कम्युनिस्ट आन्दोलनलाई मात्रै होइन बरु सिङ्गो देशको राजनीतिलाई बिर्सिनसक्नु गुण लगाएका छन् ।

छिमेकी देश मात्रै होइन, त्यो युगमा विश्वभरि चलिरहेको कतिपय क्रान्ति र आन्दोलनका बाछिटाहरूमा जन्मिएका नेपाली कम्युनिस्ट पार्टी र तिनका आन्दोलन पनि त्यही ‘विश्वव्यापी’ कम्युनिस्ट घोषणापत्रका अक्षर अनि शब्दहरूमा मात्रै सीमित थियो । सिद्धान्त, नीति र लक्ष्यमा कोरिएका तिनै कोरा सिद्धान्तका आधारमा कम्युनिस्टको परम्परा धानेको आन्दोलनलाई मदनहरूले एउटा नयाँ र आधुनिक विचार दिए; जसले नेपाली राजनीतिक माटोमा कम्युनिस्ट आन्दोलनको बाटो नै मोडिदियो ।

‘जनताको बहुदलीय जनवाद’ मदनकै एउटा गर्भसिद्धान्त थियो जसले नेपाली कम्युनिस्ट पार्टीहरूले आफूलाई फुल्न फलाउन सके । एउटा राजनीतिक पार्टीमा हुने धु्रवीकरण र विचारको लडाइँ स्वाभाविक मात्रै होइन, त्यो एउटा चरित्र नै हो । त्यसको सिकार मदनहरू पनि हुनु प¥यो । ‘जनताको बहुदलीय जनवाद’ लाई चुनौती दिन उनकै ‘सहयोद्धा’ हरूले ल्याएको ‘नौलो जनवाद’ त्यही चरित्रको उपज थियो । यद्यपि त्यस्ता तमाम चुनौतीलाई सामना गर्ने ल्याकत भएकै कारण मदन साँच्चिकै आजसम्म ‘मदन’ भएर बाँचिरहेका छन् ।

कम्युनिस्ट आन्दोलनको गर्भबाटै छुट्टिएका, अलग भएका र मूलबाटोबाट तितरबितर भएका कम्युनिस्टका टुक्राहरूलाई एक गराउन मदनले उत्तिकै योगदान गरे । यसबाट नेपालको राजनीतिमा एउटा बलियो ध्रुव निर्माण भयो । एकातिर कम्युनिस्ट अनि अर्कातिर समाजवादको लडाइँ लडिरहेको ‘प्रजातान्त्रिक’ पार्टी नेपाली कांग्रेस ।

नेपाली राजनीति र यहाँका राजनीतिक पार्टीहरूको एउटा साझा विशेषता के हो भने जब जब देश, जनता र सार्वभौम अधिकारमाथि नियोजित षड्यन्त्र हुन्छ वा प्रजातन्त्रको घाँटी निमोठ्ने हरेक कदमविरुद्ध सबै पार्टी एउटै मोर्चामा गोलबद्ध हुन्छन् । राणा अनि राजाविरुद्धका लडाइँ र त्यसको सफलता त्यही विशेषताको उपज हो; जसले आमनागरिकको स्वतन्त्रता अनि सार्वभौमिकतामाथि किमार्थ सम्झौता हुन दिएन र कहिल्यै दिइने छैन ।

तीसबर्से पञ्चायतविरुद्ध २०४६ सालको अन्तिम बेला कांग्रेस–कम्युनिस्ट लडाइँको मोर्चामा गोलबद्ध हुने त्यसैको परिणाम थियो । यसर्थ सिद्धान्त र विश्व कम्युनिस्ट क्रान्तिका इतिहास अनि त्यसको अभ्यास परम्परा अलि परबाट विश्लेषण गर्ने हो भने नेपालको राजनीतिक आन्दोलनमा मदनले कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रिक अभ्यासमा डो¥याउन पनि योगदान गरेका छन् । यसलाई हामीले भुल्नु हुँदैन ।  जनआन्दोलनपछि भएको पहिलो आमनिर्वाचन–२०४८ मा काठमाडौँबाट मदन पनि चुनाव लडे । हिजो राजाविरुद्ध एउटै मोर्चामा बसेर सँगसँगै अगुवाइ गरेका नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर मदन प्रतिनिधि सभासम्म पनि पुगे । हामी सबै मिलेर लडिल्याएको प्रजातन्त्रको सबैभन्दा सुन्दर अभ्यास नै यही हो । मदनले बदल्न खोजेको ‘कम्युनिस्टको कोरा बाटो’ पनि त्यही नै थियो; जहाँ अहिले देशका सबै राजनीतिक दल त्यही बाटोमा प्रतिस्पर्धा गरिरहेकै छन् ।

निषेधको राजनीतिलाई शास्त्रका पानाबाट अलि पर अलग गरेर माटो सुहाउँदो राजनीतिको त्यही बिरुवा अहिले नेपाली माटोमा मौलाइरहेको छ । ‘राजा पनि रहन सक्छन्’ भन्ने मदनको त्यही ‘मिलाप’ मिसिएको राजनीतिक बाटोले प्रजातन्त्रका लागि लडिएका लडाइँहरू सफल अवतरण भए । राजा फाल्न निस्किएका कम्युनिस्टहरूलाई उनले ‘राजा पनि रहन सक्छन्’ भन्ने मान्यतामा एकछत्र गर्न सके । सर्त थियो, ‘जनता र प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने हो भने, प्रजातन्त्रको घाँटी अँठ्याउने सपना नदेख्ने हो भने ।’

राजनीतिमा आफूलाई समर्पण गरेको कुन नेताले कति वर्ष जीवन बाँच्यो भन्नुभन्दा पनि उसले बाँचुन्जेली राष्ट्र अनि जनताका लागि के कति योगदान दिन सक्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । मदनले जीवनको लामो बाटो हिँड्न पाएनन् । तथापि बाँचेको ४० बर्से यात्राका तमाम मोडमा उनले राष्ट्र अनि जनताका लागि धेरै त्यस्ता योगदान छोडिगएका छन् जसका कारण आज देशमा प्रजातन्त्रले बाँच्न पाएको छ ।

विसं २०४६ मा भएको नेकपा (माले) को चौथो महाधिवेशनबाट महासचिव भएका मदन भण्डारी त्यसपछि लगभग चार वर्षजति सार्वजनिक राजनीतिक जीवन बाँचे । २०५० साल जेठ ३ गते पार्टीकै कामको सिलसिलामा यात्रारत उनको ‘दासढुङ्गा’ दुर्घटनामा मृत्यु भयो । ‘मारिएका’ हुन् या ‘मृत्यु’ भएको ? यो एउटा प्रश्न अहिलेसम्म पनि त्यत्तिकै छ । यो एउटा बहस मात्रै होइन, अनुसन्धानकै पाटो पनि हो; जसलाई राज्यले नै अपनत्व लिनु पर्छ ।

तर मदनले जुन जीवन बाँचे, जति छोटो समय बाँचे त्योभन्दा पनि अग्लो आदर्श अनि व्यक्तित्वमा बाँचे । जति पाइला नापे, त्यसमा उनले राष्ट्र र प्रजातन्त्रकै पदचाप छोडे । जुन समय बाँचे, साँच्चिकै समयको त्यो चक्रलाई निकै चोटिलो चुनौती दिएर बाँचे । र, पनि नेपाली राजनीतिक इतिहासका पानामा मदन बाँचिरहने छन् सधैँभरि । हार्दिक श्रद्धासुमन !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार