विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार हुने भएको छ । अब पनिकाका अधिकांश सेवा अनलाइन प्रणालीबाट प्रवाह हुने भएकाले विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो ।

पनिकाले आगामी माघको पहिलो सातादेखि यस्तो प्रणालीको सुरुवात गर्दै छ । यसका लागि पनिकाले आइतबार विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा अनलाइन प्रणालीको डेमो (नमुना प्रदर्शन) गर्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भन्नुभयो, “अनलाइन प्रणाली लागु भएपछि विद्यार्थी पनिकामा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेस गर्न सक्ने छन् । शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने छन् ।”

अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउनलगायत कामका लागि भौतिक रूपमा उपस्थित हुनु पर्दैन । पनिकाले अनलाइनबाट सेवा प्रदान गर्न दुई वर्षअघि नै तयारी गरेको भए पनि सूचना प्रविधिका दक्ष जनशक्ति अभाव भएकाले यो काम रोकिएको थियो ।

अनलाइनबाट प्रवाह गर्न सकिने अधिकांश सेवालाई अहिलेकै अवस्थाबाट विस्तार गर्न सकिने भए पनि सक्कली प्रमाणपत्र वितरणमा भने त्रिविले थप निर्णय गर्नुपर्ने हुन्छ । परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “सक्कली प्रमाणपत्रमा अहिले विद्यार्थी आफैँ उपस्थित भएर फोटो टाँस्न लगाउनुपर्ने कानुनी व्यवस्था छ । विद्यार्थीले अनलाइनबाट अपलोड गरेको फोटो हाम्रा सूचना प्रविधिसम्बन्धी कर्मचारीले प्रमाणपत्रमा टाँस्ने छन् तर यसका लागि कार्यकारी परिषद्ले निर्णय गर्नु पर्छ ।”

उहाँका अनुसार विद्यार्थीले माग गरेको कागजपत्र पनिकाले केन्द्रीय तथा क्षेत्रीय कार्यालयमार्फत सम्बन्धित क्याम्पसमै पठाइदिने छ । पनिका अन्तर्गत अहिले बल्खुबाहेक नेपालगन्ज, अत्तरिया, पोखरा, विराटनगर क्षेत्रीय कार्यालयबाट परीक्षासँग सम्बन्धित काम भइरहेको छ । मधेश प्रदेशलाई लक्षित गरेर छिट्टै जनकपुर कार्यालयबाट पनि काम सुरु हुँदै छ । “हामीले बनाएको योजना अनुसार काम भयो भने केही समयपछि विद्यार्थीको प्रमाणपत्र उनीहरूले दिएको घरको ठेगानामै पु-याइदिने छौँ । यसका लागि हुलाकसँग पनि समन्वय गर्दै र्छौं,” उहाँले भन्नुभयो ।

पनिकासँग अहिले सूचना प्रविधिसँग सम्बन्धित छ जना कर्मचारी कार्यरत छन् । थप सात जना यस्तै कर्मचारी माग गरिएको छ । त्रिविका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले पनिकाले प्रवाह गर्ने सेवालाई अनलाइन प्रणालीमा लैजान जनशक्ति अभाव हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “आइतबारको डेमो हेरौँ । त्यसपछि निर्णय गरौँला । राम्रो कामका लागि मान्छे अभाव हुन दिन्नौँ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक