राष्ट्रिय सभा निर्वाचन तयारी सुरु

कात्तिक २५, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तयारीस्वरूप आयोगले मतदाताको मतभार सम्बन्धमा हिसाब गरेर पठाइदिन राष्ट्रिय तथ्याङ्क कार्यालयलाई बिहीबार पत्राचार गरेको जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख एवं उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ मा पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी सरकारले मिति तोक्ने व्यवस्था छ । जस अनुसार सरकारले माघ दोस्रो साताभित्र निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्नुपर्ने छ । कानुनले मतदान हुने दिनसम्ममा १२० दिन पुग्ने गरी निर्वाचनको मिति घोषणा हुनुपर्ने व्यवस्था गरेको छ तर कानुनबमोजिम नै निर्वाचनको मिति घोषणा भए आयोगसमक्ष अब करिब ७५ दिन मात्रै बाँकी रहन्छ ।

ऐनमा प्रत्येक प्रदेशमा गठन हुने निर्वाचकमण्डलले गोप्य मतदानद्वारा सदस्य चयन गर्ने व्यवस्था छ । निर्वाचकमण्डलमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहने छन् । प्रदेश सभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुखको मतभार फरक हुन्छ ।

२०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ थियो । पालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ थियो । प्रत्येक १० वर्षमा हुने जनगणनाका आधारमा मतभार पुनरवलोकन गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा २०७८ मा सम्पन्न जनगणनाको तथ्याङ्कबमोजिम आयोगले मतभार पुनरवलोकन गर्दै छ । जनसङ्ख्या वृद्धि भएकाले मतभारसमेत बढ्ने छ । अब भने प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ हुने अनुमान गरिएको छ ।

प्रवक्ता पौडेलले तिहारलगत्तै निर्वाचनको मिति घोषणा नभए निर्वाचन कार्यक्रम छोट्याउनुपर्ने बताउनुभयो । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत हुनुहुन्छ । निर्वाचन भने १९ सदस्यका लागि हुने छ र राष्ट्रपतिले एक जना मनोनीत गर्नुहुने छ ।

निर्वाचन आयोगका अनुसार प्रदेशगत आधारमा कोशी, मधेश र लुम्बिनीबाट दुई–दुई, बागमतीबाट चार तथा गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन–तीन जना सदस्य रिक्त हुने छन् । समावेशी समूह अन्तर्गत अन्य र महिला समूहबाट सात–सात, दलितबाट दुई तथा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट तीन सदस्य रिक्त हुने छन् ।

आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचनको मिति घोषणा भएलगत्तै सङ्घीय संसद् सचिवालयले रिक्त भएको पदबारे आयोगलाई जानकारी गराउने छ । प्रदेश सभा सचिवालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको सङ्ख्यालगायतबारे अद्यावधिक विवरण पठाउने छन् ।

आयोगका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सदस्य अनिता देवकोटा, इन्दु कडरिया, खिमलाल देवकोटा, खिमलाल भट्टराई, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चापागाईं, नरपति लुवार, प्रकाश पन्थ र प्रमिला कुमारीको सदस्य पद रिक्त हुँदै छ । त्यसै गरी भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा. विमला राई पौड्याल, सिङ्गबहादुर विश्वकर्मा र हरिराम चौधरीको छ वर्षे पदावधि सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो